काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा ‘ई-पूजा’ सेवा सुरु गर्ने भएको छ । कार्य व्यस्तता तथा अशक्तताका कारण चाहेर पनि पशुपतिनाथ मन्दिरमा स्वयं उपस्थित भएर पूजा गर्न आउन नसक्ने भक्तजनलाई ध्यानमा राख्दै विकास कोषले यो सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
कोषका अनुसार भक्तजनहरुले संसारका जुनसुकै स्थानबाट अनलाइन बुकिङमार्फत पशुपतिनाथमा दैनिक रुपमा सञ्चालन हुने पूजा सजिलैसँग गर्न सक्नेछन् ।
अनलाइनबाट बुकिङ गरिएको पूजाको सम्पूर्ण आवश्यक जानकारी तथा रसिद सम्बन्धित भक्तजनलाई ईमेलमार्फत प्रदान गरिने जनाइएको छ ।
साथै विशेष पूजाको प्रसाद विश्वका जुनसुकै स्थानमा कुरियर गर्ने व्यवस्था समेत रहेको छ ।
अनलाइन मार्फत भक्तजनहरूले पञ्चामृत पूजा, बालभोग सहित पञ्चामृत पूजा, रुद्रभिषेक र बालभोग सहित पञ्चामृत पूजा, लगुरुद्रभिषेक र पुराभोग सहित पन्चामृत पूजा, रुद्रभिषेक, पुराभोग, सवा लाख बत्तीद्वारा आरती, विशेष पूजा लगायतका पूजा गर्न सक्नेछन् ।
भक्तजनले अनलाइनबाट ११ सय रुपैयाँदेखि आठ लाख एक रुपैयाँसम्मको पूजा गर्न सक्नेछन् ।
पशुपतिनाथको ई-पूजा बुक गर्न प्रयोगकर्ताले ‘श्री पशुपतिनाथ टेम्पल’ नामक मोबाइल एप डाउनलोड गरेर आफ्नो पूजाको लागि दिन र समय बुक गर्न सक्नेछन् ।
त्यसैगरी भक्तजनहरूले अनलाइनमार्फत नै पूजाको भुक्तानी पनि गर्न सक्नेछन् ।
यो एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ । साथै पशुपति क्षेत्र विकास कोषको आधिकारिक वेबसाइटबाट पनि यो सेवा लिन सकिन्छ ।
केही प्राविधिक तयारी सम्पन्न भएपछि यो सेवा छिट्टै सञ्चालनमा आउने जनाइएकाे छ ।