काठमाडौं । पछिल्लो समय सार्वजनिक हुने धेरैजसो स्मार्टफोनमा भर्चुअल अथवा एक्स्टेन्डेड र्याम फिचर उपलब्ध हुने क्रम बढेको छ । यसको अर्थ हो, मोबाइलमा उपलब्ध र्याम नपुगेको खण्डमा प्रयोगकर्ताले भर्चुअल र्याम थप गरेर मोबाइलको पर्फर्मेन्स तथा क्षमता बढाउन सक्छन् ।
यो फिचरलाई र्याम प्लस, मेमोरी एक्स्टेन्सन अथवा र्याम बुस्ट पनि भन्ने गरिन्छ । यदि तपाईँको फोनमा सुरुमा उपलब्ध भौतिक र्याम तपाईँको लागि पर्याप्त छैन भने तपाईँले भर्चुअल र्यामको फाइदा उठाउन सक्नुहुन्छ ।
हाल सामसङ, साओमी, रियलमी, भिभो, ओप्पो, वनप्लस, मोटोरोला लगायतका कम्पनीले आफ्ना स्मार्टफोनहरूमा भर्चुअल र्याम उपलब्ध गराइरहेका छन् । यद्यपि पर्फर्मेन्सको हिसाबले मोबाइलमा पहिले नै उपलब्ध र्यामले भर्चुअल र्यामभन्दा छिटो काम गर्छ ।
धेरै र्याम भएको डिभाइसको पर्फर्मेन्स र भर्चुअल र्याम प्रयोग गरिएको डिभाइसको पर्फर्मेन्समा धेरै अन्तर हुन्छ । त्यसैले भर्चुअल र्याम प्रयोग गर्नुभन्दा धेरै र्याम भएको डिभाइसले राम्रो पर्फर्मेन्स दिन्छ ।
ब्याकग्राउण्डमा एउटै समयमा थुप्रै एपहरु प्रयोगमा रहेको अवस्थामा भने यो फिचरले निकै सघाउ पुर्याउँदछ । जसले मोबाइलमा देखिने ल्याग तथा स्लो हुने समस्यालाई समेत कम गर्दछ ।
मेमोरी डेटालाई ससानो मात्रामा विभाजन गर्नुको साटो यसले एउटा युनिटको रुपमा कम महत्वपूर्ण र प्रयोगकर्ताको अनुभवलाई प्रभाव नपार्ने अनि धेरै मेमोरी ओगटेर बस्ने प्रक्रियालाई यकिन गरी त्यसलाई स्टोरेजसँग आदान प्रदान गर्दछ ।
यसरी एउटा एपले भारी मात्रामा खपत गरेको रनिङ मेमोरीलाई उल्लेख्य रुपमा घटाउँदछ । परम्परागत मेमोरी व्यवस्थापन प्रविधिको तुलनामा यो नयाँ प्रविधिले मेमोरी प्रयोगको दक्षतालाई ३० प्रतिशतले बढाउनसक्छ ।
वास्तवमा दुई कारणले यो तरिका रोचक देखिन्छ । पहिलो कुरा त तपाईंले फोनमा ल्यागरहित अनुभव पाउन सक्नुहुन्छ भने दोस्रो यसको प्रभाव मूल्यमा पर्न जान्छ । यसले कम मूल्यमै प्रयोगकर्तालाई उच्च र्यामको अनुभव प्रदान गर्दछ ।