काठमाडौं । आईफोनबाट सम्पूर्ण दृश्य खिचेर तयार पारिएको नेपाली लघुचलचित्र 'क्रसिङ ब्रोडर्स’ मुम्बई एकेडेमी अफ मुभिङ इमेज (मामी) मा प्रदर्शन गरिएको छ । सौरभ राई निर्देशित यो लघुचलचित्रका लागि छायाङ्कनदेखि सम्पादनसम्मका सबै काम एप्पलका उत्पादनबाट गरिएको बताइएको छ ।
राई सहित अर्चना अतुल फडके, फराज अली, सौम्यानन्द साही, प्रतिक वत्सचार 'फिल्म्ड अल आईफोन' कार्यक्रममा छानिएका थिए । यो कार्यक्रम आईफोन प्रयोग गरेर फिल्म तयार पार्न प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्ने गरी एप्पलले सञ्चालन गरिरहेको छ । यसै अन्तर्गत राईले उक्त फिल्म बनाएका हुन् ।
उनीहरू सबैले चलचित्र छायाङ्कन गर्न एप्पलको पछिल्लो मोडेल आईफोन १५ प्रो म्याक्स र एडिटका लागि म्याकबुक प्रो (एम थ्री चिप) प्रयोग गरेका थिए । अहिले उनीहरूले तयार पारेको चलचित्र मामीले आफ्नो आधिकारिक युट्युब च्यानलमा समेत अपलोड गरिसकेको छ ।
यसका साथै एप्पलले उनी सहित अन्य चार चलचित्रकर्मीबारे फिचर लेख समेत आफ्नो वेबसाइटमा राखेको छ । त्यहाँ राईले आईफोनबाट चलचित्र बनाउँदाका अनुभव साझा गरेका गरेका छन् ।
उनको यस चलचित्रले सारी, छाता जस्ता सामान नेपाल-भारत सीमा पार गर्न तीन पात्रले गरेको सङ्घर्षको कथा भन्छ । २६ मिनेट लामो चलचित्रबाट राईले सीमा नजिका बासिन्दाको कथा भन्न सफल भएका छन् ।
लामो समयदेखि एप्पलका उत्पादनहरू प्रयोग गर्दै आएका उनले आईफोनको यस मोडेल फिल्म निर्माताका लागि बनेको विश्वास गर्छन् । त्यस्तै फोनको क्यामेरामा भएको सिनेमेटिक मोडले पात्रहरूलाई फोकसमा राखि राख्न मद्दत गरेको उनको भनाइ छ ।
यसका साथै आईफोन १४ प्रो म्याक्सबाट छायाङ्कन गरिएको नेपाली चलचित्र 'अ प्लेस अन्डर द सन' एप्पल टिभी, प्राइम भिडिओ, पिकक् जस्ता विश्व चर्चित स्ट्रिमिङ प्लेटफर्ममा रिलिज हुन लागेको छ । पछिल्लो समय विश्वभर नै चलचित्र निर्माणमा आईफोनको प्रयोग बढ्दै गइरहेको छ । जसको प्रभाव नेपाली चलचित्रकर्मीमाझ पनि बढ्दै गएको देख्न सकिन्छ ।
निर्देशक राईको यस फिल्म हेर्न यहाँ क्लिक गर्नुहोस् ।