close

हाम्रो घरसम्म कसरी आइपुग्छ इन्टरनेट ?

टेकपाना टेकपाना

असार २८, २०७९ ९:९

हाम्रो घरसम्म कसरी आइपुग्छ इन्टरनेट ?

काठमाडौं । आज हामी मोबाइल, ल्यापटप, कम्प्युटरजस्ता डिभाइसमा इन्टरनेट जोडेर विभिन्न कन्टेन्ट हेरिरहेका हुन्छौं । युट्युबमा भिडिओ हेरिरहँदा भिडिओ कसरी तपाईंले प्रयोग गर्ने डिभाइसमा चलिरहेको छ त ? यो विषय धेरैलाई अनौठाे लाग्नसक्छ ।

कतिपयलाई देशभित्रै रहेका डिशहोम, वर्ल्डलिङ्क, भायानेट, सुबिसुजस्ता  इन्टरनेट सेवा प्रदायकले फाइबरमार्फत प्रयोगकर्ताको डिभाइसमा पठाइरहेका छन् भन्ने पनि हुनसक्छ । हुन पनि हो । डिशहोम, वर्ल्डलिङ्क, भायानेट, सुबिसुजस्ता इन्टरनेट सेवा प्रदायकले नै तपाईंलाई इन्टरनेटसँग जोडिरहेका छन् ।

तर, यसको अर्थ यो होइन कि, तपाईंले युट्युबमा हेर्ने भिडिओ डिशहोमले निर्माण गरेर उपलब्ध गराउँछ । युट्युबमा हेरिने भिडिओ गुगलको डेटा सेन्टरमार्फत हजारौं माइल पार गरेर तपाईंको डिभाइसमा आइपुगेको हुन्छ ।

गुगलको डेटा सेन्टरबाट तपाईंको डिभाइसमा कन्टेन्ट आइपुग्ने माध्यम पनि फरक-फरक छन् । त्यसमध्ये पहिलो विकल्प भनेको ‘स्याटलाइट’ हो ।

डेटा सेन्टरमार्फत एन्टेना प्रयोग गरी स्याटलाइटमा सिंग्नल पठाएर स्याटलाइटबाट पुनः ग्राहकको नजिकै रहेको एन्टेनामा सिंग्नल पठाएर प्रयोगकर्ताको डिभाइसमा पुग्छ । यसरी सिधै स्याटलाइटमार्फत कन्टेन्ट पठाउनु राम्रो विकल्प भने होइन ।

किनभने डेटा सेन्टरमार्फत स्याटलाइट हुँदा प्रयोगकर्ताको डिभाइससम्म आइपुग्दा त्यसले हजारौं माइल पार गर्नुपर्ने हुन्छ । त्यो हुँदा प्रयोगकर्ताको डिभाइसले सिंग्नल प्राप्त गर्न लाग्ने समय धेरै हुन्छ, जसले गर्दा इन्टरनेट स्लो हुने समस्या हुन्छ ।

दोस्रो विकल्प अप्टिकल फाइबर नेटवर्क हो, जुन एक देशबाट अर्को देश तथा एक डेटा सेन्टरबाट अर्काे डेटा सेन्टरमा समुन्द्र मुनीबाट फाइबर बिछ्याएर जोडिएको हुन्छ । त्यसरी एकपछि अर्को डेटा सेन्टरमा कनेक्ट हुँदै फाइबरमार्फत उक्त इन्टरनेट विभिन्न चरण पार गर्दै हाम्रो घरमा आइपुग्ने हो ।

हाम्रो देशको हकमा हाल भारत र चीनबाट इन्टरनेट भित्रिरहेको छ । चाइना टेलिकम कर्पोरेसनबाट चीनको केरुङ हुँदै फाइबरमार्फत नेपालमा चीनियाँ ब्याण्डविथ भित्रिएको छ । भने, भैरहवा, विरगञ्ज र विराटनगर नाका हुँदै भारतीय कम्पनी बीएसएनएल, एयरटेल र टाटाबाट नेपालमा भारतीय ब्याण्डविथ भित्रिएको छ ।

नाकासम्म सम्बन्धित देशकै पूर्वाधार प्रयोग गरेर इन्टरनेट आयात हुने भएतापनि त्यसपश्चात भने नेपालका सेवा प्रदायकले आफ्नै फाइबार विस्तार गरेका हुन्छन् ।

देशमा इन्टरनेट भित्रिने सबैभन्दा मुख्य बाटोलाई कोर नेटवर्क अथवा ब्याकबोनको रुपमा लिइन्छ । कोर नेटवर्कमार्फत मेट्रो नेटवर्क र एक्सेस नेटवर्क हुँदै इन्टरनेट प्रयोगकर्ताको घरमा पुग्ने हो ।

कोर नेटवर्क र मेट्रो नेटवर्कलाई समान्य रुपमा बुझ्ने हो भने सरकारले पैसा वितरण गर्ने प्रक्रियालाई बुझ्दा अझ सजिलो हुन्छ । सरकारले बाहिरबाट छपाई गरी केन्द्रीय बैंकमा ल्याएर पैसा राख्छ । त्यो हिसाबले राष्ट्र बैंक कोर नेटवर्क भयो ।

अब राष्ट्र बैंकले अन्य बैंकलाई आवश्यक अनुसार पैसा वितरण गर्छ, जसलाई मेट्रो नेटवर्कको रुपमा लिन सकिन्छ । भने, बैंकहरुले ग्राहकलाई पैसा उपलब्ध गराउने काम गर्छन्, जसलाई एक्सेस नेटवर्कको रुपमा लिन सकिन्छ ।

कोर नेटवर्कमा ‘कोर हाई –इण्ड राउटर’, ‘ब्रोडब्याण्ड रिमोट एक्सेस सर्भर नेटवर्क(बीरास)’ प्रयोग भएको हुन्छ । जसको काम राउटिङ गर्ने हो ।

साथै यसमा डेन्स वेभलेन्थ–डिभिजन मल्टिप्लेक्सीङ(डीडब्लुडीएम) नेटवर्क समेत हुन्छ, जसको मद्धतले एउटा सहरबाट अर्को सहरमा इन्टरनेट पुर्‍याउने काम सम्भव हुन्छ ।

यसरी इन्टरनेट कोर नेटवर्क हुँदै मेट्रो नेटवर्कमा पुग्छ । जहाँ मेट्रो राउटर तथा मेट्रो एग्रिगेशन जस्ता डिभाइस, मेट्रो स्विचहरु प्रयोग भएका हुन्छन्, जसले एउटा सहरभित्र इन्टरनेट विस्तार र वितरणका लागि आवश्यक काम गर्छ । डिशहोमले यस्ता पूर्वाधारमा ह्वावेका राउटर तथा स्विच प्रयोग ल्याएको जनाएको छ ।

मेट्रो नेटवर्कबाट इन्टरने ‘पीओडी लोकेसन’ मा पुग्छ । ‘पीओडी लोकेसन’ भनेको पाेइन्ट अफ ड्रिस्टुब्युसन हो । यसलाई अप्टिकल डिस्ट्युविशन नेटवर्क (ओडीएन) नेटवर्कको रुपमा पनि लिइन्छ । यहाँबाट ग्राहकको घरमा इन्टरनेट बाँड्ने कामको सुरुवात हुने डिशहोमका नक-इन्जिनियर सुभम जोशी बताउँछन् ।

उनका अनुसार पीओडीमार्फत इन्टरनेट बाड्ने काम अर्को सिस्टम ‘अप्टिकल लाइन टर्मिनल (ओएलटी)’ ले गर्छ ।

डिशहोमले ह्वावेको इए/एमए ५८०० ओएलटीए प्रयोगमा ल्याएको जोशी सुनाउँछन् ।

‘ह्वावेको ओएलटी विश्व बजारमै उत्कृष्ट भएकाले पनि हामीले ह्वावेसँगको सहकार्यमा यसको प्रयोग गरेका हौं,’ जोशी भन्छन, ‘ओएलटीमा दुई ओटा लिंक आइरहेको हुन्छ जसलाई अपलिंक भनिन्छ ।’

यसको अर्थ पीओडी लोकेशनसम्म आउने इन्टरनेट दुई ओटा बाटो भएर आएको हुन्छ । त्यो हुँदा यदि कुनै एउटा लिंकमा समस्या आएको खण्डमा स्वतः अर्को लिंकले निरन्तर रुपमा ग्राहकसम्म इन्टरनेट पुर्‍याउन मद्दत गर्छ ।

ओएलटीमा आएको इन्टरनेट गिगाबाइट प्यासिभ अप्टिकल नेटवर्क (जीपअन) पोर्ट हुँदै ग्राहकलाई वितरण गरिन्छ । जीपअनबाट फाइबर हुँदै ‘ओपन डिफेक्सन फ्रि(ओडीएफ)’ मा पुग्छ । ओडीफ भनेको प्यासिभ नेटवर्कलाई कनेक्सन दिने डिभाइस हो ।

हामीले यस अघिसम्म उल्लेख गरेका सबै डिभाइस तथा पूर्वाधार एक्टिभ नेटवर्क हुन् । एक्टिभ नेटवर्कका लागि निरन्तर विद्युत आवश्यक पर्छ । तर, प्यासिभ नेटवर्कका लागि विद्युतीय कनेक्सनको आवश्यक पर्दैन ।

तपाईंहरुले ख्याल गर्नुभएको पनि होला । कुनै दिन तपाईंको टोलमा बत्ति गयो । बत्ति गएको अवस्थामा कुनै वैकल्पिक ऊर्जाको व्यवस्था छ र राउटर चल्छ भने निरन्तर इन्टरनेट चल्छ ।

यसको कारण प्यासिभ नेटवर्क नै हो । एक्टिभ नेटवर्कलाई सेवा प्रदायकले निरन्तर विद्युतसँग कनेक्ट गराउन विभिन्न विकल्पहरु प्रयोग गरेका हुन्छन् । त्यो हुँदा बत्ति जाँदा पनि इन्टरनेट चलिरहेको हुन्छ ।

जीपअनमार्फत सामान्यतया १२ अथवा २४ कोरको फाइबरमार्फत मास्टर बक्समा इन्टरनेट पुयाइन्छ ।

ओएलटीमा धेरै संख्यामा जीपअन पोर्ट रहेको हुन्छ । हरेक जीपअन पोर्टबाट छुट्टाछुट्टै मास्टर बक्समा इन्टरनेट पुकति जीबी पुर्‍याउन सकिन्छ ।

त्यसरी मास्टर बक्ससम्म इन्टरनेट आएसँगै मास्टर बक्सबाट अब कति कोर निकाल्ने भन्ने हुन्छ । सामान्यतया एउटा मास्टर बक्समार्फत ८ देखी १६ ओटासम्म कोर निकाल्न सकिन्छ । मास्टर बक्सबाट कति कोर निकाल्ने भन्ने कुरा सेवा प्रदायकको आवश्यकतामा भर पर्छ ।

मास्टर बक्समार्फत निस्किएको कोरा ड्रिस्ट्रिब्युसन बक्समा पुग्छ । ड्रिस्ट्रिब्युसन बक्स भनेको ग्राहकको घरमा रहेको राउटरसँग जोडिने अन्त्तिम माध्ययम हो । याे बक्सभित्र स्प्लिटर हुन्छ, जहाँ अपलिंक अर्थात् यसअघिको प्रक्रिया पूरा हुँदा आएको इन्टरनेट कनेक्ट हुन्छ ।

भने, बाँकी रहेको रहेको स्पिटरमार्फत ग्राहकको घर अनुसार छुट्टाछुट्टै फाइबर छुट्टिन्छ । सामान्यतया स्पिलटरमा पनि ८ देखि १६ ओटासम्म पोर्ट रहेको हुन्छ ।

कति पोर्टयुक्त स्पिलटर राख्ने भन्ने विषय पनि सेवा प्रदायकको आवश्कता अनुसार निर्धारण हुन्छ । स्पिलटर कति भएको ड्रिस्ट्रिब्युसन बक्स राख्ने भन्ने विषय त्यो एरियामा रहेको ग्राहक संख्याले भर पर्ने कुरा भएको जोशी बताउँछन् ।

ड्रिस्ट्रिब्युसन बक्सबाट ग्राहकको घरमा जाने फाइबरलाई ड्रप केबल भनिन्छ । उक्त ड्रप केबल ग्राहकको घरमा रहेको ओएनटी राउटरमा गएर जोडिने हो ।

जब ओएनटी राउटरमा फाइबर जोडिन्छ, तबमार्फत उक्त राउटरले बाहिरबाट आएको नेटवर्कलाई तपाईंको डिभाइसमा पठाउने काम गर्छ । जुन वायरलेस (वाई-फाई) र वायर दुवैमार्फत इन्टरनेट डिमाइसमा जोडिन्छ ।

उक्त राउटरको काम राउटिङ गर्ने हो । हामीले राउटरलाई एउटा सानो बक्सको रूपमा देखिरहेका हुन्छौं । तर यो बक्सभित्र धेरै कामहरु भइरहेको हुन्छ ।

राउटर एकप्रकारको कम्प्युटर जस्तै हो । नाम जस्तै यसले इन्टरनेट ट्राफिकलाई इन्टरनेट उपकरण र मोबाइल तथा कम्प्युटरबीच राउट गर्ने अर्थात ओहोरदोहोर गराउने काम गर्दछ ।

कोर नेटवर्क

कोर नेटवर्क अर्थात् बाहिरबाट आईजीडब्लू कनेक्टीभिटी हुँदै आउने ब्याण्डविथलाई व्यवस्थापन गर्ने नेटवर्क हो । यसलाई सहज रुपमा बुझ्ने हो भने बाहिरबाट आउने ब्याण्डविथ हाम्रो देशको नाकासम्म आइपुगेको हुन्छ ।

नाकासम्म आइपुगेको ब्याण्डविथलाई ट्रङ्क रुटमार्फत पिकअप गरेर कोर नेटवर्कसम्म ल्याइएको हुन्छ , जहाँबाट बाहिरबाट आयात भएको ब्याण्डविथ र राष्ट्रिय ब्याण्डविथलाई देशभर वितरण गर्ने काम हुन्छ ।

कोर नेटवर्कमा कोर हाई-इण्ड राउटर, ब्रोडब्याण्ड रिमोट एक्सेस सर्भर नेटवर्क (बीरास) रहेको हुन्छ । यो एउटा कोर राउटर हो । बीरासको काम राउटिङ गर्ने हो । अर्थात कुन डिभाइसमा के पठाउने भनेर डेटा व्यवस्थापन गर्ने काम बीरासले गर्छ ।

कोर नेटवर्कलाई जोड्ने काम डेन्स वेभलेन्थ–डिभिजन मल्टिप्लेक्सिङ (डीडब्लूडीएम) ले गर्छ । यो विषेशगरी ब्याकबोनमा हुन्छ । त्यो हिसाबले डीडब्लूडीएमको काम नेटवर्कलाई जोड्ने हो ।

विशेषगरी एउटा सहरबाट अर्को सहरमा इन्टरनेट पुर्‍याउनका लागि कोर डीडब्लूडीएमको प्रयोग हुन्छ । बीरास नेटवर्कमा ह्वावेको एनई४०ई–एक्स८ए जस्ता राउटर आईएसपीहरुले प्रयोगमा ल्याएका छन् । 

मेट्रो नेटवर्क

मेट्रो नेटवर्कको काम ब्याण्डविथ वितरण गर्ने नै हो । मेट्रो नेटवर्कमार्फत ठूलो मात्रामा इन्टरनेट पठाउन सकिने हुँदा इन्टरप्राइज ग्राहकको हकमा यसैमार्फत सोझै इन्टरनेट उपलब्ध गराउन सकिन्छ ।

मेट्रो नेटवर्ककमा हकमा डिशहोमले ह्वावेको मेट्रो एग्रिगेशन ह्वावे एटीएन/एनई४०ई सिरिजको राउटर र स्विच प्रयोगमा ल्याएको छ । साथै यसमा डीडब्लुडीएम समेत हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३