close

सामसङले बनायो ‘ईन-मेमोरी कम्प्युटिङ’ प्रविधि, अब मेमोरी र प्रोसेसर एउटै हुने

टेकपाना टेकपाना

पुस ३०, २०७८ ११:५३

सामसङले बनायो ‘ईन-मेमोरी कम्प्युटिङ’ प्रविधि, अब मेमोरी र प्रोसेसर एउटै हुने

काठमाडौं । सामसङले मेमोरीभित्रै कम्प्युटिङ रहेको विश्वकै पहिलो एमआरएएम (म्याग्नेटोरेस्टिभ रेन्डम एक्सेस मेमोरी) विकास गरेको छ । सामसङको टिमले पत्ता लगाएको यो आविष्कार नेचरमा प्रकाशित भएको छ ।

एमआरएएम प्रयोग गरी मेमोरी र डेटा कम्प्युटिङलाई एउटैमा समावेश गर्ने काम यसअघि भएको थिएन । यसबाट मेमोरी र सिस्टम सेमिकन्डक्टरलाई एउटैमा एकीकृत गर्न सकिने भएको छ ।

सामसङको अनुसन्धानसम्बन्धी प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार मेमोरी चिप सामान्यतया डेटा स्टोर गर्नका लागि प्रयोग हुने गर्दछ भने डेटा कम्प्युटिङको काम भिन्नै रुपमा प्रोसेसर चिपमा सञ्चालन हुन्छ । ‘ईन-मेमोरी कम्प्युटिङ’ प्रविधिले दुवै कार्यलाई एउटै मेमोरी नेटवर्कमा सम्भव बनाएको हो ।

‘ईन-मेमोरी कम्प्युटिङ’ ले मेमोरी आफ्नो नेटवर्कभित्र स्टोर भएको भारी मात्राको डेटालाई प्रोसेसिङ गर्नेछ । यसको अर्थ डेटा अर्को स्थानमा स्थानान्तरण गर्नुपर्ने छैन र यो समानान्तर रुपमा प्रोसेस गरिने छ । जसले गर्दा ट्रान्सफर स्पिड फास्ट हुने र ऊर्जा खपत उल्लेख्य रुपमा कटौती हुनेछ ।

यसअघि रेसिस्टिभ रेन्डम एक्सेस मेमोरी (आरआरएएम) र फेज-चेञ्ज रेन्डम एक्सेस मेमोरी (पीआरएएम) मा अन्य ‘नो-भोलेटाइल मेमोरी टाइप’को प्रयोग गरी ‘ईन-मेमोरी कम्प्युटिङ’ को कोसिस गरिएको  थियो । यद्यपि एमआरएएमको प्रयोग गर्दा समेत कठिनाइका साथ सम्भव भएको थियो ।

सामसङका अनुसार यस प्रकारका मेमोरीमा हुने कमजोर प्रतिरोध क्षमताका कारण मुस्किल हुन गएको हो । जब स्ट्यान्डर्ड ईन-मेमोरी कम्प्युटिङ आर्किटेक्चर प्रयोग गरियो, एमआरएएमले अपेक्षित ऊर्जा खपत कम गर्न सकेन ।

यस प्रकारका कठिनाईका बाबजुत एमआरएएम आकर्षक ‘ईन मेमोरी कम्प्युटिङ’ उपायको रुपमा अगाडि आएको छ । किन भने यसमा हाई अपरेसन स्पिड (उच्च गतिको सञ्चालन क्षमता), ठूलो मात्रामा हुने उत्पादन र यसको सहनशील क्षमता जस्ता थुप्रै फाइदा छन् ।

यसबाट सामसङका अनुसन्धानकर्तालाई यो प्रविधि विकासलाई निरन्तरता दिन र अन्ततः एमआरएएम-आधारित ‘ईन-मेमोरी कम्प्युटिङ’ लाई वास्तविकतामा परिणत गर्ने उत्साह मिलेको छ । यो अनुसन्धानबाट एमआरएएम उपकरणमा देखिएको कमजोर प्रतिरोधी क्षमतालाई सम्बोधन गर्दै ईन-मेमोरी कम्प्युटिङ एमआरएएम एर्रे चिप बनाउने बाटो खुलेको हो ।

यसरी बनाइएको एर्रे चिपले परीक्षणका क्रममा सही प्रकारले काम गरेको र थुप्रै प्रकारका एआई कम्प्युटिङ कार्यहरू सम्पन्न गरेको थियो । सामसङले उल्लेख गरेअनुसार यो चिपले हस्तलिखित अङ्कहरूको वर्गीकरणमा ९८ प्रतिशत सत्यता (एक्योरेसी) र दृश्यबाहेक अनुहार पहिचानमा ९३ प्रतिशत सत्यता पुष्टि गरेको छ ।

सामसङ एड्भान्स इन्स्टिच्युट अफ टेक्नोलोजी, सामसङ इलेक्ट्रोनिक्स फाउन्ड्री बिजनेस र सेमिकन्डक्टर अनुसन्धान र विकास सेन्टरको सहकार्यमा गरिएको अनुसन्धानबाट यो नतिजा प्राप्त भएको हो ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२