close

नेपाली आईपी एड्रेस प्रयोग गरी रुसको तर्फबाट युक्रेनमाथि साइबर आक्रमण !  

टेकपाना टेकपाना

असार ११, २०७९ १३:१०

नेपाली आईपी एड्रेस प्रयोग गरी रुसको तर्फबाट युक्रेनमाथि साइबर आक्रमण !  

काठमाडौं । विगत लामो समयदेखि जारी रुस र युक्रेनबीचको युद्ध भौतिक आक्रमणमा मात्रै सीमित छैन । त्यहाँ ड्रोनदेखि साइबर युद्ध समेत चलिरहेको छ । 

तर उक्त युद्धमा नेपाली आईपी एड्रेसहरू प्रयोग गरी रुसको तर्फबाट युक्रेनमाथि साइबर आक्रमण भएको पाइएको छ । नेपाल स्थित साइबर सुरक्षा कम्पनी भैरव टेक्नोलोजीले प्रकाशित गरेको नेसनल साइबरसेक्युरिटी थ्रेट रिपोर्ट २०२२ ले यो तथ्य बाहिर ल्याएको हो । 

प्रतिवेदन अनुसार ब्रोडलिङ्कको एएसएन (अटोनोमस सिस्टम नम्बर) एएस५५४२७ (AS55427) मा रहेको आईपी एड्रेस (43.245.93.241) प्रयोग भएको छ । त्यस्तै युनिफाइड कम्युनिकेसन प्राइभेट लिमिटेडको एएसएन (AS131341) मा रहेको आईपी एड्रेस (103.117.95.132) र पल्स नेटवर्कको एएसएन (AS140966) मा रहेको आईपी एड्रेस (103.153.232.241) रुस-युक्रेनबीचको साइबर युद्धमा संलग्न देखिएको छ । 

एसका साथै फाइबर वर्ल्डको एएसएन (AS140072) मा रहेको आईपी एड्रेस (103.167.229.54), टेकमाइन्ड्स नेटवर्कको एएसएन (AS58504)मा रहेको आईपी एड्रेस (103.28.86.241) र लुप नेटवर्क्सको एएसएन (AS133557) मा रहेका आईपी एड्रेस (103.75.148.103/103.75.148.17/103.75.148.9) पनि उक्त साइबर युद्धमा देखिएको छ । 

नेपालको पूर्वाधार अन्य देशको स्वार्थमा प्रयोग हुनुलाई सरकार तथा नियमनकारी निकायको कमजोरी भएको साइबर सुरक्षा विज्ञ तथा भैरव टेक्नोलोजीका सीईओ विजय लिम्बू बताउँछन् । 

“भोलिको दिनमा नेपाल पनि सोझै उक्त युद्धमा संलग्न भएको थियो भन्ने आरोप लाग्न सक्छ,” उनले भने, “अरुको युद्धमा हाम्रो पूर्वाधार प्रयोग हुनु अवश्य पनि राम्रो होइन ।” 

ह्याकरले ह्याक गरेको सर्भर रुसले खरिद गरेको वा त्यहाँको सरकारले नै कम्प्रोमाइज भएको डिभाइसलाई प्रयोग गरी साइबर आक्रमण गरेको हुनसक्ने बताइएको छ ।

“यसको नियामकको रूपमा  जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले लिनुपर्छ,” लिम्बू भन्छन्, “कम्प्रोमाइज भएका सर्भरको बारेमा नियामकलाई थाहा हुनुपर्छ । त्यस आधारमा सम्बन्धित आईएसपीलाई त्यसको जानकारी दिएर यस्ता कमजोरी सच्याउन सकिन्छ ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३