close

अब हरेक टोल फ्री नम्बरमा जुनसुकै सेवा प्रदायकबाट निःशुल्क फोन गर्न सकिने

टेकपाना टेकपाना

बैशाख ६, २०७९ १६:५४

अब हरेक टोल फ्री नम्बरमा जुनसुकै सेवा प्रदायकबाट निःशुल्क फोन गर्न सकिने

काठमाडौं । अब हरेक ‘टोल फ्री’ मा जुनसुकै सेवा प्रदायकबाट निःशुल्क फोन गर्न सकिने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले टोल फ्री नम्बरलाई प्रभावकारी बनाउने उद्देश्यका साथ शर्ट कोड कार्यविधिमा परिमार्जन गर्दै नयाँ व्यवस्था लागू गरेको हो ।

प्राधिकरणको चैत ११ गते बसेको बोर्ड बैठकले शर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ मा संशोधन गर्दै नयाँ व्यवस्था थप गरेको छ ।

योसँगै अब एक सेवा प्रदायकले उपलब्ध गराएको टोल फ्री नम्बरमा अर्को सेवा प्रदायकको मोबाइल नम्बरबाट पनि निःशुल्क कल गर्न सकिने छ ।

बोर्डले पुरानो कार्यविधिमा रहेको दफा ३ को उपदफा (घ) हटाउने निर्णय गरेको छ । त्यस्तै दफा ४ को उपदफा (क) मा समेत परिमार्जन गरेको छ ।

यसअघि तीन अंकको शर्टकोर्ड आकस्किम सेवा (जस्तै प्रहरी, वारुणयन्त्र, एम्बेलेन्स) का लागि मात्रै उपलब्ध गराइने भनी उल्लेख गरेको भएपनि संशोधनले कार्यविधि लागू हुनुपूर्व उपलब्ध गराइएका तीन अंकको शर्ट कोड पूर्वशर्त अनुसार नै सञ्चालन गर्न सकिने उल्लेख छ ।

त्यस्तै दफा ७ मा रहेको पुरानो व्यवस्थालाई हटाउँदै नयाँ व्यवस्था कायम गर्ने निर्णय बोर्डले लिएको छ । संशोधित नयाँ कार्यविधि दफा ७ मा सम्पूर्ण टोल फ्री नम्बर ११ नम्बरको हुनुपर्ने व्यवस्था गरिएको छ ।

भने उपदफा (क) मा यस्तो टोल फ्री नम्बर कुनै पनि संस्थाले आफ्ना ग्राहकलाई जानकारीमूलक सेवा प्रदान गर्नका लागि प्रयोग गर्नसक्ने भनी उल्लेख गरिएको छ ।

नयाँ संशोधित कार्यविधि अनुसार अब राष्ट्रिय र अन्तराष्ट्रिय टोल फ्री नम्बरको लागि फरक नम्बरिङ रेन्ज उपलब्ध हुने जनाइएको छ । यसअघिसम्म १६६० बाट सुरु हुँदै आएको राष्ट्रिय टोल फ्री नम्बर १८१० बाट सुरु हुने भएको छ । भने १८१० पछिको एक अंक अर्पेटर कोड हुनेछ ।

भने, बाँकी रहेको ६ अंक सस्क्राइबर नम्बर अर्थात टोल फ्री उपलब्ध गराउने संस्थालाई जनाउने नम्बर हुनेछ । त्यस्तै विदेशी कम्पनीले नेपाली ग्राहकलाई लक्षित गरेर टोलफ्री नम्बर उपलब्ध गराउन चाहेको खण्डमा त्यस्तो टोल फ्री नम्बर १८०० बाट सुरु हुनेछ । भने बाँकी रहेको सम्पूर्ण नम्बर सस्क्राइबर नम्बर हुनेछ ।

त्यसरी उपलब्ध गराइएको टोल फ्री नम्बरमा एक सेवा प्रदायकको ग्राहकले अर्को सेवा प्रदायकले प्रदान गरेको टोल फ्री नम्बरमा सम्पर्क गर्न मिल्ने गरि आवश्यक अन्तरआवद्धता(इन्टरकनेक्सन) को व्यवस्था सुनिश्चित गर्नुपर्ने व्यवस्था दफा ७ को उपदफा (घ) मा गरिएको छ ।

हालसम्म नेपालमा टोल फ्री नम्बर कुन कम्पनीले उपलब्ध गराएको छ भन्दा पनि कुन टेलिकम सेवाप्रदायकको नेटवर्कबाट लिइएको हो भन्ने विषयले महत्व राख्दै आएको छ ।

किनभने यदि कुनै कम्पनीले आफ्ना ग्राहकको सहजताका लागि नेपाल टेलिकमबाट टोल फ्री नम्बर उपलब्ध गराएको छ भने उसका एनसेल तथा स्मार्टसेल प्रयोग गर्ने ग्राहकले उक्त टोल फ्री नम्बरमा कल गर्न पाउँदैन थिए ।

एनसेलले ९८ बाट सुरु भएको १० नम्बर रेञ्जमै टोल फ्री नम्बर उपलब्ध गराएकाले टेलिकमबाट फोन त लाग्न सक्छ । तर, त्यसका लागि ग्राहकको सिमबाटै पैसा काटिन्छ ।

कसैकोमा कल नलाग्ने, अनि कसैकोमा कल लागिहाले पनि पैसा लाग्ने भएपछि यस्तो सिस्टम वास्तवमा टोल फ्री नै नभएको तर्क दिँदै आएको प्राधिकरणले यसलाई व्यवस्थित गर्नेगरि नयाँ व्यवस्था लागु गरिएको प्राधिकरणका निर्देशक अम्बर स्थिापितले बताएका छन् ।

स्थापितका अनुसार नयाँ प्रावधान सहितको कार्यविधिको विषयमा सेवा प्रदायकलाई जानकारी गराउने काम समेत सम्पन्न भइसकेको छ । भने, विस्तारै सेवा प्रदायकले नयाँ व्यवस्था अनुसार नै सिस्टम अपग्रेडको काम अघि बढाइ सकेको बताइएको छ ।

यसका लागि  ग्राहकले कुनै पनि टोल फ्री नम्बरमा कल गर्दा कुनै शुल्क नलागोस् भनेर ‘रिभर्स इन्टरकनेक्सन’ को व्यवस्था गरिएको जनाइएको छ ।

‘रिभर्स इन्टरकनेक्सन’ अर्थात् यदि नेपाल टेलिकमबाट कुनै कम्पनीले आफ्ना ग्राहकलाई टोल फ्री नम्बर उपलब्ध गराएको छ भने उक्त टोल फ्रीमा एनसेलका प्रयोगकर्ताको कल आउँदा हुने आम्दानीको केही हिस्सा टेलिकमले एनसेललाई उपलब्ध गराउनुपर्छ भन्ने हो । यसो हुँदा जुनसुकै टोल फ्री नम्बरमा कल गर्दा प्रयोगकर्ताको सिमबाट कुनै पैसा लाग्नेछैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२