close

आईफोन १५ मा कस्तो आउला क्यामेरा ?

टेकपाना टेकपाना

माघ ८, २०७८ १३:३२

आईफोन १५ मा कस्तो आउला क्यामेरा ?

काठमाडौं । सन् २०२२ मा एप्पलले आईफोन १४ ल्याउँदैछ । बजारमा आईफोन १४ को विषयमा विभिन्न विवरण बाहिरिन थालेका छन् । एप्पललाई भने एउटा उत्पादन बजारमा आउँदा नआउँदै अर्को उत्पादनको तयारी गर्ने चटारो परेको छ ।

आईफोन १४ सार्वजनिक हुने मितिदेखि लिएर यसका विवरणका बारेमा बजारमा हल्ला चलिरहँदा कम्पनीले आईफोन १५ को फिचरमा पनि काम गरिरहेको छ ।

हुन त एप्पलको ट्रेन्ड हेर्ने हो भने हरेक वर्ष नयाँ फोन सार्वजनिक गर्ने हिसाबले हेर्दा २०२२ मा आईफोन १४ सार्वजनिक भएपछि २०२३ मा आईफोन १५ को नै पालो हो । र कम्पनी यसकै लागि तयारी गर्नु कुनै नौलो कुरा होइन ।

यद्यपि कम्पनीको तयारीसँगै उत्पादनको फिचरबारे जानकारी बाहिरिनु पनि सामान्य रुपमा नै लिनुपर्ने हुन्छ । अहिले बजारमा आईफोन १५ प्रोको विषयमा विभिन्न जानकारी बाहिरिएका छन् ।

तीमध्ये एक हो, क्यामेरा । आईफोन १३ प्रो म्याक्सको क्यामेरामा निकै तारिफ कमाएको एप्पलले आईफोन् १५ प्रोमा पाँच गुणासम्म वस्तु जुम गर्नसक्ने क्षमता भएको पेरिस्कोप क्यामेरा उपलब्ध गराउने चर्चा बाहिरिएकाे छ ।

कम्पनीले यो क्यामेराको परीक्षण गरिसकेको र २०२३ मा सार्वजनिक हुने केही महँगा मोडेल अर्थात् आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा प्रयोग गर्नसक्ने चर्चा गरिएको छ ।

यद्यपि एन्ड्रोइड प्रयोगकर्ताका लागि भने यो फिचर नयाँ नहुन सक्छ । किनभने केही एन्ड्रोइड फोनमा पेरिस्कोप क्यामेराको प्रयोग भइसकेको छ । आईफोन प्रयोगकर्ताका लागि भने यो नयाँ अनुभव हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२