close

गुगल वर्कस्पेस र गुगल च्याट अब सबैका लागि

टेकपाना टेकपाना

असार २, २०७८ १८:२६

गुगल वर्कस्पेस र गुगल च्याट अब सबैका लागि

काठमाडाैँ । गुगलले आफ्ना प्रयोगकर्ताको लागि गुगल वर्कस्पेस र गुगल च्याट खुला गरेकाे छ । अब गुगल अकाउन्ट भएका सबै प्रयोगकर्ताले गुगल वर्कस्पेस, ‘जी सुट’ प्रयोग गर्न सक्नेछन् । यो अपडेटसँगै गुगल प्रयोगकर्ताले अब जिमेल, डक्स, च्याट, मिट, ड्राइभ, शिटस् लगायत गुगल एपहरुमा थप नयाँ सिस्टमहरु प्रयाेग गर्न पाउनेछन् । यी सबै एपहरु अब एउटै ट्याबमा प्रयोग गर्न सकिनेछ ।

योभन्दा अगाडि गुगल वर्कस्पेस र च्याटको सुविधा उसकाे सशुल्क प्रयाेगकर्ताहरु विशेषगरी अफिस युजरहरुका लागि मात्र उपलब्ध थियो । गुगलका अनुसार अहिलेसम्म करिब दुई अर्ब प्रयोगकर्ताले गुगल वर्कस्पेस प्रयोग गरिरहेका छन् । जुन १४ देखि भने गुगलले यो सुविधा सबै व्यक्तिगत प्रयोगकर्ताको लागि खुला गरेको छ । नयाँ सुविधाहरु प्रयोग गर्न जिमेलकाे सेटिङमा गएर त्यहाँ भएको च्याट एण्ड मिट अपसनलाई इनेबल गर्न सकिन्छ ।

त्यस्तै व्यक्तिगत प्रयाेगकर्ताको लागि “गुगल वर्कस्पेस इन्डिभिजुअल” ल्याएको छ । प्रयोगकर्ताले आफ्नाे रेगुलर अकाउन्टमा प्रति महिना ९.९९ अमेरिकी डलर तिरेर थप सुविधा, जस्तै स्मार्ट बुकिङ सर्भिस, प्रोफेस्नल भिडियो मिटिङ, पर्सनलाइजड ईमेल मार्केटिङ भएको आफ्नै वर्कस्पेस प्रयोग गर्न सक्नेछन् । तत्काललाई भने गुगलले सुरुवाती मूल्यको रुपमा ७.७७ अमेरिकी डलरमा व्यक्तिगत सब्सक्रिप्सन अपग्रेड गराउन सकिने व्यवस्था गरेको छ ।

गुगलले छिट्टै गुगल च्याट रुमलाई “स्पेस” को रुपमा चिनाउने घाेषणा पनि गरेको छ । स्पेस र च्याटरुममा धेरै फरक त हुने छैन, तर कामकाे आधारमा भने स्पेस र च्याटरुम फरक हुने गुगलको दाबी छ । गुगलका अनुसार स्पेसमा मेसेज थ्रेड, युजर राेलस, माेडरेसन टुल्स लगायतका फिचरहरुमा केही परिवर्तन हुनेछ भने नयाँ इमोजी रियाक्नसनहरु पनि थपिनेछ । स्पेसकाे लागि आवश्यक तयारीहरु पुरा गरेर प्रयोगकर्तामाझ छिट्टै ल्याउने गुगलले बताएको छ ।

त्यस्तै गुगलले अब वर्कस्पेसमा ठूला कम्पनीहरुलाई लक्षित गर्दै इन्टरप्राइज अप्सन पनि राख्न लागेको छ । यसको अर्थ अब कम्पनीहरुको लागि फाइलहरु ड्राइभमा शेयर गर्न, क्लाइन्टहरुको डाटा इन्क्रिप्सन लगायत गतिविधिहरु थप सुरक्षाका साथ गर्न सक्नेछन् ।

पछिल्ला केही महिनाहरुमा गुगल आफ्नो वर्कस्पेसलाई अपडेट गर्ने काम द्रुत रुपमा गर्दै आइरहेको छ । र यी अपडेटहरुमा गुगलले आफ्ना प्रोडक्टहरुलाई सुधार गर्ने सँगसँगै कसरी ती सबै प्रडक्टरहरुलाई एकअर्कासँग बाँधिएर राख्ने भन्ने विषयमा जाेड दिएको देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१