close

एप्पलले आईओएसमा किन ल्यायो ‘गर्भवती पुरुष’ को इमोजी ?

टेकपाना टेकपाना

बैशाख ७, २०७९ १६:१२

एप्पलले आईओएसमा किन ल्यायो ‘गर्भवती पुरुष’ को इमोजी ?

काठमाडौं । यदि तपाईँसँग आईफोन छ भने  पक्कै पनि आफ्नो ईमोजी किबोर्डमा केही भिन्न किसिमका इमोजीहरू देख्नु भएको हुनसक्छ । एप्पलले हालै सार्वजनिक गरेको सफ्टवेयर अपडेटमा ‘प्रेगनेन्ट म्यान’ अर्थात ‘गर्भवती पुरुष’ सहित लैङ्गिक तटस्थता सम्बन्धी केही ईमोजी समेत आएका छन् ।

मार्चको मध्यतिर आएको यो अपडेटमा यस्ता इमोजी आएका हुन् । तपाईँले यी नयाँ इमोजीहरू विभिन्न पाँच ओटा फरक फरक ‘स्किन टोन’ अर्थात वर्णमा छनौट गर्न सक्नुहुन्छ ।

आईओएस १५.४ अपडेटसँगै ३५ भन्दा बढी नयाँ भावनात्मक सङ्केतहरू रोलआउट भएका हुन् । यद्यपि एप्पलले गत जनवरीमै ‘प्रेगनेन्ट म्यान’ र ‘प्रेगनेन्ट पर्सन’ ईमोजी सार्वजनिक गरेको थियो, जुन चाहिँ वैकल्पिक अपडेटको अङ्गको रुपमा आएका थिए ।

त्यसो त विभिन्न समुदायलाई स्वागतको अनुभूति गराउन गर्भवती पुरुष तथा लैङ्गिक समावेशिता सम्बन्धी इमोजीतर्फको एप्पलको यो अग्रसरता पहिलो भने होइन । सन् २०१९ मा यो प्रविधि कम्पनीले आईफोनको किबोर्डमा अनेकौँ समलिङ्गी जोडी तथा लैङ्गिक-तटस्थ इमोजी थप गरेको थियो ।

पछिल्लो अपडेट पश्चात भने गर्भवती पुरुषको ईमोजीलाई लिएर इन्टरनेटमा अनेकौँ रमाइलो र ठट्टाहरू हुन थालेका छन् । उक्त गर्भवती ईमोजीलाई वास्तवमा एकदमै धेरै खाएर अघाएको पुरुषको रुपमा समेत मानिसहरूले अर्थ्याइरहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२