close

स्पार्टअप फेस्टमा यी कम्पनीले पाए करिब २५ करोड बराबरको लगानी

टेकपाना टेकपाना

असार १२, २०७९ १२:१७

स्पार्टअप फेस्टमा यी कम्पनीले पाए करिब २५ करोड बराबरको लगानी

काठमाडौं । नेपाल उद्योग परिसङ्घ नेपाल (सीएनआई) युवा उद्यमी मञ्चले शनिबार आयोजना गरेको ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ मा छानिएका १० मध्ये सात कम्पनीले २५ करोड बराबरको लगानी हात पारेका छन् ।

यसअघि सीएनआईले स्टार्टअप फेस्टमा सहभागी हुन विभिन्न स्टार्टअप कम्पनीसँग परियोजनासहितको लगानी प्रस्ताव आह्वान गरेको थियो ।

त्यसमा आएका ३०० बढी कम्पनीमध्येबाट १० कम्पनी अन्तिम चरणका लागि छानिएका थिए, जसमा भक्सक्रो, मोहो, स्किल सेवा, एमसीक्यू हल, डक्टर अन कल, खेती, वेदा एप, फरएभर योङ, डिजिटल एज नेपाल र डार्क म्याटर रहेका थिए ।  उनीहरूलाई परियोजनासहित प्रस्तुति दिन लगाइएको थियो ।

सोही प्रस्तुति र परियोजनाका आधारमा सात स्टार्टअप विभिन्न लगानीकर्ताबाट लगानी भित्र्याउन सफल भएका छन् । त्यसमध्ये वेदा एप र स्किल सेवाले समान साढे आठ कराेडकाे लगानी पाएका छन् ।

स्कुल म्यानेजमेन्ट एप वेदाले टिम भेन्चर, हिमालयन क्यापिटल र ग्लोबल इक्विटीबाट आठ करोड ५० लाख रुपैयाँ लगानी पाएका छन् ।

त्यस्तै होम इन्सपेक्सन (घर चर्किएकाे, पेन्टिङ निस्केका तथा अन्य मर्मत सम्भारको काम गर्ने स्टार्टअप) स्किल सेवाले टिम भेन्चर, टेली भेन्चर, अध्ययन्ता र ग्लोबल इक्विटी फण्डबाट संयुक्त रूपमा साढे आठ करोड रुपैयाँ लगानी प्राप्त गरेको छ ।

स्टार्टअप कम्पनीमध्ये कृषि उत्पादनलाई डिजिटलाइज गरिरहेको कम्पनी ‘खेती’ एपले ग्लोबल इक्विटी फण्ड, टिम भेन्चरबाट दुई करोड बराबरको लगानी सम्झौता गरेको छ ।

कल सेन्टर व्यवस्थापनसँग सम्बन्धित काम गर्दै आएको भक्सक्रो स्टार्टअपले अध्ययन्ता भेन्चरबाट एक करोड रुपैयाँ लगानी प्राप्त गरेको छ ।

स्टार्टअप फेस्टमा छानिएको अर्को कम्पनी डक्टर अन कलले टिम भेन्चर, ग्लोबल इक्विटी फण्ड र हिमालय क्यापिटलबाट दुई कराेड ५० लाख बराबरको लगानी पाएको छ ।

डक्टर अन कल विशेषगरी बिरामीको घरमै गएर उपचार सेवा प्रदान गर्ने स्टार्टअप हो ।

त्यस्तै ‘डिजिटल एज नेपाल’ नामक आईटी कम्पनीले अध्ययन्ता फण्ड र हिमालय क्यापिटलबाट संयुक्त रूपमा एक करोड रुपैयाँ लगानी पाएको छ ।

यसैगरी अनलाइन गेमिङसँग सम्बन्धित स्टार्टअप कम्पनी ‘डार्क म्याटर’ ले ग्लोबल इक्विटी र अध्ययन्ता फन्डबाट एक करोड ५० लाख रुपैयाँ लगानी पाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३