close

यी व्यवसायीका लागि साउनदेखि ई-बिलिङ अनिवार्य

टेकपाना टेकपाना

जेठ २६, २०७९ १३:२२

यी व्यवसायीका लागि साउनदेखि ई-बिलिङ अनिवार्य

काठमाडौं । आन्तरिक राजस्व विभागले आगामी साउन १ देखि १० करोड बढीको कारोबार गर्ने करदाताका लागि अनिवार्य रुपमा विद्युतीय माध्यम (ई-बिलिङ वा कम्प्युटर बिलिङ) बाट बीजक जारी गर्नुपर्ने व्यवस्था ल्याएकाे छ ।

एक सूचना जारी गर्दै विभागले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १४ क. को उपदफा (२) तथा आयकर ऐन, २०५८ को दफा ८१ को उपदफा (४) बमोजिमका करदाताले अनिवार्य रुपमा विद्युतीय माध्यमबाट ई-बिलिङ जारी गर्नुपर्ने उल्लेख गरेको हो ।

यसअन्तर्गत आव २०७७/७८ वा २०७८/७९ को मूल्य अभिवृद्धि कर तथा आय विवरणमध्ये कुनै एक आवको कारोबार रकम रु. १० करोडभन्दा बढीको जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताले ई-बिलिङ जारी गर्नुपर्ने सूचनामा उल्लेख छ ।

तर कारोबारको प्रकृति अनुसार उपभोक्ता/ग्राहकलाई प्रत्यक्ष रुपमा बीजक जारी नगर्ने बैंक/वित्तीय संस्था लगायतका निकायको कारोबारको हकमा यो व्यवस्था लागू नहुने स्पष्ट पारिएकाे छ ।

बक्स अफिस प्रणालीमा आबद्ध भएका सम्पूर्ण सिनेमा हलहरु (काठमाडौँ उपत्यका बाहिरका समेत) का लागि पनि यो व्यवस्था अनिवार्य गरिएको छ ।

साथै विभागको मिति २०७५/११/२९ को सूचनामा तोकिएका अन्य करदाताले पनि अनिवार्य रुपमा विद्युतीय बीजक जारी गर्नुपर्ने प्रावधान निरन्तर रुपमा रहेको बताइएको छ ।

यसअन्तर्गत वार्षिक रु. पाँच करोडभन्दा बढीको होटल, रेष्टुरेण्ट तथा चमेना गृह र इन्टरनेट सेवा प्रदायकको कारोबार गरेका करदाताका लागि पनि यो व्यवस्था निरन्तर राखिएको छ ।

वार्षिक रु. १० करोडभन्दा बढीको कारोबार गरेका डिपार्टमेन्टल स्टोर, मार्ट र फ्लोरिङ्ग तथा फर्निशिङको कारोबार गरेका करदाताहरु र बक्स अफिस प्रणालीमा आवद्ध काठमाडौँ उपत्यकाभित्रको सिनेमा हलहरुका लागि यो व्यवस्था छ ।

सूचनामा तोकिएका करदाता बाहेक अन्य करदाताले अनुमति लिई स्वेच्छिक रुपमा विद्युतीय बीजक जारी गर्नसक्ने पनि विभागले जनाएको छ ।

‘यसअगाडि नै अनुमति लिई विद्युतीय बीजक जारी गरिरहेका करदाताहरुले पुनः अनुमति लिनुपर्ने छैन । विद्युतीय माध्यमबाट बीजक जारी गर्ने व्यक्तिले विभागमा सूचीकरण गरिएका विद्युतीय उपकरण तथा सफ्टवेयरहरु मात्र प्रयोग गर्नुपर्ने छ,’ सूचनामा भनिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६