close

गुणस्तरीय सेवा दिन सबै दूरसञ्चार सेवा प्रदायक असफल

टेकपाना टेकपाना

असार १४, २०७९ १५:२४

गुणस्तरीय सेवा दिन सबै दूरसञ्चार सेवा प्रदायक असफल

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा सधैँ चुक्दै आएका छन् ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ‘ड्राइभ टेस्ट’मार्फत विभिन्न समयमा मोबाइल सेवा प्रदायकको गुणस्तर मापन गरिरहेको छ । प्राधिकरणले गर्ने यस्ता परीक्षणमा सेवा प्रदायकहरू तोकिएको मापदण्ड पूरा गर्न सँधै असफल रहेको देखिन्छ ।

यतिसम्म कि काठमाडौं उपत्यकामै टेलिकम सेवा प्रदायक कम्पनीहरूले गुणस्तरीय सेवा उपलब्ध गराउन नसकेको प्रतिवेदन समय-समयमा सार्वजनिक भइरहेकाे छ ।

काठमाडौं उपत्यकामै गुणस्तरीय सेवा दिन चुकेका सेवा प्रदायकले बाहिरी जिल्लामा गुणस्तरीय सेवा दिइरहेका छन् भनेर अपेक्षा गर्नु अस्वाभाविक हो ।

यसैक्रममा प्राधिकरणले गत वर्ष प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रेदशमा दूरसञ्चार सेवा प्रदायकले उपलब्ध गराएको सेवाको गुणस्तर अध्ययन तथा मापनका लागि परामर्शदाता नियुक्त गरेको थियो । यसको जिम्मा इन्क्लुसिभ–एभरेष्ट–माइक्रोटेकको जेभी (ज्वाइन्ट भेन्चर)ले हात पारेको थियो ।

उक्त कम्पनीले प्राधिकरणलाई बुझाएको अन्तिम प्रतिवेदन अनुसार प्रदेशस्तरमा पनि दूरसञ्चार सेवा प्रदायक गुणस्तरीय सेवा दिनबाट चुकेका छन ।

यो अध्ययनलाई प्रदेशको ग्रामीण र सहरी क्षेत्रका आधारमा विभाजन गरिएको थियो, जसमध्ये प्रदेश १ मा कूल १५० किलोमिटरभित्र यो अध्ययन गरिएकाे थियाे ।

प्रदेश १ अन्तर्गत नेपाल टेलिकम, एनसेल र स्मार्टसेल सबै सेवा प्रदायक गुणस्तरीय सेवा दिनबाट चुकेका छन् ।

प्रावधान अनुसार कल सेटअप सफल दर ९९ प्रतिशतभन्दा माथि हुनुपर्ने हो । तर, नेपाल टेलिकम ९६.१८, एनसेल ९२.५७ र स्मार्ट ७९.९६ प्रतिशतमै सीमित देखिए ।

त्यस्तै कल ड्रप (मोबाइलमा कुरा गर्दागर्दै फोन काटिने) रेट दुई प्रतिशत वा सोभन्दा कम हुने पर्नेमा एनसेलको ८.४१ रहेको छ । यसमा नेपाल टेलिकम र स्मार्टसेल भने केही सफल देखिएका छन् ।

त्यस्तै कल लाग्ने समयको आधारमा सबै सेवा प्रदायक मापदण्ड पूरा गर्न असफल भएका छन् । प्राधिकरणको प्रावधान अनुसार एक प्रयोगकर्ताले अर्को प्रयोगकर्तालाई कल गर्दा ५ सेकेन्डभित्र कल लागिसक्नुपर्ने हुन्छ । तर, यसमा एनसेलको ६.३३, नेपाल टेलिकमको ६.९५ र स्मार्ट टेलिकमको सबैभन्दा बढी ८.७२ सेकेन्ड लाग्ने अध्ययनले देखाएको छ ।

त्यस्तै मधेस प्रदेशमा भएको अध्ययनको अवस्था पनि उस्तै छ । मधेश प्रदेशमा कूल हजार किलोमिटरमा यो अध्ययन भएको थियो ।

अध्ययन अनुसार कल सेटअप सफल दरमा नेपाल टेलिकम ९८.१७, एनसेल ९७.३९ र स्मार्ट ६०.३४ प्रतिशतमै सीमित रहे । जब कि प्रावधानअनुसार कल सेटअप सफल दर ९९ प्रतिशतभन्दा माथि हुनुपर्ने हो ।

त्यस्तै कल ड्रप (मोबाइलमा कुरा गर्दागर्दै फोन काटिने) रेट दुई प्रतिशत वा सोभन्दा कम हुनुपर्नेमा एनसेलको ६.३० प्रतिशत रहेको छ । यसमा नेपाल टेलिकम र स्मार्टसेल भने सफल भएका छन् ।

त्यस्तै कल लाग्ने समयको आधारमा मधेश प्रदेशमा समेत सबै सेवा प्रदायक मापदण्ड कायम गर्नबाट चुकेका छन् ।

प्राधिकरणको प्रावधानअनुसार कल सेटअपको समय ५ सेकेन्ड वा सोभन्दा कम हो । तर, यसमा एनसेलको ६.६८, नेपाल टेलिकमको ६.१३ र स्मार्ट टेलिकमको सबैभन्दा बढी ९.४७ सेकेन्ड लाग्ने अध्ययनले देखाएको छ ।

गण्डकी प्रदेशमा पनि सेवा प्रदायकले प्रयोगकर्तालाई गुणस्तरीय सेवा दिन चुकेका छन् । गण्डकी प्रदेशमा कूल ९५० किलोमिटर क्षेत्रफलमा भएको यो अध्ययनमा कल सेटअप सफल दरमा नेपाल टेलिकमको ९७.८९, एनसेल ९६.२५ र स्मार्ट ५९.१८ प्रतिशतमै सीमित रहेको छ ।

त्यस्तै कल ड्रप रेट दुई प्रतिशत वा सोभन्दा कम हुने पर्नेमा एनसेलको ४.८५ प्रतिशत र स्मार्ट टेलिकमको २.०२ प्रतिशत रहेको छ । यसमा नेपाल टेलिकममात्रै सफल भएकाे छ ।

कल लाग्ने समयको आधारमा गण्डकी प्रदेशमा सबै सेवा प्रदायक मापदण्ड कायम गर्नबाट चुकेका छन् । यसअन्तर्गत एनसेलको ६.१८, नेपाल टेलिकमको ६.१६ र स्मार्ट टेलिकमको सबैभन्दा बढी ९.२९ सेकेन्ड लाग्ने अध्ययनले देखाएको छ ।

यतिमात्रै नभएर अध्ययनले तीन ओटा प्रदेशका कतिपय स्थानमा अति नै गुणस्तरहीन सेवा रहेको समेत जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३