close

नेपालमा कति हुन्छ ग्राफिक डिजाइनरको कमाई ? 

टेकपाना टेकपाना

जेठ २५, २०७९ १९:१६

नेपालमा कति हुन्छ ग्राफिक डिजाइनरको कमाई ? 

सामान्यता ग्राफिक डिजाइनिङ, मल्टिमिडिया, आईटी जस्ता तालिम दिने संस्थाहरूले कलेजमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दछन् । तर लक्षित समूहमा विद्यार्थी पर्ने भएपनि त्यसभन्दा बाहिरबाट पनि कोको हुनसक्छन्, त्यसतर्फ सोच्न आवश्यक छ ।

वृद्ध, युवा र स्कुल कलेजमा अध्ययनरत विद्यार्थीहरूले केके गर्छन् भनेर खोज्दै गर्दा मैले ठूलो सङ्ख्यामा रहेका युवाहरूको समूह भेटेको छु । त्यो समूहमा रहेका युवाहरूलाई आफूले डिजाइनिङ पढिसकेको छ भने म जागिर खान सक्छु भन्ने विश्वास भएको देखिन्छ ।

कतिपयले साना संस्थामा तालिम लिनेदेखि युट्युब, सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट स्वअध्ययन गरेर डिजाइन बारे ज्ञान लिइरहेको देखिन्छ । उनीहरूसँग केही हदसम्म ज्ञान त हुन्छ, तर जागिर नपाएर कतै न कतै भौँतारिरहेको अवस्था पनि छ । 

हामी जब प्रोडक्सन युनिटमा जान्छौँ, प्रोडक्सन कम्पनीहरूले कसरी नियुक्ति गर्छन् र उनीहरूकोमा दैनिक केके काम गर्नुपर्छ भन्ने हेर्ने हो भने काम सिक्ने विद्यार्थीहरूले सिकेका कुराहरूमा धेरै फरक पाउँछन् । आफैँ वा अध्ययन गर्ने/सिक्ने जतिपनि छन्, त्यो जनशक्ति पर्याप्त नभएको देखिन्छ ।

अझै पनि ठूलो सङ्ख्यामा रहेका युवाहरूलाई रोजगारीको खाँचो छ । तर आवश्यक सीप भएका व्यक्ति छन् भने उनीहरू कहिँकतै संलग्न भइसकेका हुन्छन् ।

पूर्णरूपमा केही थाहा नभएका, भर्खरै केही गर्छु भनेर सुरुवात गरेका, एसईई अथवा प्लस टु पढ्ने विद्यार्थी आफ्नो ठाउँमा छ । तर जो जानेको छु भन्नेहरू छन्, उनीहरूमा पनि सीपको विकास पर्याप्त भएको देखिँदैन ।

यदि त्यसलाई जोड्न सकियो भने पर्याप्त काम गर्ने ठाउँ छ । यो क्षेत्रमा सिक्ने र सिकाउने धेरै विकल्पहरू छन् । डिजाइनिङ सिकिरहेको सङ्ख्या पनि धेरै छ । तर माग पनि बराबर बढ्दै गएको देखिन्छ । 

अहिले कुनै कुनै रोजगारदाताले सात आठ जना डिजाइनर माग गरिरहेका हुन्छन् । तर मसँग १५/२० ओटा कम्पनीले त्यही सङ्ख्यामा ग्राफिक डिजाइनर मागे भने त्यो जनशक्ति हामी एक्लैले उत्पादन गर्न सक्ने अवस्था छैन ।

किनभने यो आजको भोलि तयार हुने कुरा पनि होइन । तर सबैको तालमेल मिलाउने हो भने आपूर्ति र मागलाई सन्तुलनमा राख्न सकिन्छ । मल्टिमिडिया क्षेत्रमा जनशक्ति मागको सुरुवात डिजाइनरदेखि नै हुन्छ ।

किनकि एनिमेसनमा पुग्नका लागि डिजाइनबाटै जानुपर्छ । आजको दैनिकीमा ससानो कामका लागि विद्यालय होस्, एउटा ट्राभल एण्ड टुर्स होस्, र पछिल्लो समयमा आएर चुनाबमा प्रचारप्रसारमा पनि डिजाइनरको पनि माग हुन थालेको छ ।

उदाहरणको लागि चुनाबको बेला मलाई एउटा डिजाइनर चाहियो भनेर कल आएको थियो । त्यो डिजाइनरलाई खान बस्न दिने व्यवस्था सहित उपत्यका बाहिर चुनाब प्रचार प्रसारमा लिएर जाने कुरा थियो । भनेको रकम पनि दिने कुरा भएको थियो । 

डिजाइनले कुनै पनि डिजाइन, उत्पादन, ब्रान्ड जस्ता ससानो कुरा मार्फत विश्वास आर्जन गर्दछ । पछिल्लो समयमा जुन तरिकाले डिजिटलाइजेसन भइरहेको छ, नेपालमा त्यो सबै कुरामा सामाजिक सञ्जालको माध्यमबाट जानुपर्ने हुन्छ ।

बजारमा जति पनि व्यवसायहरू छन्, ती सबै केही हदसम्म सचेत भइसकेका छन् । पछिल्लो समयमा सामाजिक सञ्जाल ग्राहकसम्म पुग्ने सजिलो माध्यम बनेको छ । आफू भौतिकरूपमा उपस्थित भएर समय खर्च गर्नुको साटो थोरै लगानीमा घर बसेरै आफ्नो ब्रान्डलाई सजिलै बजारमा लैजाने सकिन्छ । 

त्यसमा डिजाइनरको एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ । आजको दिनमा बजारको माग अनुसार डिजाइनरको पूर्ति हुन सकिरहेको छैन । यो क्षेत्रमा आम्दानी पनि राम्रै छ ।

तर हामीले बुझ्नुपर्ने कुरा के छ भने आम्दानी तपाईँ कुन वातावरणमा हुनुहुन्छ भन्ने कुराले पनि फरक पार्छ । सानो वातावरणमा हुनुहुन्छ भने सुरुवातमा राम्रै तलब लिनपनि सक्नुहुन्छ । तर त्यस्तो ठाउँमा तपाईँको वृत्ति विकास हुन हुन भने केहीसमय लाग्नसक्छ ।

अहिलेको युवाहरू यति धेरै सचेत भएका छन् कि आजको दिनमा तपाईँसँग ग्राफिक डिजाइनिङको सीप छ भने मासिक १०/१५ हजारका लागि जागिर खाइरहनु पर्दैन । त्यसैले अहिलेको समयमा तपाईँसँग जस्तोसुकै सीप भएपनि १०/१५ हजारको कमाइ गर्न गाह्रो छैन ।

अब ठूलो एजेन्सीमा जाने हो भने त्यसले त्यहाँ तपाईँले आफूसँग भएको सीप र क्षमतालाइ अभिवृद्धि गर्ने मौका पाउनु हुन्छ । यदि तपाईँ जुनियर डिजाइनर हुनुहुन्छ भने कुनै राम्रो संस्थामा जाँदा सुरुवाती पारिश्रमिक नै २५ हजार रुपैयाँ हुनसक्छ । सिनियर डिजाइनरको हकमा भने ९५ हजार रुपैयाँसम्मको पारिश्रमिक हुने गरेको छ । 

सिनियर डिजाइनभन्दा माथिल्लो तह जस्तै, आर्ट डिरेक्टर, क्रिएटिभ डिरेक्टर हुने गर्दछन् । उनीहरूको आम्दानी यो भन्दा पनि धेरै हुने गर्दछ । रोजगारको लागि माग अधिकतम हुने गरेका ठाउँमा पर्याप्त रुपमा प्लेसमेन्ट नहुनुको मुख्य कारण भनेकै आपसमा जोड्ने सेतुको अभाव हो ।

अर्को कुरा, आवश्यक सीपको कमीले गर्दा समेत रोजगारदाताले जनशक्ति नपाउने र बेरोजगारले रोजगारी नपाउने अवस्था हुने गर्दछ । स्कुल, कलेजका विद्यार्थीको हकमा एउटा तरिकाबाट शिक्षण सिकाइ हुने गरेको छ । यस बाहेक डिजाइनको तालिम दिने संस्थाहरू पनि छन् ।

जहाँ तालिममा मात्र सीमित भएर प्राविधिक कुरामा मात्र केन्द्रित भएको देखिन्छ । जसको नतिजास्वरूप सीपमा समस्या आउने र पोर्टफोलियो निर्माणमा पनि प्रभाव पर्ने गरेको देखिन्छ । पोर्टफोलियो राम्रोसँग व्यवस्थापन नहुँदा नियुक्तमा पनि कठिनाइ हुनसक्छ । 

त्यसैले, यो क्षेत्रमा काम गर्नका लागि बजारमा माग र जनशक्ति दुवै धेरै भए पनि त्यो एक अर्कासँग जोडिन सकेको छैन । साथै तालिम दिने संस्थाहरूमा विद्यार्थीहरूले सस्तो खोज्ने भएकाले संस्थाहरूमा पनि सस्तै दिनुपर्छ भन्ने बुझाई छ  ।

यसले गर्दा नेपालमा व्यवसायिक क्षेत्र नै पछाडि धकेलिएको देखिन्छ । यस्ता तालिम दिने संस्थाहरू रोजगारी र कामलाई जोड्ने भूमिकामा असफल हुने गरेका छन् ।

पछिल्लो समयमा धेरै संस्थाहरूले ग्यारेन्टीका साथ रोजगारीको व्यवस्था गरिन्छ भने पनि त्यो भनेको उत्कृष्ट हुनेहरूका लागि मात्र हुन्छ । तर कुनै विद्यार्थी आफैँ तीव्र इच्छा बोकेर आउँछ भने उसले आफ्नै मेहनतले सफलता तय गर्न सक्छ ।

यद्यपि त्यस्तो विद्यार्थीले सिक्न चाहेको कुरा सिकाइएको छ कि छैन, कुन तरिकाबाट उसलाई दक्ष बनाइएको छ, त्यसको प्रभाव महत्त्वपूर्ण हुन्छ । किनकि डिजाइन भनेको रचनाको एउटा हिस्सा हो । यसैबाट एनिमेसनसँगै फिल्म बनाउनेसम्मको काम हुने गर्दछ ।

ग्राफिक डिजाइन त्यसको एउटा सुरुवाती विन्दु हो । त्यसैले यसलाई बेवास्ता गर्न मिल्दैन । पछि प्राविधिक भागमा कुनै कुरालाई छोड्न सकिन्छ । यति गर्ने हो भने भोलिको दिनमा जुनसुकै क्षेत्रमा पनि जान सकिन्छ ।

यदि केही विद्यार्थी पढ्न वा केही गर्न चाहन्छ भने कुनै पनि तालिम प्रदायक संस्थाले एउटा अभिभावकको जिम्मेवारी बहन गर्दै उसलाई मार्गनिर्देशन गर्न सक्नुपर्छ । यसो हुन सके नेटवर्क पनि राम्रो बन्छ र बजारको अवस्था तथा आवश्यकता पनि थाहा पाउन सकिन्छ ।

त्यसैले तालिम प्रदायक संस्थाले यस्ता कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । यसो भएमा विद्यार्थीहरू रोजगार खोज्दै जब पोर्टल चहार्नु पर्ने बाध्यता पनि हुँदैन । पछिल्लो समयमा फ्रिल्यान्सरको रूपमा काम गर्ने प्रचलन पनि छ ।

जसमा क्लाइन्टले आफूले चाहेको कामबारे स्पष्ट पारिदिएको हुन्छ र त्यसै अनुसार भिडिओ, टिकटक वा अन्य कुनै डिजाइनका लागि समय स‍ीमा तोकिएको हुन्छ । तर यस्तोमा उनीहरूको ध्यान मात्रामा मात्रै हुने र गुणस्तरलाई बेवास्ता गर्ने प्रवृत्ति पनि छ ।

केही क्लाइन्टहरू सङ्ख्यामा धेरै, छिटो र सस्तो कामको अपेक्षा राख्ने गरेको देखिन्छ । तर उनीहरूले भोलिको दिनमा गुणस्तर नखोज्लान् भन्न सकिँदैन । त्यसैले अहिले देखिनै डिजाइनरले त्यसका लागि तयारी गर्न आवश्यक हुन्छ । 

ग्राफिक डिजाइनरहरूमा देखिने मुख्य समस्या भनेको प्राविधिक सीपभन्दा पनि डिजाइनबारेको रचनात्मक सोचको अभाव हो । डिजाइन कस्तो गर्ने, के गर्ने र कसरी गर्ने, यी सबै विषयमा केही फरक र नयाँ दृष्टिकोणबाट काम गर्ने क्षमता हुनुपर्छ ।

अनिमात्र एउटा उत्कृष्ट डिजाइन बन्छ । अन्तर्राष्ट्रिय अभ्यासको कुरा गर्ने हो भने अस्ट्रेलिया, अमेरिका जस्तो देशमा यूआई तथा यूएक्स डिजाइनबारे ज्ञान नहुने हो भने त्यहाँ डिजाइनर पदमा नियुक्ति दिन मान्दैनन् ।

यसमा प्राविधिक ज्ञानसँगै कतै न कतै अनुभव, मनोविज्ञान, भिजुअल कम्युनिकेसन, रचनात्मक सोच लगायतका कुराले पनि फरक पर्छ । यी विषयहरू तीनदेखि चार वर्षको अवधि लगाएर स्नातक तहको कोर्षको रूपमा नै पढाउनु पर्ने हुन्छ ।

तर नेपालको अवस्थामा भने छिटो पढ्ने र छिटै पैसा कमाउने चलन छ । ‘ड्रइङ अन दि राइट साइड अफ दि ब्रेन’ नामक एउटा किताब छ । त्यसले डिजाइनका लागि आवश्यक सोच निर्माणमा सहज गर्छ । साथै कम्पनीमा रहेका कर्मचारीलाई उनीहरूको दक्षता अभिवृद्धिका लागि व्यक्तिगत विकासदेखि धेरै कुरामा सहजीकरण गर्छ । 

नेपालको ग्राफिक डिजाइन  क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग तुलना गर्ने हो भने ठूलो अन्तर रहेको देखिन्छ । भारतीय बजारलाई यसको उदाहरणको रूपमा लिन सकिन्छ । भारतमा डिजाइनिङको क्षेत्र निकै नै अगाडि बढेको छ ।

डिजाइनका लागि आवश्यक सोच र धेरै जनसङ्ख्या भएका कारण रचनात्मक आइडिया आउने गर्दछन् । जनसङ्ख्या धेरै भएको आधारमा त्यहाँ चुनौती र प्रतिष्पर्धा पनि धेरै हुन्छ ।

थोरै लगानी र थोरै समयमा उत्कृष्ट गुणस्तरको डिजाइन निर्माण गर्न प्रतिष्पर्धा नै हुने गर्छ । त्यसैकारण, भारतीय बजारसँग हाम्रो तुलना पनि हुन सक्दैन । 

-नियोस्फेयरका सेन्टर हेड दीपेन्द्र ढकालसँगको कुराकानीमा आधारित

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६