close

भीपीएन प्रयोग गर्नु नपर्ने भएपछि नेपालमा यसरी लोकप्रिय हुँदैछ स्पोटिफाई

सुसन चापागाईं सुसन चापागाईं

मंसिर २८, २०७८ १७:४०

भीपीएन प्रयोग गर्नु नपर्ने भएपछि नेपालमा यसरी लोकप्रिय हुँदैछ स्पोटिफाई

काठमाडौं ।  दीपक राना मगर (पर्पल मेलोडी) दिनको अधिकांश समय स्पोटिफाईमा बिताउँछन् । युट्युवमा मात्र सीमित भएका कलाकारको करियर स्पोटिफाईले केही हदसम्म विस्तार गरेको उनको बुझाइ छ ।

स्पोटिफाई नेपालमा उपलब्ध भएदेखि आफूले युट्युव म्युजिक सुन्न लगभग छाडेको उनी बताउँछन् । नेपालमा भर्खरभर्खर उपलब्ध भएपनि छोटो समयमै स्पोटिफाईले निकै लोकप्रियता कमाएको छ ।

भर्खर बजारमा उदाउँदै गरेका आफूजस्ता आर्टिस्ट (कलाकार) लाई भने यसले धेरै नै मद्दत पुगेकाे उनको भनाइ छ ।

‘आफूलाई मनपर्ने पाेड्कास्ट सुन्नेदेखि मनपर्ने कलाकारको प्लेलिस्ट युट्युवभन्दा अझै गुणस्तरीय आवाजमा सुन्न सकिने भएकाले स्पोटिफाईप्रति लगाव बढेको छ,’ उनले बताउँछन् ।

गत फेब्रुअरीमा मात्र स्पोटिफाईले एकैपटक नेपालसहित विभिन्न ८० देशमा आफ्नो सेवा विस्तार गरेको थियो । त्यसअघि नेपाली प्रयोगकर्ताले स्पोटिफाई चलाउनै परे भीपीएन प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

सङ्गीत पारखीका लागि निकै उपयोगी बनेको स्पोटिफाईमा दुनियाँभरका अनेकौं गीत सुन्न सकिन्छ । साथै मनपर्ने कलाकारलाई फलो गर्न सकिन्छ भने प्रिमियममा अपग्रेड हुँदा युट्युव प्रिमियमभन्दा निकै राम्रो गुणस्तरमा अडियो सुन्न सकिन्छ ।

गायकको गीतमा भएको इङ्गेजमेन्टको आधारमा स्पोटिफाईले उनीहरूलाई पैसा दिने गर्छ । स्पोटिफाईमा जुनसुकै कलाकारले आफ्नो गीत अपलोड गर्न पाउँछन् ।

तर युट्युवमा जस्तो सजिलै भने छैन । त्यसका लागि कलाकारले डिस्ट्रिब्युटरको सहयोग लिनुपर्ने हुन्छ । स्पोटिफाईले कलाकारको गीत कुन ठाउँका श्रोताले धेरै सुनेका छन् भन्ने कुराको जानकारी राख्छ ।

त्यसैअनुसार कलाकारले भुक्तानी पाउँछन् । एउटै गीत अमेरिकामा एक हजारले सुन्दा नेपालमा त्यत्तिकै इंगेजमेन्ट हुँदाभन्दा राम्रो आम्दानी हुन्छ । स्पोटिफाई विज्ञापनरहित प्लेटफर्म भने होइन ।

यदि तपाईं विज्ञापनरहित सेवा चाहनुहुन्छ भने प्रिमियम सब्क्रिप्सन लिनुपर्ने हुन्छ । यसका लागि डलर कार्डको आवश्यकता पर्दछ । नेपाली प्रयोगकर्ताको बढ्दो आकर्षणलाई ध्यानमा राखेर स्पोटिफाईले सब्क्रिप्सन प्रक्रियालाई केही सहज बनाउने अनुमान गरिएको छ ।

सुशान्त केसी, सज्जनराज वैद्य लगायतका नेपाली गायक स्पोटिफाई प्रयोगकर्ताको हिट लिस्टमा छन् । अर्थात् उनीहरू सर्वाधिक नेपाली स्पोटिफाई प्रयोगकर्ताले सुनेका आर्टिस्ट (कलाकार) हरु हुन् ।

सज्जनराजका फलाेअर ६६ हजार र मासिक श्राेता एक लाख १२ हजार रहेका छन् । हाल सुशान्तका फलाेअर ५४ हजार र मासिक श्राेता ८८ हजार रहेका छन् ।

यसअघि गीत सङ्गीतका लागि युट्युवबाहेक अरु विकल्प थिएन । तर अब भने स्पोटिफाईबाट पनि गायक कलाकारले राम्रो आम्दानी गर्नसक्ने बाटो खुलेको छ । वर्तमान समयमा स्रोताको दायरा विश्वव्यापी छ ।

लोकप्रियताको रफ्तार हेर्ने हो भने स्पोटिफाईले युट्युव म्युजिकलाई छिट्टै पछि पार्ने अनुमान लगाउन सकिन्छ ।

त्यस्तै स्पोटिफाईका अर्का श्रोता रुपेश बुढाथोकीको पनि स्पोटिफाईबारे दीपकको भन्दा फरक मत छैन । उनका अनुसार फराकिलाे दायरा भएको प्लेलिस्ट, स्लिप टाइमर, क्वालिटी साउण्ड, पोड्कास्टजस्ता फिचर निकै प्रशंसनीय छन् ।

युट्युवले जस्तो म्युजिक कम्प्रेस नगर्ने र साउण्ड पनि युट्युवभन्दा तुलनात्मक रुपमा गुणस्तरीय आएको उनको अनुभव छ ।

स्पोटिफाई नेपालमा आधिकारिक सार्वजनिक नहुँदा पनि विगत केही वर्षदेखि उनले भीपीएन प्रयोग गरेर चलाउने गरेका थिए । आईटी विधामा अध्ययन गर्दै गरेका रुपेश घन्टौंसम्म स्पोटिफाईमा गीत सुन्दै कोडिङ गर्ने बताउँछन् ।

स्पोटिफाईले साधारण श्रोता र कलाकार दुवैको माग र अपेक्षालाई धेरै हदसम्म सम्बोधन गरेको दीपक र रूपेशको बुझाइ छ ।

यसैगरी बजारमा राम्रै स्थापित भएका आर्टिस्टको स्पोटिफाईप्रतिको धारणा के छ त भन्ने विषयमा बुझ्न हामीले उत्साह जोशी (युनिक पोयट) सँग संवाद गरेका थियाैं ।

पोएटले सन् २०१८ देखि निरन्तर रुपमा स्पोटिफाईमा गीत ‘डिस्ट्रिब्युट’ गर्दै आएको  र हालसम्म आइपुग्दा भारत र अस्ट्रेलियामा आफ्नो श्रोता धेरै रहेको उनले बताए ।

विस्तारै नेपाली श्रोताको पनि बहाव बढेको र हाल काठमाडाैंमा आफ्नो गीत अत्याधिक सुनिनेमध्ये पहिलो सहर रहेको पनि उनले बताए ।

निकट भविष्यमा युट्युवपछि र स्पोटिफाईमा आर्टिस्टकाे झुकाव बढ्ने उनकाे अनुमान छ ।

‘युट्युव एक गीत सुन्ने प्लेटफर्म मात्र नभई कम्युनिटी नै हाे । युट्युवमा आफ्ना नियमित श्रोतासँग लाइभ च्याटमार्फत अन्तरर्क्रिया गर्न सकिने, श्रोताले युट्युवमा कमेन्ट गर्न पाउनेजस्ता फिचरले युट्युव सधैँ अघि नै छ,’ उनले भने, ‘तर स्पोटिफाईले चाँडै नै बजार बढाउने अनुमान गर्न सकिनन्छ ।’

उनले अगाडि भने, ‘युट्युव र स्पोटिफाई दुवैले म्युजिक कम्प्रेस गर्छन् । तर स्पोटिफाईले युट्युवले भन्दा धेरै कम कम्प्रेस गर्ने र तुलनात्मक रूपमा धेरै राम्रो क्वालिटी उपलब्ध गराउँछ ।’

स्पोटिफाईले एक आर्टिस्टको अपेक्षालाई धेरै हदसम्म सम्बोधन गर्ने हुनाले आगामी दिनमा निकै राम्रो बजार लिने उनको बुझाइ थियो । हाल उनका २५,६०० मासिक श्रोता, एक लाख मासिक स्ट्रिम र १७ हजार फलोअर रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२