close

यस्ता छन् दूरसञ्चार प्राधिकरण बोर्ड सदस्यमा नियुक्तिका लागि सिफारिसमा पर्ने ६ जना

टेकपाना टेकपाना

असार २१, २०७९ १८:१३

यस्ता छन् दूरसञ्चार प्राधिकरण बोर्ड सदस्यमा नियुक्तिका लागि सिफारिसमा पर्ने ६ जना

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्य नियुक्तिका लागि प्राविधिक र लेखा तर्फ गरी कुल ६ जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल संयोजकत्वको सिफारिस समितिले ६ जनाको नाम सिफारिस गरेको हो ।

यसअघि गत चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्यालको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिले प्राधिकरणमा प्राविधिक र लेखा तथा लेखापरीक्षण गरी दुई सदस्य नियुक्तिका लागि जेठ ५ गते एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो ।

जसमा २० जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्येमा समितिले व्यवसायिक योजना र अन्तरवार्ताका आधारमा दुवै पदका लागि तीन/तीन जनाको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गरेको हो ।

यसरी सिफारिस हुनेमा प्राविधिकतर्फ पवन पाठक, रवीन्द्र झा र डा. राजिव सुब्बा रहेका छन् । त्यस्तै लेखातर्फ कुनाल कायाल, गोकर्णप्रसाद सिटौला र सुनिल जाकिबन्जा छन् । समितिले गरेको यही सिफारिसका आधारमा मन्त्रिपरिषद् दुवै पदका लागि एक/एक जनालाई नियुक्तिको निर्णय गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३