close

आईटी शिक्षाबिना अब समाज अघि बढ्न सक्दैन

टेकपाना टेकपाना

जेठ ८, २०७९ १९:५५

आईटी शिक्षाबिना अब समाज अघि बढ्न सक्दैन

नेपालमा पछिल्लो समय सूचना प्रविधिसम्बन्धी शैक्षिक कार्यक्रममा विद्यार्थीको आकर्षण बढेको पाइन्छ । कम्प्युटर र सफ्टवेयर प्रविधिको क्षेत्र फराकिलो बनिरहँदा यसमा आधारित नयाँ-नयाँ पाठ्यक्रम बनिरहेका छन् । कम्प्युटर र सूचना प्रविधि सम्बन्धी यस्ता कोर्ष कतिपय कम्प्युटर साइन्ससँग नजिक छन् भने कतिपय सूचना प्रविधिसँग सम्बन्धित छन् र कतिपय कम्प्युटर इन्जिनियरिङसँग सम्बन्धित छन् । अनि यस्ता कोर्षहरू पढ्न विद्यार्थीका लागि पनि धेरै विकल्प छन् । नेपालमा स्वदेशी विश्वविद्यालयदेखि विदेशका नाम चलेका विश्वविद्यालयका शैक्षिक कार्यक्रम र कलेज छन् ।

यसै सन्दर्भमा नेपालमा बेलायती कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन लिई आईटी कार्यक्रम सञ्चालन गर्दै आएको सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सका कलेज प्रमुख प्रमोद पौडेलसँग हामीले आईटी शिक्षाको वर्तमान अवस्था, अवसर, चुनौती लगायतका विषयमा कुराकानी गरेका छौं ।

समग्रमा नेपालको आईटी शिक्षाको वर्तमान अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
पछिल्लो एक दशकलाई आधार मान्ने हो भने आईटी शिक्षाले फड्को मारेको छ । विश्वव्यापी रुपमा प्रविधिको व्यापकता बढ्दा नेपाल पनि अछुतो रहन सक्दैन । यसको प्रत्यक्ष प्रभाव आईटी शिक्षामा देख्न सकिन्छ ।

१० वर्ष अघिसम्म नेपालमा आईटीका सामान्य कोर्ष देख्न सकिन्थ्यो । अहिले स्पेसलाइज्ड (विशिष्टिकृत) कोर्ष थपिएका छन् । आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटी, डेटा साइन्सजस्ता आईटीका छुट्टै कोर्षमा पढाइ हुन थालेको छ ।

प्रविधिमा आएको परिवर्तनसँगै शैक्षिक संरचनामा पनि बदलाव आएको छ । विद्यार्थीले नेपालमै अन्तर्राष्ट्रिय डिग्री लिन पाएका छन् । अझ कोभिड महामारीले शिक्षा क्षेत्रमा धेरै पाठ सिकाएको छ । परम्परात शिक्षा प्रणालीको विकल्पमा हामीले गर्नसक्ने धेरै काम छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

अर्कोतर्फ सयौं कलेजबाट आईटी क्षेत्रमा वर्षेनि हजारौं जनशक्ति उत्पादन भइरहेको छ । तर देशले खपत गर्न सकेको छैन । अधिकतम ६०-७० प्रतिशत जनशक्ति बाहिर पठाउनुपर्ने बाध्यता छ ।

प्रविधिलाई जसले प्राथमिकता राख्नुपर्ने हो, राखेको देखिँदैन । सेमिनार गोष्ठीमा मात्रै आईटीका कुरा सीमित भए । डिजिटल नेपालको नारा कार्यान्वयन तहमा लान सकिएको छैन । राज्यले आईटी क्षेत्रमा प्राथमिकतामा राख्ने बित्तिकै आईटी शिक्षामा पनि सकारात्मक नतिजा आउँछ जस्तो मलाई लाग्छ ।

तपाईंहरुले नेपालमा विदेशी विश्वविद्यालयको पाठ्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । सरकारी क्षेत्रबाट कत्तिको साथ, सहयाेग पाउनुभएको छ ?
सरकारले निजी शिक्षा क्षेत्र, विशेषगरी उच्च शिक्षा त्यसमाथि पनि विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजलाई लाइसेन्स दिनुबाहेक अन्य उल्लेख्य काम गरेजस्तो लाग्दैन । विदेशी विश्वविद्यालयसँग पाठ्यक्रम सञ्चालनका लागि सम्झौता गरेपनि नेपाल सरकार शिक्षा मन्त्रालयले अनुमति दिन लामो समय झुलाउँछ । सरकारले ढिला गरी निर्णय लिँदा हामीलाई अनावश्यक बोझ हुन्छ ।

अन्य कुरामा पनि सरकारी प्रक्रिया र उहाँहरुको काम गर्ने शैलीले हामीजस्तो विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थालाई अप्ठ्यारो पारिरहेको छ ।

नेपालमा सकेसम्म विदेशी विश्वविद्यालयको सम्बन्धनलाई अनुमति नदिने, दिएपनि एकदमै झन्झटिलो र सीमितता थोपरिदिने प्रवृत्ति छ । उहाँहरुले अनुमतिका लागि मापदण्ड त बनाउनुभएको छ, तर मापदण्ड पूरा गर्ने शैक्षिक संस्थालाई पनि झुलाएर राख्नुहुन्छ । मापदण्ड पूरा भए अरु प्रक्रियामा पनि छरितो हुनुपर्‍याे ।

विदेशी कार्यक्रमका सवालमा अरु कुरामा पनि राज्यको सहयोग देख्दिनँ । यसका बावजुद पनि हामीले देशमा क्वालिफइड मेनपावर उत्पादन गरिरहेका छौं ।

विदेशी पाठ्यक्रमलाई पनि स्वदेशी पाठ्यक्रम सरह किन समान व्यवहार नभएको होला ?
यो कुरामा समस्या अरुमा देख्दिनँ । उहाँहरुलाई विदेशी विश्वविद्यालय र पाठ्यक्रमप्रति अविश्वास छ । सरलाई विश्वास दिलाउन नसक्नुमा हाम्रो पनि कमजोरी होला । नेपालमा विदेशी पाठ्यक्रम सञ्चालनको अनुमति दिँदा साँच्चिकै प्रभावकारी हुन्छ/हुन्न, वास्तविक डिग्री आउँछ/आउँदैन, पढाइ राम्रोसँग हुन्छ कि हुँदैन लगायतका विषयमा सरकार विश्वस्त हुन सकेको छैन ।

तर हामी यो कुरामा क्लियर छौं । हामील प्रमाणित गरेरै देखाइदिएका छौं । सरकारले हाम्रो डेटा हेरोस् । हामीले उत्पादन गरेको जनशक्तिलाई हेरोस् । पढाउने शैली मूल्याकंन गरोस् । हाम्रो कलेजको योगदान के छ, रोजगार दर कस्तो छ आदिबारे अध्ययन गरोस् ।

अर्को महत्त्वपूर्ण कुरा त विदेशी विख्यात डिग्री नेपालमै उपलब्ध गराएका छौं । यसले विद्यार्थी विदेशिनुपर्ने बाध्यताको अन्त्य भएको छ । लाखौं करोडौं रुपैयाँ नेपालमै बसेको छ । यसको हिसाब सम्बन्धित निकायले नगरेको हो कि ? दुई पक्षबीच नै विश्वासको वातावरण बन्न सके यो चुनौती आउँदैनथ्यो कि जस्तो लाग्छ ।

अन्तर्राष्ट्रिय डिग्री लिने अधिकांश विद्यार्थी अन्ततः बाहिरै जाने प्रवृत्ति छ । यसरी जनशक्ति पलायको समस्याले देशको आईटी क्षेत्र झन् खस्किँदैन ?
पहिलो कुरा त के बुझ्नुपर्‍याे भने यो संसार ‘ग्लोबल भिलेज’ बनिसकेको छ । आईटी पढेको जनशक्तिको कार्यक्षेत्र कता भन्ने निश्चित हुँदैन । उ संसारको जुनसुकै बजारमा गएर काम गर्नसक्छ । अन्य क्षेत्रसँग यसकारण आईटीलाई तुलना गर्न मिल्दैन ।

अर्को महत्वपूर्ण कुरा के भने हामीले सञ्चालन गरिरहेको पाठ्यक्रम अन्तर्राष्ट्रिय बजारको माग र आवश्यकतालाई हेरेर बनाइएको छ । कुनै सीमित ठाउँ परिवेशलाई मात्र सम्बोधन नगरी विश्वव्यापी प्रविधिको बजार, यसको भविष्यलाई आधार बनाई पाठ्यक्रम अपडेट भइरहन्छ ।

यसकारण प्रविधि विकासको रफ्तारलाई स्वीकार गर्ने देशले हेर्ने भनेको पाठ्यक्रम नै यही हो जस्तो लाग्छ । जस्ताे ड्राइभरलेस कार अमेरिकामा लिगल भइसकेको छ, सडकमा कुदिरहेको छ । त्यहाँ अब यो प्रविधि सामान्य बन्न थालिसकेको छ ।

केही वर्षअघि नेपालमा पनि ड्रोन अचम्मको कुरा थियो । अहिले साधारण बनेको छ । हामीले पनि विस्तारै प्रविधि एडप्ट गर्दैछौं । यसकारण प्रविधिको बजार सीमित हुँदैन ।

यहाँ उत्पादन हुने जनशक्ति नेपालमा मात्रै होइन, जहाँसुकै बिक्नसक्छन् । बरू नेपालमा हामीले विदेशी लगानी भित्र्याएर यहाँ उत्पादित जनशक्तिलाई अवसर दिए को बाहिर जाला र ? विदेश त घुम्न वा केही सिक्नमात्रै जान पनि सकिन्छ ।

यसकारण स्वदेशमा कसरी अवसरहरु निर्माण गर्न सकिन्छ र बौद्धिक पलायन रोक्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरु चिन्तित हुनुपर्ने बेला आएको छ ।

नेपालमा सञ्चालित विदेशी शैक्षिक पाठ्यक्रम पढ्न निकै महँगो शुल्क चाहिन्छ भनिन्छ नि ?
यो दृष्टिकोणको कुरा हो । कतिपय कुरामा पाठ्यक्रमप्रतिको बुझाइमा समस्या देखिन्छ । अध्ययन गरी समग्रमा हेर्दा हाम्रा कोर्ष महँगो लाग्दैन । जस्तो नेपालमा त्रिभुवन विश्वविद्यायलयले ल्याएको बीएससी सीएसआईटी कोर्ष पढ्न न्यूनतम सातदेखि ११ लाख लाग्छ । केही सरकारी कलेजले अझ थोरैमा पढाउलान् ।

यता नेपालमा विदेशी पाठ्यक्रमका लागि आठदेखि २० लाखसम्म लिने कलेज छन् । यहाँ ओभरल्यापको ठाउँ देखिएको छ ।

सरकारको प्रत्यक्ष सहयोग वा अनुदान पाएका कलेजसँग तुलना गर्नुहुन्छ भने बेग्लै कुरा हो । त्यो हिसाबले विदेशी डिग्री महँगो लाग्छ । तर आफूले इच्छाएको कोर्षका लागि केही अतिरिक्त शुल्क तिर्न तयार हुने विद्यार्थी र अभिभावकका लागि अरु विकल्प के त ?

विदेशमा यही डिग्री लिन परे कति रकम खर्च होला ? हामीले स्वदेशी अन्य कोर्ष बराबरकै शुल्कमा विश्वविख्यात डिग्री उपलब्ध गराइरहेका छौं ।

अहिले सफ्टवेरिका कलेजले ११ लाखको हारहारीमा विद्यर्थाीलाई पढाइरहेको छ । जबकि बेलायतमा गएर पढे १० हजारदेखि ११ हजार पाउन्डसम्म पढाइकै लागि बुझाउनुपर्छ । यसर्थ त्यहाँ साढे ४ गुणा महँगो शुल्क छ । पढाइ शुल्कबाहेक अरु खर्च पनि महँगो छ । पढ्दै काम गरे यसले पढाइमा पनि असर पुग्ने भयो ।

यसर्थ नेपालमै उपलब्ध हुने यस्ता कोर्ष सस्तो त छ नै, घरपरिवारमै बसेर पढ्न पनि पाइने भयो ।

तपाईंहरुको प्रतिस्पर्धी को हो ?
हामी गुणस्तरलाई प्रतिस्पर्धा मान्छौं । हामी यो वा त्यो कलेजलाई प्रतिस्पर्धी सोच्दैनौं । अहिले विदेशी पाठ्यक्रम सञ्चालन गर्ने अरु कलेज पनि छन् । हामीले कसैलाई प्रतिस्प्पर्धी मानेका छैनौं ।

कलेजको प्रडक्ट (विद्यार्थी) कोही पनि बेरोजगार हुनुहुँदैन भन्ने कुरा हाम्रो बेन्चमार्क हो । जुन कुरा हामीले प्रमाणित नै गरेर देखाएका छौं ।

आजका दिनमा कोही ग्र्याजुएटहरु बेरोजगार भएर बस्नुपरेको छैन । यसकारण गुणस्तरीय शिक्षा दिने स्वदेशी कलेज होस् वा विदेशी सम्बन्धनप्राप्त कलेज, हाम्रा लागि प्रतिस्पर्धी हुन् ।

गुणस्तरीय शिक्षाको प्रसंग चलिरहे पनि विश्वविद्यालय/कलेजले उत्पादन गर्ने जनशक्ति एकातिर र बजारको माग अर्कोतिर भयो भनिन्छ । यसले गर्दा बजारले योग्य जनशक्ति नपाउने र उता ग्र्याजुएट्स बेरोजगार हुने समस्या देखिन्छ । यो अवस्थाको समाधानमा के गर्न सकिएला ?
बाहिर यही प्रवृत्ति देखिँदा नै हाम्रा कोर्ष पढ्न रुचाउने विद्यार्थीको संख्या बढ्दो छ । हाम्रो कोर्ष अपडेटेड हुन्छ । बजारको माग अनुसार कोर्षको डिजाइन गरिन्छ ।

हामीलाई विश्वविद्यायलले कोर्ष स्ट्रक्चरलाई लोकल मार्केटको माग अनुसार परिमार्जन गरी अध्यापन गर्ने अधिकार दिएको छ । जस्तो नेपालमा जाभा, पाइथन वा अन्य प्रोग्रामिङ लोकप्रिय छ भने हामीले कोर्षमा राख्न पाउँछौं, प्राेजेक्टमा समावेश गर्न सक्छौं । वास्तवमा विश्व र स्थानीय बजारको माग फरकफरक हुन्छ । हामी दुवै बजारको आवश्यकता अनुकूल पढाउँछौं । हाम्रा ग्रयाजुएटहरुले बजारमा चाँडै काम पाउने कारण पनि यही हो ।

सफ्टवेयरकाले हाल कस्ता कोर्ष ल्याइरहेको छ, कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?
हाल दुई कोर्ष सञ्चालन गरिरहेका छौं, बीएससी अनर्स कम्युटिङ र अर्को बीएससी अनर्स साइबर सेक्युरिटी एन्ड इथिकल ह्याकिङ । हामीले यी कोर्ष सन् २०१८ देखि कोभेन्ट्री विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालनमा ल्याएका हौं ।

यसअघि हामीले एनसीसी एजुकेसनसँग लेभल फोर, लेभल फाइभ र युनिभर्सिटी अफ सेन्टर ल्यानकेसायरसँग लेभल सिक्सका लागि सहकार्य गरेका थियौं । यसरी हेर्दा सफ्टवेरिका कलेजले १० ११ वर्ष बढी आईटी शिक्षामा समय लगानी गरिसकेको छ ।

कोभेन्ट्री विश्वविद्यालयसँग थप दुई कोर्षका लागि सम्झौतासमेत भइसकेको छ । हामीले मास्टर्स इन डेटा साइन्स एन्ड कम्प्युटेसनल इन्टेलिजेन्स र ब्याचर्लस इन डेटा साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स कोर्ष ल्याउन लागेका हौं । तर शिक्षा मन्त्रालयमा अनुमति प्रदान गरिसकेको छैन ।

हामीलाइ खबर आएअनुसार उहाँहरूले चाँडै नै अनुमति दिनुहुनेछ । सबै कुराको तालमेल भए आउँदो दशैंपछि यी कोर्ष सुरू गर्ने योजना छ । हालसम्म कलेजबाट पाँच हजार बढी ग्र्याजुएट भइसकेका छन् ।

तपाईंको कस्ता विद्यार्थीले हाम्रा कोर्ष पढ्न पाउँछन् भन्ने प्रश्न पनि गर्नुभएको थियो । हाम्रो आईटी डिग्री पढ्न उच्च मावि तह (प्लस टु) मा जुनसुकै संकायबाट कम्तीमा ५० प्रतिशत ल्याई उत्तीर्ण गरेका विद्यार्थले पढ्न पाउँछन् ।

यसमा सानो रिक्वायरमेन्टका रुपमा हामीले विद्यार्थीको इंगिलस टेस्ट गर्छौं । तर यो टेस्टमा फेल भएर पढ्न नपाएका विद्यार्थी अहिलेसम्म छैनन् । मुख्य कुरा त विद्यार्थीको लगाव केमा छ भन्ने कुराले हाम्रो डिग्री पढ्ने कुराको पहिचान गर्छ ।

विद्यार्थीले तयार पारेका इनोभेटिभ प्रोजेक्टलाई वास्तविक उत्पादनमा रुपान्तरण गर्न के गर्न सकिएला ?
कलेजमा हाम्रो रिसर्च सेन्टर छ । विद्यार्थीले आफ्नो ज्ञान र सीपअनुसार परियोजनाको खोज र अध्ययन गर्दै प्रोजेक्ट तयार पार्न सक्छन् । हामीले वर्षेनि एक्स्पो आयोजना गरी विद्यार्थीका प्रतिभा देखाइरहेका पनि छौं । हालै सम्पन्न क्यान इन्फोटेकमा पनि अटोनोमस भेहिकलदेखि स्मार्ट ह्विलचयरसम्म प्रदर्शनीमा राखेका थियौं ।

यो सबै गर्नुको कारण विद्यार्थीलाई प्रोत्साहन गर्नु हो । उनीहरुलाई अगाडि बढ्न सहयोग गर्नु हो । विद्यार्थीले आफ्नै हातबाट रोबोट बनाउने, गाडी बनाउने, त्यसमा सफ्टवेयर राख्ने, अनि आफैले बनाएका गाडीमा चढ्ने, यो कुरा धेरैका लागि कल्पना हुनसक्छ । हामीले विद्यार्थीलाई सिकेका कुरा प्रोजेक्टमा उतार्न सहयोग गरिरहेका छौं ।

विद्यार्थीका हरेक रिसर्चमा कोभेन्ट्री विश्वविद्यालयको पनि सहकार्य रहेको छ । उनीहरूका प्रतिभालाई वास्तविक उत्पादनमा उतार्न हामीले केही कम्पनीसँग कुरा नगरेको होइन । राष्ट्रिय आविष्कार केन्द्रसँग कुरा गरिरहेका छौं । अरुसँग निरन्तर सम्पर्कमा छौं ।

तर एउटा कुरा के हो भने हाम्रो एक्सपर्टिज बजारमा प्रडक्ट लग्ने होइन । हामीसँग त्यो अनुभव पनि छैन । हामीले प्रोटोटाइप निर्माण गर्न सहयोग गर्ने हो । तर रिफाइन गर्ने, मार्केटिङ गर्ने, मास प्रडक्सनमा लैजाने, त्यसको कस्टिङ गर्ने कुरा हाम्रो एक्सपर्टिजभित्र पर्दैन ।

यसका लागि सरकारी निकायबाट छुट्टै इनिसिएसन हुन जरुरी छ । विद्यार्थीका प्रोजेक्टलाई त्यहाँ लगेर विज्ञबाट जाँच गर्ने र थप प्रक्रियाका लागि सहयोग गर्ने हात चाहिएको छ । आशा गरौं, भोलिका दिनमा सुखद समाचार पनि आउला ।

आईटी शिक्षाको कुरा गरिरहँदा एकेडेमिया र इन्डस्ट्रीबीचको ग्यापलाई लिएर बारम्बार बहस भइरहन्छ । यसको समाधानमा के गर्न सकिएला ?
मैले यो विषयमा हरेक फोरममा कुरा राख्दै आएको छु । वास्तवमा एकेडेमिया र इन्डस्ट्रीबीच सधैं ग्याप हुन्छ । यो स्वाभाविकै हो । शिक्षण संस्थाले उत्पादन गरेका जनशक्तिले सिधै कम्पनीमा गएर काम गर्नसक्छ भन्ने कतै हुँदैन । हाम्रो काम भनेको विद्यार्थीलाई फन्डामेन्टल नलेज (आधारत ज्ञान) दिने हो । त्यो अवधारणामा ग्रुम गराउने काम त कम्पनीकै हो ।

कम्पनीमा जाने बित्तिकै झ्यामझ्याम काम गर्नुपर्छ भन्ने कुरा मुर्खातामात्रै हो । हामीले त्यस विषयमा रिलेभेन्ट नलेज दिन्छौं । अधिकतम प्राक्टिस गराउँछौं । हामीले सिक्नेसम्मको बनाउने हो ।

जुनैपनि कम्पनीमा काम गरेपनि उसले सुरुवाती चरणमा काम सिक्नैपर्छ, कम्पनी र बजारको प्रकृति अनुसार परिणाम ल्याउन केही समय लाग्छ । यसर्थ इन्डस्ट्रीले चाहेजस्तो निपुण कर्मचारी तत्काल तयार हुने होइन ।

यो क्षेत्रको सवलीकरणमा देखिएका अन्य चुनौतीलाई सारमा कसरी प्रस्तुत गर्नुहुन्छ ?
हामीलाई मुख्य कुरा पढाउन दक्ष जनशक्तिको अभाव खड्किरहन्छ । विश्वस्तरीय पाठ्यक्रम र त्यसअनुसार आवश्यकता पूरा गर्न सोही स्तरको फ्याकल्टी चाहिन्छ ।

पढेको फ्याकल्टीमात्रै भएर पुग्दैन, रियल टाइम इन्डस्ट्री बुझेको, प्रोजेक्ट म्यानेज गरेको र आफूले जानेको कुरा व्यवहारिक रुपमा सिकाउनसक्ने शिक्षक चाहिन्छ । सबै कुरा जानेको मान्छे पाउन गार्हो छ । थोरैमात्र मान्छे भएकाले सबै कलेजमा तानातान भइरहेको छ ।

अर्को कुरा नेपाली समाजमा शिक्षकलाई राम्रो नजरले नहेर्दा पनि असर पुगिरहेको जस्तो लाग्छ । शिक्षण पेसालाई सम्मान नगर्ने तर उही शिक्षकबाट फल खोज्ने परिपाटी छ । सामाजिक र मानिसक रुपमा स्वस्थ शिक्षकले मात्र विद्यार्थीको भविष्य कोर्नसक्छ । त्यस्तै कतिपय शिक्षक बाध्यताले यो क्षेत्रमा आउने गरेका छन् ।

मन नलगानी लगानी पढाउँदा उसले रिजल्ट राम्रो दिन सक्दैन । यस्तै कारण देखेर हामीले शिक्षण पेसालाई पनि ग्ल्यालमरस बनाउन खोजिरहेका छौं । यसका लागि सफ्टटेक ग्रुपमार्फत केही रचनात्मक काम पनि भइरहेको छ ।

अर्को चुनौतीको कुरा गर्दा निजी कलेजलाई राजनीतिक दल र कार्यकर्ताहरुले चन्दाताका रुपमा बुझ्छन् । अनि मिडिया र सार्वजनिक फोरममा शैक्षिक माफिया भन्दै प्रचार गरिदिन्छन् । तर हाम्रो अवस्था बुझ्न खोज्दैनन् ।

हामीले के पढाइरहेका छौं, कसरी पढाइरहेका छौं, कस्तो सुविधा छ, विद्यार्थीबाट लिएको शुल्क के के मा खर्च गरेका छौं भन्ने कुराको हेक्का कसैले राख्दैनन् ।

आईटी पढ्न चाहनेका लागि तपाईंको टिप्स ?
सूचना प्रविधि विषय अहिले बृहत् बन्दैछ । यसभित्र अनेक शाखा उपशाखा जोडिएका छन् । यही कारण अहिले स्पेसलाइज्ड कोर्ष जन्मिरहेका छन् । कसैलाई सेक्युरिटीमा रुचि हुनसक्छ ।

कम्प्युटर कसरी सुरक्षित राख्ने, इन्टरनेटलाई कसरी सुरिक्षत राख्ने, बैंकिङ सुरक्षा कसरी गर्ने लगायतका विषयमा तपाईंको रुचि छ, इन्भेस्टिगेटिभ माइन्ड छ भने इथिकल ह्याकिङ पढ्न सक्नुहुन्छ ।

लजिकसँग खेल्न सक्ने माइन्ड छ भने कम्प्युटिङ, प्रोग्रामिङ पढ्न सक्नुहुन्छ ।

कुनै कुराको परीक्षण गर्न, कमजोरी पत्ता लगाउन इच्छुकका लागि क्वालिटी एनालिस्ट बन्ने बाटो छ । अरू स्पेसलाइज्ड कोर्ष पनि छन्, आफूलाई केमा रूचि छ, त्यो पढ्न सकिन्छ ।

अन्त्यमा, टेकपानामार्फत केही सन्देश दिन चाहनुहुन्छ कि ?
मेरो सन्देश विशेषगरी युवाहरुका लागि छ । अहिले टेक्नोलोजी एजुकेसन यति महत्त्वपूर्ण भइसकेको छ कि, योबिना कुनै पनि क्षेत्रमा जागिर पाउन अथवा वा धेरै परसम्म पुग्न मुस्किल परिरहेको छ । आधुनिक रुपले समाज अघि बढ्न आईटी शिक्षा अनिवार्य भइसकेको छ ।

म हाम्रै कलेजमा पढ्नुपर्छ, आईटी नै पढ्नुपर्छ भन्दिनँ । जेसुकै पढेपनि प्रविधिसँग साथसाथै हिँड्नुहोस्, यसमा अभ्यस्त हुनुहोस् । प्रविधि प्रयोग गरेर आफ्नो टोल छिमेक, समुदाय कसरी सुधार्न सकिन्छ, त्यसतर्फ लाग्नुहोस् भन्न चाहन्छु ।

प्रस्तुति: शिव बस्नेत

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२