close

काठमाडौंको सडकमा गुड्न थाले साझाका बिजुली बस

टेकपाना टेकपाना

असार २३, २०७९ १४:७

काठमाडौंको सडकमा गुड्न थाले साझाका बिजुली बस

काठमाडौं । सरकारी स्वामित्वको साझा यातायातले औपचारिक रुपमा बिजुली बस सञ्चालनमा ल्याएको छ । बिहीबार पुल्चोकस्थित कम्पनी परिसरमा एक कार्यक्रम गर्दै साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले बिजुली बस सेवाकाे उद्घाटन गरे ।

कम्पनीले पहिलाे चरणमा तीनवटा बिजुली बस काठमाडौँका सडकमा सुरूवाती परीक्षणको रुपमा सञ्चालनमा ल्याएकाे हाे । चीनको नान्जिङ सहरमा निर्माण भएको ‘सीएचटीसी’ कम्पनीको विद्युतीय बस साझाले तातोपानी नाका हुँदै नेपाल ल्याएको थियाे ।

गत वर्ष वैशाखमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई विद्युतीय बस खरिद प्रक्रिया अघि बढाउन आह्वान गरेसँगै पहिलो चरणमा ४० वटा बस खरिदका लागि साझाले सार्वजनिक टेन्डर आह्वान गरेको थियो ।

सोही टेन्डर अन्तर्गत साझाले खरिद गरेका ४० वटा बसमध्ये पहिलो चरणमा तीनवटा बस बिहीबारदेखि आधिकारिक रुपमा सञ्चालनमा आएको हो । यससँगै थप ३७ वटा बस साउन मसान्तसम्म भित्र्याउने योजना रहेको कम्पनीले जनाएको छ ।

पहिलो चरणमा आएका यी बसले नयाँ बसपार्कदेखि बालाजु हुँदै एयरपोर्टसम्म र लगनखेलदेखि लैनचौरहुँदै बुढानिलकण्ठसम्म सेवा दिने भएका छन् ।

कम्पनीले ल्याएको विद्युतीय सवारीसाधनका लागि चर्जिङ स्टेसन निर्माण गर्न फराकिलो स्थान आवश्यक पर्ने बताउंदै यसतर्फ सरकारसँग आशावादी रहेको साझाका अध्यक्ष कनकमणि दीक्षितले बताए ।

उनले विद्युतीय परिवाहन प्रवर्द्धन गर्नका लागि साझा यातायात सहकारी संस्था लिमिटेडमा सरकारले तीन अर्ब रुपैयाँ लगानी गरेकाले कम्पनीले विद्युतीय सवारीको फ्लीट निर्माण गर्न सम्भव भएको बताए ।

साझाले भित्र्याएका यी बसको क्षमता, स्पेसिफिकेसन काठमाडौँको क्षेत्रलाई लक्षित गर्दै आवश्यकता बमोजिम खरिद भएको कम्पनीका प्रोजेक्ट म्यानेजर ई. गौरवराज पाण्डेले बताए ।

कम्पनीले ल्याएका बसमा १६१ किलोवाट क्षमताको लिथियम आयन फोस्पेट ब्याट्री जडान भएको छ भने १६५ किलोवाट क्षमताको मोटर राखिएको छ । यसमा ९० किलोवाटको चार्जरबाट २.५ घण्टामा पूर्णरुपमा चार्ज गर्न सकिन्छ ।

यो बसले डीसी फास्ट चार्जिङ सपोर्ट गर्दछ र एक पटकको पूर्ण चार्जमा ४२ बढी यात्रु लिएर २०० किलोमिटर यात्रा गर्नसक्ने कम्पनीको दाबी छ । कम्पनीले सञ्चालनमा ल्याएको यो बसमा चालकसहित २६ सिट क्षमता रहेको छ भने अपाङ्गमैत्री पनि रहेको छ ।

९ मिटर लम्बाइ रहेको यो गाडीमा दुईवटा ढोका रहेका छन्, जसमध्ये पछाडिको ढोकाबाट अपाङ्गता भएका व्यक्तिले सहजै आवतजावत गर्नसक्ने छन् । बसमा अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै ठाउँ छुट्याइएको छ भने वाई-फाई, टिभी डिस्प्ले, सिट बेल्ट, सिसीटिभी क्यामेरा लगायतका अत्याधुनिक सुविधा समेत उपलब्ध छन् ।

बस्नका लागि सहज हुने उच्चस्तरीय प्लास्टिकको सिट राखिएको छ भने त्यसमा रेग्जिनको सिट कभर राखिएको छ । साझाले सञ्चालनमा ल्याएको यो विद्युतीय बस महिला चालकहरूले चलाउने भएका छन् ।

त्यसका लागि कम्पनीले चार जना महिना चालक र पाँचजना महिला सह-चालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा प्रोटोकलबारे तालिम दिइएकाे कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३