close

‘स्टेबल क्वाइन’ ध्वस्त हुँदा क्रिप्टोकरेन्सी बजार सङ्कटमा, सुध्रिन सकेन बिट्क्वाइनको मूल्य

टेकपाना टेकपाना

बैशाख ३०, २०७९ १९:२६

‘स्टेबल क्वाइन’ ध्वस्त हुँदा क्रिप्टोकरेन्सी बजार सङ्कटमा, सुध्रिन सकेन बिट्क्वाइनको मूल्य

काठमाडौं । क्रिप्टोकरेन्सीले शुक्रबार ठूलो घाटा बेहोर्नुपर्‍यो । शुक्रबार बिटक्वाइनको मूल्य ३०,००० डलर भन्दा माथि गए पनि यसको मूल्यमा उल्लेखनीय सुधार देख्न सकिएको छैन ।

टेरायूएसडी नामक एक स्टेबलक्वाइन ध्वस्त भएपछि क्रिप्टोकरेन्सीको बजारमा ठूलै उथलपुथल आएको छ । टेरायूएसडीको मूल्य घटेर १४ सेन्ट अर्थात करिब १७ रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै टेरायूएसडीसँग सम्बन्धित टोकन ‘लुना’ को मूल्य पनि नगन्य हुन पुगेको छ । जसले गर्दा अहिले बजारमा भएका सबैजसो क्रिप्टोकरेन्सीको मूल्य ५० प्रतिशतले घटेको छ ।

गएको सात दिनमा इथेरियमको मूल्य २४ प्रतिशतले घटेको छ । क्रिप्टोकरेन्सी बजारमा सबैभन्दा बढी हिस्सा भएको दोस्रो क्रिप्टो हो इथेरियम ।

त्यस्तै क्रिप्टोकरेन्सीको सबैभन्दा धेरै बजार हिस्सा ओगटेको बिटक्वाइनको मूल्य शुक्रबार ३०,००० डलरभन्दा माथि गए पनि एक हप्ता अगाडिको मूल्यमा पुग्न सकेको छैन । एक हप्ता अगाडि बिटक्वाइनको मूल्य ४०,००० डलरको हाराहारीमा थियो ।

पछिल्लो २४ घण्टामा आठ प्रतिशतले बढे पनि बिटक्वाइनको मूल्य पछिल्लो सात दिनको तुलनामा अझै १६ प्रतिशतले कम छ । आउने दिनमा यो गिरावट झनै जटिल हुँदै जाने विज्ञहरूको विश्लेषण छ ।

क्रिप्टोकरेन्सी बजारमा यति ठूलो घाटा भएपनि विश्वको वित्तीय बजारमा भने त्यसको खासै ठूलो प्रभाव भने परेको छैन । स्टेबलक्वाइन एक प्रकारको क्रिप्टोकरेन्सी नै हो ।

यद्यपि यसको मूल्य भने कुनै मुद्रा वा सुन जस्तो धातुको आधारमा निर्धारण हुने गर्दछ । यसको मूल्य पनि स्थिर हुने गर्छ । हाल स्टेबल क्वाइनको दर अमेरिकी डलरसँग स्थायी हुने गरेको छ ।

यसको मूल्य अन्य सम्पत्तिको मूल्यसँग जोडेर तोक्ने गरिन्छ । यो पटक भने अचानक यसको मूल्य एकैपटकमा ९९ प्रतिशतले घटेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२