close

नेपाली भाषामा शुद्ध लेख्न सिकाउने एप

हिक्मत आचार्य हिक्मत आचार्य

बैशाख ६, २०७९ ११:२५

नेपाली भाषामा शुद्ध लेख्न सिकाउने एप

काठमाडौं । हामी धेरैको समस्या प्रायः आफ्नो राष्ट्रिय भाषा लेखनमा हुन्छ । आफूलाई जतिको शुद्ध बोल्न आउँछ, त्यतिको लेख्न नआउँदा कतिपय अवस्थामा गाह्रो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ ।

विशेषगरी शुद्धता लेखनमा ध्यान नदिँदा हामीले लेखेका शब्दको अनर्थ लागिरहेको हुन्छ । आज हामी एउटा माेबाइल एपको माध्यमबाट कसरी शुद्ध लेख्न सकिन्छ भन्ने विषयमा चर्चा गर्छौं ।

प्ले स्टोर, एप स्टोर अथवा वेबमा विभिन्न भाषासम्बन्धी धेरै नै सफ्टवेयर तथा एप उपलब्ध छन् । एप धेरै भएकाले कुन सबैभन्दा भरपर्दो वा उपयोगी हुन्छ भन्ने कुरामा द्विविधा आइरहन्छ ।

आफूले नेपालीमा लेखेका वाक्य वा अनुच्छेदमा भएका अशुद्धता हामी सोझै यस्ता माध्यमबाट पहिचान गरी शुद्ध बनाउन सक्छौं । उदाहरणका लागि हिज्जे डटकम । हिज्जेबारे हामीले यसअघि नै भिडिओ बनाइसकेका छौं ।

आज हामीले चर्चा गर्न लागेको एप हो, नेपाली बृहत् शब्दकोश । नेपाल प्रज्ञा प्रतिष्ठानले २०४० सालमा पहिलो पटक प्रकाशन गरेयता यो शब्दकोष पटक-पटक संशोधन, परिमार्जन र पुनर्मुद्रण हुँदै आएको छ ।

यो एप हालसम्म ६० हजारभन्दा बढी प्रतिहरू विक्रीवितरण भइसकेका शब्दकोशको डिजिटल स्वरूप हो । सूचना र प्रविधिको तीव्र विकासक्रमसँगै अघि बढ्न र विश्वका विभिन्न ठाउँमा रहेका नेपालीको मागलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तकका रूपमा रहेको शब्दकोशलाई मोबाइल एपमा ल्याएको हो ।

नेपाली भाषा क्षेत्रका विभिन्न विज्ञको सहाभागिता समेत रहेकाले यसलाई सबैभन्दा भरपर्दो र विश्वसनीय शब्दकोश मान्न सकिन्छ ।

पुस्तकमा भएका कमी कमजोरी सच्चाउन अर्को संस्करण नै ल्याउन पर्छ भने एप केवल एक अपडेटमा नै परिमार्जित हुनसक्छ । त्यसैले पनि आजका मितिमा एपको धेरै महत्व भएकाले प्रतिष्ठानले यस एपलाई डिजिटल रूपमा ल्याउने निर्णय लिएको थियो । त्यस्तै हामीले एपको विकल्पमा शब्दकोशको पीडीएफ फाइल डाउनलोड गर्न सक्छौँ ।

सबैभन्दा पहिले तपाईंले प्ले स्टोर अथवा एप स्टोरमा गई ‘नेपाली बृहत् शब्दकोष’ डाउनलोड गर्नपर्छ । एन्ड्रोइड प्रयाेगकर्ताले एप डाउनलाेड गर्न यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

एन्ड्राेइड र आईओएस भर्जनमा समान इन्टरफेस भएकाले कुनै एकबारे जान्दा दुवैसँग मिल्न जान्छ ।

डाउनलोड गरिसकेपछि खुल्ने नयाँ इन्टरफेसमा ‘शब्द खोज्नुहोस्’ लेखिएको बक्स देख्न सकिन्छ । यो बक्सको तल तीनवटा विकल्पहरू छन् ।

वर्ण सूची, सङ्‍केत सूची र एपको विवरण । ‘शब्द खोज्नुहोस्’ लेखिएको ठाउँमा ट्याप गर्‍यो भने डिभाइसको कीबोर्ड देखिन्छ ।

प्रायः सबैजसो डिभाइसमा हुने कीबोर्डमा अङ्‍ग्रेजी अक्षर हुने भएकाले नेपाली अक्षर आउने बनाउनुपर्ने हुन्छ । नेपाली शब्दहरू टाइप गर्न नेपाली वर्णको कीबोर्डहरू जस्तै जीबोर्ड, नेपाली किबोर्ड अथवा हाम्रो कीबोर्ड डाउनलोड गरी प्रयोग गर्न सक्नुहुन्छ ।

अथवा उपलब्ध भएको खण्डमा सोही कीबोर्डको सेटिङमा गई नेपाली भाषा छान्न सक्नुहुन्छ ।

आफूले खोज्न चाहेको शब्द यो बक्समा टाइप गर्नुभयो भने त्योसँग मिल्दाजुल्दा अन्य शब्दहरू सुझावका रुपमा तल देखिन्छन् । त्यसमध्ये तपाईंले चाहेको शब्दमा ट्याप गर्‍यो भने त्यस शब्दको शुद्ध रूप र अर्थ देखिन्छ ।

त्यस्तै तपाईंले खोजेको शब्द कुन पदवर्गमा पर्छ भन्ने पनि देखिन्छ । उदाहरणका लागि हामी यहाँ ‘र’ का बारेमा खोज्छाैं । यस बक्समा ‘र’ टाइप गर्दा सुझावका रूपमा अन्य थुप्रै शब्दहरू देखिन्छन् ।

कतिपय अवस्थामा यसले गर्दा हामीले नयाँ शब्दका ज्ञान पाउँछौँ । हामीले यहाँ ‘र’ खोजेको थियाैं, सुझावमा ‘र’ बाट सुरु हुने थुप्रै शब्दहरू देखिएका छन् । अब हामीलाई नौलो लागेको शब्द ‘रद’ छान्छाैं ।

यसको अर्थ भएको नयाँ पेज खुलेको छ । यसबाट रदको अर्थ दन्त, दाँत वा जोतिषशास्त्रमा ३२ को अङ्कलाई बुझाउने शब्द हो भन्ने जानकारी भयो ।

हामीले सबैभन्दा पहिले खोजेको वर्ण ‘र’ हो, त्यसैले हामी यसलाई ब्याक गरेर पहिले खुलेको पेजमा जान्छौं । हामीले खोजेको शब्द ‘र’ मा ट्याप गरेपछि त्यसको अर्थ भएको नयाँ पेज खुलेको छ ।

यस पेजको बीचमा भएको ‘२’ ले ‘र’ को अर्थलाई दुईवटा अंशमा छुट्टाएको संकेत गर्छ । पहिलो अंशबाट ‘र’ वर्ण देवनागरी वर्णमालाको सताइसौं व्यञ्जनवर्ण, मूर्धन्य, अन्तःस्थ, सघोष, अल्पप्राण, प्रकम्पित व्यञ्जन ध्वनी, लेख्य रूपमा सो ध्वनी वा वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न, खाँबे ‘र’ रहेछ भन्ने थाहा भयो ।

यसको बीचमा आएका अन्य शब्दको अर्थ पनि अञ्जान लागेमा हामी यही एपको सर्च बक्समा हेर्न सक्छौं ।

त्यस्तै दोस्रो अंशमा ‘संयो.’ पछि कोष्ठकमा ‘सं.’ र ‘अपर’ लेखिएको छ । यसमा डटको अर्थ एक संकेत भन्ने बुझिन्छ । पहिले ‘संयो.’ भनेको के रहेछ भन्ने हेरौं । ‘संयो.’ मा ट्याप गर्‍यो भने सङ्‍केत सूची देखिन्छ ।

हामीलाई यहाँ ‘संयो.’ सङ्‍केतको पूर्णरूप थाहा पाउन छ । यसमा सबै संकेतहरू क्रमबद्ध रूपमा राखिएको भएकाले हामीलाई आवश्यक सङ्‍केत सहजै फेला पार्नसक्छौं । यसलाई स्क्रोल गर्दै तल जाँदा ‘संयो.’ देखिएको छ । यसको छेउमा संयोजक लेखिएको देखियो । भन्नुको अर्थ ‘र’ संयोजक रहेछ ।

अब संयोजक भनेको के हो भन्ने लागेमा त्यसको तल प्रष्ट रूपमा लेखिएको छ । ‘संयो.’ पछि कोष्ठकमा भएको ‘सं.’ र ‘अपर’ को अर्थ थाहा पाउन पहिलेजस्तै संकेत सूचीमा खोज्न सक्नुहुन्छ ।

संयोजक भनेको के भन्ने कुरा यहाँ देखाएको छ । त्यस्तै ‘र’ लाई संयोजकका रूपमा प्रयोग गर्दा त्यसको सट्टामा कुन कुन शब्द प्रयोग गर्न सक्छौँ भन्ने यहाँ देखाइएको ‘तथा’, ‘अनि’, ‘यसकारण’ जस्ता शब्दबाट थाहा हुन्छ । त्यसको अर्थ ‘र’ कसरी प्रयोग गर्ने भन्ने उदाहरणबाट पनि हेर्न सकिन्छ ।

त्यसको तल ‘क्रि. वि’ देखिएको छ । त्यसको अर्थ क्रियाविशेषण हुन्छ, जुन पहिलेजस्तै संकेत सूचीबाट हेर्नसक्छौं । क्रियाविशेषणका रूपमा ‘र’ लाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा त्यहाँ देखाइएको उदाहरणबाट प्रष्ट हुन्छ ।

अन्तिममा ‘निपा.’ लेखिएको छ । यसमा पनि ‘निपा.’ को अर्थ निपात भन्ने पहिले जस्तै सङ्‍केत सूचीमा हेरेर थाहा हुन्छ । निपातका रूपमा ‘र’ लाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा त्यहाँ देखाइएको उदाहरणबाट सिक्नसक्छौं ।

यसमा प्रायः सबै शब्दको विस्तृत जानकारी राखेको भएकाले हामीलाई आवश्यक हरेक जानकारी यसैबाट पाउन सकिन्छ । आफ्नो शब्दज्ञानका लागि हरेक वर्णबाट सुरु हुने शब्दको जानकारी जान्न हामी होम पेजमा भएको वर्ण सूची वा माथि देखाइएको तीनवटा लाइनमा ट्याप गरी ‘वर्ण सूची’ लेखेको अप्सन देख्न सक्छौँ ।

त्यसमा ‘अ’ देखि ‘अः’ सम्म र ‘क’ देखि ‘ज्ञ’ सम्म सुरु हुने हरेक वर्णका शब्द देख्नसक्छौं । कतिपय अवस्थामा बोल्दा त्यो शब्द आइरहेको हुन्छ । तर, कसरी लेख्ने भन्ने जानकारी नै हुँदैन । त्यस्तो अवस्थमा हामी वर्ण सूची हेरेर शुद्ध शब्द लेख्न सक्छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२