close

झण्डै ५ खर्ब दान गर्दै वारेन बफेटले दिए गेट्स फाउन्डेसनबाट राजीनामा

टेकपाना टेकपाना

असार १०, २०७८ १७:९

झण्डै ५ खर्ब दान गर्दै वारेन बफेटले दिए गेट्स फाउन्डेसनबाट राजीनामा

काठमाडौं । वारेन बफेटले बुधबार बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनबाट ट्रस्टीको रुपमा राजीनामा दिएका छन् । फाउन्डेसनका तीन सदस्यीय बोर्डका एक सदस्य ९० वर्षीय बफेट पनि थिए । बिल र मेलिन्डाको सम्बन्ध बिच्छेदपछि फाउन्डेसनको नेतृत्व संरचनाको विषयमा जुलाईमा घोषणा गरिने कुरा आइरहेका बेला बफेटले राजीनामा दिने निर्णय गरेका हुन् ।

२७ वर्षे लामो वैवाहिक सम्बन्धलाई टुंग्याएपछि पनि बिल र मेलिन्डाले विश्वकै ठूलो च्यारिटेबल फाउन्डेसनलाई मिलेर निरन्तरता दिने बताएका थिए । बुधबार एक विज्ञप्ति जारी गर्दै बफेटले भनेका छन्, ‘विगत लामो समयदेखि म बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको एक निस्कृय सदस्यको रुपमा रहँदै आएको छु । बर्कशायर बाहेक अन्य व्यावसायिक बोर्डहरुबाट बाहिरिए जस्तै अब म यस फाउन्डेसनबाट पनि बाहिरिन चाहन्छु ।’ 

यससँगै आफ्नो सबै शेयर सहयोगार्थ विभिन्न फाउण्डेशनलाई दिने क्रममा आफूले आधा गन्तव्य पुरा गरेको बताउँदै बफेटले करिब चार अर्ब १० करोड अमेरिकी डलर (करिब ४ खर्ब ८७ अर्ब) पाँच वटा फाउन्डेसनलाई दान गर्ने निर्णय गरेका छन् ।

यसमध्ये सबैभन्दा धेरै रकम बिल एण्ड मेलिन्डा फाउन्डेसनलाई जाने उनले बताएका छन् । फाउन्डेसनका सीईओ मार्क सजम्यानका अनुसार बफेटले बुधबार घोषणा गरेको रकममध्ये फाउन्डेसनले करिब तीन अर्ब २० करोड अमेरिकी डलर पाउनेछ । योसँगै बफेटले आजसम्म फाउन्डेसनलाई दिएको सहयोग रकम करिब ३३ अर्ब अमेरिकी डलर हुनेछ ।

‘मलाई थाहा छ वारेनको राजीनामाले फाउन्डेसनको व्यवस्थापनको विषयमा धेरै प्रश्नहरु उठाएको छ । मैले धेरै प्रयास गरेको थिएँ । यो बीचमा फाउन्डेसनलाई निरन्तरता दिन र यसको व्यवस्थापनमा दिगो योजना लागू गर्न मैले वारेन, बिल र मेलिन्डासँग धेरै छलफल गरेको थिएँ । यो विषयसँग सम्बन्धित बाँकी कुरा जुलाईमा नै घोषणा गर्ने मैले योजना बनाएको छु,’ विज्ञप्ति जारी गर्दै सजम्यानले बताएका छन् ।

विश्वभर १३५ देशमा सञ्जाल रहेको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनमा हाल करिब ५० अर्ब अमेरिकी डलर रकम छ ।

लामो समयदेखि सामाजिक अभियन्ता तथा आलोचकहरुले फाउन्डेसनको बोर्डमा सीमित व्यक्तिमात्र भएका कारण फाउन्डेसनको काममा प्रभाव परेकाले बोर्डको दायरा बढाउनुपर्ने कुरामा जोड दिँदै आएका छन् ।

‘गेट्स फाउन्डेसनजस्तो ठूलो संस्थामा नेतृत्वमा सीमित व्यक्तिहरु हुँदा संस्था सञ्चालनमा समस्या आइरहेको छ,” इन्साइड फिलान्ट्रोफी वेबसाइटका संस्थापक डेभिड क्यालहानले बताए । त्यस्तै रकफेलर फिलान्ट्रोफी एडभाइजर्सका अध्यक्ष मेलिसा बरमानले बफेटको राजीनामा फाउन्डेसनको दीर्घकालीन व्यवस्थाको बारेमा निर्णय लिन सहयोग हुने बताएकी छन् ।

‘संस्थाहरु आफ्नो व्यवस्थापकीय पक्षमा विज्ञ र अनुभवी व्यक्तिहरुलाई ल्याएर संस्था चलाउन चाहन्छन् । यस्तोमा ठूलो बोर्डले गेट्स फाउन्डेसनलाई विश्व स्वास्थ्य, आर्थिक अवसर, शिक्षा लगायतका क्षेत्रमा राम्रो प्रभाव पार्न मद्दत गर्दछ,’ उनले बताए ।

बुधबार नै छुट्टै विज्ञप्ति जारी गरेर बिल र मेलिन्डाले बफेटको नेतृत्वका लागि आभार व्यक्त गरेका छन् । ‘बफेटको ज्ञान र अनुभवले हाम्रो फाउन्डेसनलाई दोस्रो दशकसम्म आइपुग्न मार्गदर्शन गरेको छ । उहाँबाट हामीले पाएको ज्ञानले हामीलाई आगामी दिनमा अगाडि बढ्न मद्दत गर्नेछ,’ मेलिन्डा गेट्सले बताइन् ।

गत महिनामात्र प्रोपब्लिकाले बफेटजस्ता केही धनी व्यक्तिहरुले आय कर तिर्ने नगरेको भन्दै आलोचना गरेको थियो । प्रोपब्लिकामा प्रकाशित लेखमा बफेटले सन् २०१४ देखि २०१८ सम्ममा आम्दानी गरेको हरेक १०० अमेरिकी डलरको १० सेन्टभन्दा पनि कम कर तिरेको उल्लेख छ ।

बुधबार जारी गरेको विज्ञप्तिमा बर्कसायर हाथवेमा उनको करिब १०० अर्ब अमेरिकी डलरको शेयर छ, जसमध्ये उनले ४१ अमेरिकी डलरको शेयर यसअघि नै दान गरिसकेको बताएका छन् । उनको आम्दानी अब तुलनात्मक रुपमा कम भएको कारण अब उनले प्रत्येक १००० अमेरिकी डलरको ०.४० अमेरिकी डलर कर तिर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘बर्कसायर शेयरमार्फत मेरो स्वामित्वमा रहेको सम्पत्ति सबै कर तिर्ने कम्पनीहरुसँग सम्बद्ध छ । बर्कशायरले पनि नियमितरुपमा आफ्नो आम्दानी कम्पनी विकास, रोजगार सिर्जना लगायतका क्षेत्रहरुमा लगानी गरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तर उनले संस्थाको नेतृत्व र व्यवस्थापकीय पक्षको बारेमा उठेका प्रश्नहरुको कुनै जवाफ भने दिएका छैनन् । केहि समयअगाडि मात्र गेट्सको माइक्रोसफ्टमा काम गर्ने एकजना महिलासँग अनैतिक सम्बन्ध रहेको बाहिरिएको थियो ।

त्यसपछि माइक्रोसफ्ट कर्पको बोर्ड सदस्यहरुले कम्पनीको सह-संस्थापक भएको नाताले गेट्स बोर्ड सदस्यका रुपमा बस्न नपाउने निर्णय गरेको थियो । यस बिषयमा बिल एण्ड मेलिन्डा फाउन्डेसनले भने मिडियामा आएका कुराहरु एक पूर्व अज्ञात कर्मचारीले बताएका कारण कुनै अनुसन्धान नगर्ने बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६