close

फोन गर्न अब डाँडो चढ्न नपर्ने

टेकपाना टेकपाना

चैत १३, २०७८ ८:५७

फोन गर्न अब डाँडो चढ्न नपर्ने

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका क्षेत्रका सर्वसाधारणले मोबाइलमा नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँपालिकाको वडा नम्बर २ खार्पा र ५ दुबेकोलमा एकैसाथ नेपाल टेलिकमको दुईवटा टावर सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणको समस्या अन्त्य भएको हो ।

खार्पा र दुबेकोलको डाँडामा टावर देखिएको तीन वर्ष हुन लाग्दा पनि मोबाइलमा नेटवर्क नआउँदा ‘आकाशको फल आँखा तरी मर’ भन्ने नेपाली उखानजस्तै भएको स्थानीय बताउँछन् ।

टेलिकमले ढिलागरी टावर सञ्चालनमा ल्याए पनि अहिले पालिकावासीको मुहारमा खुसी छाएको छ । छवटा वडा रहको गाउँपालिकाको सबै वडाको तल्लो क्षेत्रका नागरिक यसअघि मोबाइलमा नेटवर्क खोज्दै डाँडाकाँडा जाने गरेका थिए ।

बुधबारबाट दुईवटा टावर सञ्चालनमा आएसँगै सर्वसाधारणको सास्ती हटेको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो । गाउँमा नेटवर्क नहुँदा गाउँपालिका कार्यालयका कर्मचारीलाई पनि उत्तिकै सास्ती थियो ।

गाउँपालिकाको कार्यालयमा नेटवर्क नआउँदा अति आवश्यक काम पर्दा फोन गर्न कार्यालय छाडेर डाँडातिर निस्कनुपर्ने बाध्यता रहेकाले सेवा प्रवाहमा समेत समस्या रहेको प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले बताए ।

यसअघि, कोरोना भाइरसका कारण भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न समस्या हुँदा अनलाइन र फोनमार्फत पठनपाठनलाई निरन्तरता दिनुपर्ने बाध्यता भए पनि नेटवर्कको समस्याका कारण पठनपाठनमा समेत समस्या देखिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक तीर्थराज दाहालको भनाइ छ ।

हाल टावर सञ्चालनमा आएसँगै यी सबै समस्याको अन्त्य भएकाे समाचार गाेरखापत्रले छापेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२