close

हामीले भिडिओ हेर्दा युट्युबले कसरी कमाउँछ पैसा ?

टेकपाना टेकपाना

बैशाख २९, २०७९ १०:८

हामीले भिडिओ हेर्दा युट्युबले कसरी कमाउँछ पैसा ?

काठमाडौं । हामीले हेरेका भिडिओबाट युट्युबले कसरी पैसा कमाउँछ भन्ने प्रश्न सबैको मनमा आएको हुनसक्छ । हामीले मोनिटाइजेसनका सबै प्रक्रिया सक्यौं भने युट्युबले हाम्रा भिडिओमा विज्ञापन चलाएवापत भुक्तानी दिनेगर्छ ।

ओबेर्लोका अनुसार युट्युबमा विश्वभरबाट एक मिनेटमा करिब ५०० घण्टाका भिडिओ अपलोड हुने गर्छन् । औसतमा दैनिक सात लाख २० हजार घण्टाका भिडिओ होस्टिङ गर्ने खर्च, अझ त्यसबाट क्रियटरलाई दिने खर्च हेर्दा के अनुमान गर्न सकिन्छ भने युट्युब अहिले पनि नाफा कमाउन संघर्षरत छ ।

फर्च्युन म्यागजिनको शिखर सम्मेलनमा युट्युबका कार्यकारी अधिकृत सुसन वोजेस्कीले भनेका थिए, ‘युट्युब अझै पनि लगानीकै मोडमा छ । र, अहिले कसरी नाफा कमाउन सकिन्छ भन्ने विषयमा हामी काम गरीरहेका छौँ ।’

यति भनिरहँदा युट्युबले नाफा कमाउन कति संघर्ष गरिरहेको रहेछ भन्ने लाग्नसक्छ । तर, उनको याे भनाइ केही वर्षअघिकाे हाे ।

युट्युबको प्यारेन्ट कम्पनी अल्फाबेटले सार्वजानिक गरेको प्रतिवेदन अनुसार २०२१ मा युट्युबले कूल आम्दानीको ११.२ प्रतिशत रकम विज्ञापनबाट आम्दानी गरेको थियो । जुन २८.८४ अर्ब अमेरिकी डलर थियो ।

अल्फाबेटले कति रकम नाफा भयो भन्ने नखुलाए पनि यसको कूल आम्दानीबाट धेरै नाफा हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ । आज हामी युट्युबले यतिका रकम कसरी आम्दानी गर्छ भन्ने विषयमा चर्चा गर्दैछौं ।

युट्युबले आम्दानी गर्ने माध्यम नै विज्ञापन हो । हामीले युट्युबमा भिडिओ हेर्दा जतिपनि विज्ञापन देख्छौं, त्यो देखाएवापत युट्युबले विज्ञापनदाताबाट रकम लिने गर्छ ।

युट्युबले क्रियटरका हकमा भने उनीहरूको कन्टेन्टमा जति विज्ञापन चल्छन्, त्यही अनुसारको भुक्तानी दिने गर्छ । क्रियटरका भिडिओमा चलाएका विज्ञापनबाट आम्दानी भएको कूल रकमबाट ५५ प्रतिशत उनीहरूलाई उपलब्ध गराई बाँकी ४५ प्रतिशत आफूले राख्ने गर्छ ।

युट्युबलाई गुगलले २००६ मा आफ्नो स्वामित्वमा लिएको थियो । यद्यपि गुगलले युट्युबलाई आम्दानीका लागि भने खरिद गरेको थिएन । गुगलमा अनलाइन भिडिओ उपलब्ध गराउन सकस परेपछि गुगलले युट्युब किन्ने निर्णय लिएको थियो ।

तर, युट्युबको लोकप्रियता यति भइसक्यो कि, अहिले युट्युबबाट कम्पनीले अरबौं रकम आम्दानी गर्न थालिसकेको छ ।  त्यसको करिब ८ वर्षपछि गुगल कम्पनी अल्फाबेट रिब्राण्ड भएको थियो ।

गुगलले युट्युबलाई आफ्नो स्वामित्वमा लगिसकेपछि त्यसमा कपिराइट इस्युलाई परिमार्जित गरेर राख्यो । युट्युबको कपिराइट पोलिसीले क्रियटरलाई कन्टेन्ट राख्न प्रेरित गरेपछि त्यसमा उनीहरूको आकर्षण तीव्र गतिमा बढ्न थाल्यो । जसले गर्दा छोटो समयमा युट्युबमा थुप्रै विज्ञापनदाता जोडिए ।

सुरुवातीमा कपिराइटका कुरालाई लिएर युट्युबले तमाम चुनौतीको सामना गर्नपर्‍यो । त्यस्तो अवस्थामा पनि विज्ञापनदाताले युट्युबमा जोडिएर सहयोग गरे । युट्युबको आम्दानीको स्रोत विज्ञापनबाहेक युट्युब रेड (पेड मेम्बरशिप (शुल्क तिरेर बनेका ग्राहक)) पनि रहेको छ ।

२०१५ बाट सुरु भएको युट्युब रेडले प्रयोगकर्तालाई नेटफिलिक्सजस्तै सेवा दिन्छ । युट्युब रेड सेवा लिएपछि प्रयोगकर्ताले मासिक ९.९९ डलर प्रति महिना तिर्नुपर्ने हुन्छ । त्यसपछि उनीहरूले हेरेका कुनै पनि भिडिओ वा गीतमा विज्ञापन देखिँदैन ।

त्यसैलाई परिमार्जित गर्दै युट्युबले सन् २०१८ मा युट्युब रेड सेवा युट्युब प्रिमियममा रिब्राण्ड गरेको थियो । जसले छुट्टै युट्युब म्युजिक सब्सक्रिप्सन सेवा ल्यायो । युट्युब म्युजिकहरू प्रायः एड बिनाका नै हुन्छन् ।

तर यदि प्रिमियम सेवा लिइएको छ भने विज्ञापन बिनाका प्लेब्याक अडियो सुन्न, अफलाइन प्लेब्याकका लागि गीत डाउनलोड गर्न सकिन्छ । त्यसका लागि पहिलो एक महिना ट्रायल सुविधा र पछि मासिक ११.९९ डलर तिर्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्:

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२