close

आउँदो आइतबार विद्युतीय कार सार्वजनिक गर्दै सीजी मोटर्स, सिंगल चार्जमा ४०१ किमि गुड्ने

टेकपाना टेकपाना

जेठ १७, २०७९ १७:१२

आउँदो आइतबार विद्युतीय कार सार्वजनिक गर्दै सीजी मोटर्स, सिंगल चार्जमा ४०१ किमि गुड्ने

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपाली बजारमा विद्युतीय कार ‘नेटा भी’ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आउँदो जुन ५ आइतबार विश्व वातावरण दिवसको अवसर पारी याे कार सार्वजनिक गर्न लागेको हाे ।

चीनको जिजियाङ प्रान्तमा रहेको होजन अटो न्यू इनर्जी भेहिकल कम्पनीबाट सीजीले याे कार नेपाल भित्र्याएको हाे । सीजी माेटर्सले दिएकाे जानकारी अनुसार ४०७० एमएम लम्बाइ, १६९० एमएम चौडाइ र १५४० एमएम उचाइ रहेको यो कारको ह्वीलवेस २४२० एमएम रहेको छ ।

त्यस्तै, यसको ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ । टेस्लाको जस्तै डिजाइन भएको यो कार आकर्षक र बोल्ड देखिन्छ ।

यो कारमा की-लेस इन्ट्री सिस्टम, रियर भ्यु क्यामेरा, ‘टीपीएमएस’ (टायर प्रेसर मनिटरिङ सिस्टम), ‘एबीएस’ (एन्टी-लक ब्रेकिङ सिस्टम), हिल स्टार्ट असिस्ट, ड्राइभर/ प्यासेन्जर एयरब्याग आदि जस्ता सुरक्षाका फिचर उपलब्ध छन् ।

कारको दुवै छेउमा चार्जिङ पोर्ट राखिएको छ भने त्यसको एक भागमा स्लो चार्जिङ पोर्ट र अर्को भागमा फास्ट चार्जिङ पोर्ट दिइएको छ ।

यो कारलाई चार्ज गर्न स्लो चार्जरबाट १२ घण्टा लाग्छ । फास्ट चार्जरबाट भने ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

नेपाल आउने कारमा दुई ओटा फरक मोटर र ब्याट्री प्याकको विकल्प दिइएको सीजी माेटर्सका सेल्स डिरेक्टर दीपक थापाले जानकारी दिए ।

स्टान्डर्ड भेरियन्टमा ३१.१८ किलोवाट आवरको ब्याट्रीसँगै ४० किलोवाटको मोटर जडान गरिएको छ । यसले फुल चार्जमा ३०१ किलोमिटर रेन्ज प्रदान गर्छ ।

त्यसैगरी, यसको लङ रेन्ज मोडलमा ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक र ५५ किलोवाटको मोटर जडान गरिएको छ । यसले फुल चार्जमा ४०१ किलोमिटर रेन्ज प्रदान गर्दछ ।

नेटा भीको मूल्य करिब ३८ लाख रुपैयाँबाट सुरू हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४