close

पराग अग्रवालले निकाले ट्वीटरका दुई म्यानेजर

टेकपाना टेकपाना

बैशाख ३१, २०७९ ९:१८

पराग अग्रवालले निकाले ट्वीटरका दुई म्यानेजर

काठमाडौं । विश्वका धनाढ्य व्यक्ति एलन मस्कले ट्वीटरको स्वामित्व लिने प्रक्रिया चलिरहँदा ट्वीटरका सीईओ पराग अग्रवालले कम्पनीबाट दुईजना उच्च पदस्थ कर्मचारीलाई निकालेका छन् ।

ट्वीटरका महाप्रबन्धक केभोन बेक्पोरले एक ट्वीट गर्दै व्यवस्थापन टोलीलाई फरक ढंगले सञ्चालन गर्नैभन्दै आफूलाई सीईओ परागले राजीनामा दिन भनेपछि आफूले कम्पनी छोडेको बताएका छन् ।

साथै कम्पनीको रेभिन्यु तथा प्रडक्ट प्रमुख ब्रुस फाल्कलाई पनि कम्पनीबाट निकालिएको छ । उनले सामाजिक सञ्जालमा आफ्नो बायोडेटामा ‘अनइम्प्लोइड’ अर्थात बेरोजगार भनेर लेखेका छन् ।

कम्पनीले दुई उच्च पदस्थ कर्मचारीलाई निकालेको कुरा स्वीकार गर्दै हाललाई कुनै पनि पदमा नयाँ मान्छे नराख्ने बताएको छ ।

कम्पनीको लागत कटौतीको लागि कर्मचारी निकाल्नुपरेकाे ट्वीटरको भनाइ छ । सीईओ अग्रवालले ईमेलमार्फत दुवैजनालाई कम्पनी छोड्न आग्रह गरेका थिए ।

उनको ईमेलमा व्यवस्थापनलाई फरक ढंगले सञ्चालन गर्ने, कम्पनीको खर्च कटौती गर्ने र कम्पनीमा नयाँ मान्छेहरू नल्याउने जस्ता कारण देखाइएको थियो ।

एलन मस्क र ट्वीटरको बोर्डबीच कम्पनीको स्वामित्वको विषयमा सम्झौता भएसँगै त्यहाँका कर्मचारीबीच तनाव सुरु भएको थियो ।

मस्कले ट्वीटरको स्वामित्व पाएपछि सीईओ अग्रवाललाई पनि हटाउने चर्चा चलिरहेको छ । अग्रवालले भने आफू आफ्नो जागिर भन्दा बढि कम्पनीको भविष्यको लागि चिन्तित भएको उल्लेख गर्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२