close

के प्रतिस्पर्धीलाई सखाप पार्दैछ टिकटक ?

टेकपाना टेकपाना

जेठ १, २०७९ १६:६

के प्रतिस्पर्धीलाई सखाप पार्दैछ टिकटक ?

काठमाडौं । यदि फेसबुकमा सूर्य अस्ताउँदै छ भने टिकटक चन्द्रमाको प्रकाशमा नाँचिरहेको छ । भन्नुको अर्थ फेसबुकमा रात पर्न लाग्दा टिकटक जुनको प्रकाशमा चम्किरहेको छ ।

छोटो भिडिओ अपलोड गर्न सकिने प्लेटफर्म टिकटकले कहिलेसम्म प्रयोगकर्तालाई आफ्नो बसमा राख्ला ? केही वर्षअघि विशेषगरी बच्चाका लागि बनाइएको टिकटक एप थियो । जसमा पाल्तु जनावर (कुकुर, बिरालो, सुँगा, मुसा) का गतिविधि र बालबालिकाले नाँचिरहेका भिडिओ देख्न सकिन्थ्यो ।

तर अहिले हरेक उमेर समूहका मानिसहरूले उत्तिकै प्रयोग गरिरहेका छन् । फोटो, स्टाटस र पोस्ट प्रायः सबैजसो सामाजिक सञ्जालमा देखिरहँदा मानिसहरूलाई केही नयाँ कुराको अनुभव गर्नु थियो ।

उपभोक्ताको चासोलाई मध्यनजर गर्दै टिकटकले ६० सेकेन्डभन्दा मुनिका संगीतसँग सम्बन्धित भिडिओ राख्न मिल्‍ने फिचर सार्वजनिक गर्‍यो । जसले गर्दा टिकटकको अल्गोरिदमले उपभोक्ताको चासोअनुसार उनीहरूको फिडमा त्यही अनुसारका भिडिओ देखाउन थाल्यो ।

त्यसपछि टिकटकमा उपभोक्ताको आकर्षण तीव्र गतिमा बढ्न थाल्यो । टिकटकले मानिसहरूलाई यतिसम्म बनाइदिएकाे छ, दिन बितेको थाहा नै हुँदैन ।

लामो समयसम्म चलिरहेको डिजिटल मिडिया उपभोक्ता व्यवहार सर्वेक्षणमा एडिसनले गरेको अनुसन्धान अनुसार अमेरिकामा ८२ प्रतिशत युवाले सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको पाइएको थियो ।

यसको अर्थ यो हो कि, जतिपनि अनलाइन सर्भिस छन्, जस्तै खाना वितरण, ई-कमर्श, डेटिङ साइटबाहेक अन्य सामाजिक सञ्जाल उस्तै प्रयोगकर्ताका लागि प्रतिस्पर्धा गर्दै छन् ।

यी सबै सामाजिक सञ्जालको प्रतिस्पर्धामा टिकटकले खेल जितिरहेको छ । सन २०१९ अघि अमेरिकामा स्मार्टफोन प्रयोग गर्ने १० वर्षिया बालिकामध्ये ७० प्रतिशतले टिकटक प्रयोग गर्थे ।

एडिसनको सर्वेक्षण अनुसार आजका मितिसम्म टिकटक सर्वाधिक प्रयोग गरिने सामाजिक सञ्जालका एपमध्ये तेस्रोमा पर्छ । यो अहिलले ट्वीटर, स्न्यापच्याट, पिन्ट्रेस्ट र लिंकडिनभन्दा अगाडि छ ।

दुई वर्षअघि अमेरिकामा १२ वर्षभन्दा माथिका प्रयोगकर्ता ११ प्रतिशत थिए भने अहिले बढेर ३६ प्रतिशत पुगेका छन् । यही अवधिमा स्न्यापच्याट, लिंकडिनन र पिन्ट्रेस्ट प्रयोगकर्ता घटेको सर्वेक्षणले देखाएको थियो ।

सर्वेक्षणका अनुसार अहिले विशेषगरी १२ देखि ३४ वर्ष उमेर समूहका मानिसले फेसबुकभन्दा टिकटक बढी प्रयोग गर्ने गर्छन् । यो धेरै लामो समयअघिबाट चल्दै आएको प्रक्रिया भने होइन ।

टिकटक २०१६ मा सार्वजनिक भएको थियो भने फेसबुक २००४ मा सार्वजनिक भएको थियो । यसलाई आधार मान्ने हो भने टिकटक फेसबुकभन्दा धेरै पछि सार्वजनिक भएको हो ।

यसो त दुई वर्ष अगिसम्म पनि फेसबुक टिकटकभन्दा ३९ प्रतिशतले अगि थियो । त्यस्तै दुई वर्षअघि ३५ देखि ५४ वर्ष उमेर समुहका इन्टरनेट प्रयोगकर्तामध्ये ५ प्रतिशत मात्र टिकटक प्रयोग गर्थे भने अहिले ७५ प्रतिशतले टिकटक पर्योग गर्ने गर्छन् । त्यस्तै त्यही समयमा यता स्न्यापच्याट, लिंकडिन र पिन्ट्रेस्टका प्रयोगकर्ता भने घट्दै गइरहे ।

स्न्यापच्याट र पिन्ट्रेस्ट अझै पनि प्रयोगकर्ता बढाउन संघर्षरत छन् । उनीहरूका प्रयोगकर्ता दिनानुदिन घट्दै गइरहेका छन् । फेसबुकको प्यारेन्ट कम्पनी मेटाले बताएअनुसार आईपीओ खुलाइसकेपछि पहिलो पटक दैनिक रूपमा फेसबुकका प्रयोगकर्ता घटिरहेका छन् ।

टिकटक प्रयोग गर्न अन्य सामाजिक सञ्जालभन्दा सहज भएको विश्लेषक मार्क महनी बताउँछन् । उनी भन्छन्, ‘टिकटक प्रयोग गर्न सहज छ । यसमा अन्य सामाजिक सञ्जालका अकाउन्टजस्तो साइनअप गरिरहन पर्दैन । एप डाउनलोड गरेर स्क्रोल गरे पुग्छ ।

त्यसमा इंगेज हुनका लागि मात्र अकाउन्ट खोल्नुपर्ने हुन्छ । यसो गर्दा टिकटकमा उपभोक्ताको आकर्षण बढेको देख्न सकिन्छ । त्यस्तै टिकटकमा जो पनि कन्टेन्ट क्रियटर बन्न सक्छ । इडिटिङ, फिल्टर, म्यजिक अप्सन सबै समावेश हुने भएकाले यसमा जोकोहीले छोटो समयमा आफूलाई निपुण बनाउन सक्छन् ।’

अहिले इन्स्टाग्राम, फेसबुक र युट्युवमा छोटा भिडिओहरू अपलोड गर्ने फिचर छन्, जसलाई रिल्स भन्ने गरिन्छ । त्यस्तै पिन्ट्रेस्टले पनि गत वर्षदेखि छोटा-भिडिओहरू राख्ने फिचर ल्याएको थियो, जसमा प्रयोगकर्ताले भिडिओ र फोटो कलेक्सनहरू स्क्रोल गर्दै हेर्न सक्छन् ।

त्यस्तै युट्युबले पनि गत वर्षबाटै छोटा भिडिओ राख्न मिल्ने फिचर ‘शर्ट्स’ सार्वजनिक गरेको थियो । हुँदा हुँदै ट्वीटरले पनि गत वर्ष डिसेम्बरमा शर्ट भिडिओ परीक्षण गरेको थियो ।

त्यस्तै नेटफिलिक्सले पनि मोबाइल एपमा गत वर्ष छोटा नेटफिलिक्स शोका स-साना क्लिकपहरू राख्न थालेको थियो । यसरी हेर्दा के अनुमान गर्न सकिन्छ भने प्रायः सबैजसो सामाजिक सञ्जाल तथा भिडिओ शेयरिङ एपहरूले टिकटकलाई पच्छाइरहेका छन् ।

टिकटक फ्रीमा डाउनलोड गर्न सकिने विज्ञापनमा आधारित सामाजिक सञ्जाल हो । यो एक निजी कम्पनी भएकाले ठ्याक्कै कति आम्दानी हुन्छ भन्ने खुलाएको छैन ।

तर, ईमार्केटरले अनुमान गरे अनुसार टिकटकले गत वर्ष ४ अर्व डलर आम्दानी गरेको थियो । जुन ट्वीटर र स्न्यापच्याटको विज्ञापन आम्दानीको तीन गुणआ बढी हो । त्यस्तै २०२४ सम्ममा टिकटकले २३ अर्ब डलरभन्दा बढी आम्दानी गर्न सक्ने स्रोतले अनुमान गरेका छन् ।

छोटा भिडिओ शेयरिङ गर्न मिल्ने एपका रूपमा चिनिएको टिकटक विस्तारै लामा भिडिओ सार्वजनिक सर्ने सुविधा ल्याउँदै छ । पहिले १५ सेकेन्डको भिडिओ सार्वजनिक गर्ने फिचरबाट सुरु भएको टिकटकमा अहिले १० मिनेटसम्मका भिडिओ अपलोड गर्न सकिन्छ ।

सिमिलबेवको डेटा अनुसार टिकटकको पहिलो त्रैमासिकमा ट्राफिक २०० प्रतिशतले बढेको छ । त्यस्तै टिकटकका मोबाइल एप प्रयोगकर्ताले औषत रूपमा दैनिक एक घण्टा २२ मिनेट बिताएको पाइएको थियो । जुन फेसबुक, ट्वीटर, इन्स्टाग्राम र स्न्यापच्याटको तुलनामा धेरै हो ।

विभिन्न सुरक्षा जोखिमले गर्दा टिकटकलाई भारतमा प्रतिबन्ध लगाइएको थियो । त्यस्तै टिकटकले अमेरिकामा पनि एल्गोरिदमका विषयलाई लिएर कानून व्यवसायीले उठाएका समस्या सामना गर्न पर्‍यो ।

टिकटकले यही विषयमा गत वर्ष सोही कन्टेन्ट पटक पटक नदोहोर्‍याउने बताएको थियो । अहिले टिकटकले आफ्ना क्रियटरका लागि आम्दानीको अर्को माध्यम पनि थप्ने योजना बनाएको छ । जसले गर्दा टिकटक क्रियटरले पनि युट्युबमा जस्तो विज्ञापनबाट आम्दानी गर्न सक्नेछन् ।

द वाल स्ट्रिट जर्नलबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२