close

अनलाइनमा जुत्ता किन्दा अब खुट्टामा लगाएर हेर्न मिल्ने

टेकपाना टेकपाना

जेठ २९, २०७९ १५:३५

अनलाइनमा जुत्ता किन्दा अब खुट्टामा लगाएर हेर्न मिल्ने

काठमाडौं । सामान्यतया अनलाइनमा जुत्ता खरिद गर्दा उपभोक्तामा हिच्किचाउने अथवा अर्डर गरेको जस्तो सामान पाइन्न भन्ने अवधारणा पाइन्छ । किनभने भौतिक रुपमा बजारमा जुत्ता खरिद गर्न जाँदा आफूलाई सुहाएको/नसुहाएको अथवा अटेको नअटेको हेरेर मात्र खरिद गर्ने गरिन्छ ।

तर अनलाइनमा यसरी आफ्नै खुट्टामा लगाएर जाँच गरी खरिद गरेको जस्तो हुँदैन । यद्यपि यो समस्यालाई अमेजनले सम्बोधन गरेको छ । अब अमेजनबाट जुत्ता खरिद गर्दा भर्चुअल रुपमा आफ्नै खुट्टामा ट्राइ अथवा आफूलाई अट्ने/नअट्ने चेकजाँच गरी खरिद गर्न पाइने भएको छ ।

अमेजनले हालै मात्र आफ्नो प्लेटफर्ममा अग्मेन्टेड रियालिटी (एआर) शपिङ टुल सार्वजनिक गरेको छ, जसको माध्यमबाट उपभोक्ता जुत्ता खरिद गर्दा आफ्नै खुट्टामा लाएर हेर्न सक्नेछन् । यो टुलले प्रयोगकर्ताको अनलाइन शपिङको अनुभवलाई थप बलियो बनाउने कम्पनीको विश्वास छ ।

‘भर्चुअल ट्राइ अन फर सुज’ (भर्चुअल रुपमा जुत्ता लगाइ हेर्नुहोस्) नामक यो फिचर हाललाई भने अमेरिका र क्यानडाका आईओएस प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । यो फिचर न्यू ब्यालेन्स, एडिडास, रिबक, पुमालगायत अन्य थुप्रै ब्रान्डका जुत्ताको भर्चुअल रुपमा उपलब्ध गराइएको छ ।

उपभोक्ताले आफूलाई मनपरेको जुत्तामा क्लिक गरी स्क्रिनमा उपलब्ध ‘भर्चुअल ट्राइ अन’ बटनमा क्लिक गरेर आफ्नो मोबाइलको क्यामेरा आफ्नो खुट्टामा देखाएपछि उक्त भर्चुअल जुत्ता आफ्नो खुट्टामा देखिन्छ ।

यसरी अनलाइनमा आफूलाई मन परेको जुत्ता आफ्नो खुट्टामा सुहाएको/नसुहाएको हेरेर खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६