close

११ महिनामै नेपाल भित्रिए ५ अर्ब मूल्यका १७ सय विद्युतीय गाडी

टेकपाना टेकपाना

असार ११, २०७९ ६:३५

११ महिनामै नेपाल भित्रिए ५ अर्ब मूल्यका १७ सय विद्युतीय गाडी

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपाली बजारमा एक हजार ७०४ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन् ।

भन्सार विभागले दिएकाे तथ्याङ्क अनुसार याे अवधिमा पाँच अर्ब पाँच करोड १६ लाख १३ हजार मूल्य बराबरका विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।

यसअन्तर्गत चीन, भारत, दक्षिण कोरिया, अमेरिका, फ्रान्स, जापान लगायत विभिन्न देशबाट विद्युतीय सवारीसाधन आयात हुने गरेको छ ।

नेपाल आयात हुने विद्युतीय कार, जिप, भ्यान लगायतका अन्य सवारीसाधनमा सबैभन्दा बढी चिनियाँ ब्रान्ड रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

पछिल्लो समय १०० किलोवाटदेखि अधिकतम ३०० किलोवाट मोटर क्षमताका कार, जिप र भ्यान नेपालमा आयात भएका छन् ।

विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १०० किलोवाटसम्मका सवारी चीन, फ्रान्स, भारत र कोरियाबाट दुई अर्ब ४० करोड ९४ लाख तीन हजार रुपैयाँ मूल्य बराबरका ८९५ युनिट गाडी भित्रिएका छन् ।

अमेरिकाबाट १०० देखि १५० किलोवाटसम्म मोटर क्षमताको तीन करोड ६७ लाख ७१ हजार रुपैयाँ बराबरको १३ युनिट विद्युतीय कार, जिप तथा भ्यान नेपाल भित्रिएको छ ।

त्यस्तै, चीनबाट १५० किलोवाटदेखि २०० किलोवाट मोटर क्षमताको एक अर्ब ९९ करोड २४ लाख ४१ हजार रुपैयाँ मूल्य बराबरको ६५६ युनिट सवारी आयात भएका छन् ।

तथ्यांक अनुसार एक सय किलोवाटदेखि २०० किलोवाट मोटर क्षमताको सवारी जापान, कोरिया र अमेरिकाबाट १३४ युनिट सवारी ५६ करोड ३१ लाख ३३ हजार मूल्यमा नेपाल भित्रिएको छ ।

अमेरिकाबाट २०० देखि ३०० किलोवाट मोटर क्षमताका चार वटा गाडी भित्रिएका छन् । ति गाडी दुई करोड ४१ लाख ८६ हजार रुपैयाँ बराबरका रहेका छन् ।

साथै, अमेरिकाबाट नै ३०० किलोवाटभन्दा बढी मोटर क्षमता भएका दुईवटा गाडी भित्रिएको विभागले जनाएको छ । विभागको तथ्यांक अनुसार दुई करोड ५६ लाख ७९ हजार मूल्यका रहेका छन् ।

आ.व. ०७७/७८को जेठ महिनासम्म २१३ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए भने सोही वर्ष (१२ महिना) मा कूल ६५ करोड ७८ लाख ४३ हजार रुपैयाँ मूल्य बराबरका २४९ युनिट सवारी नेपाल भित्रिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३