close

एनसेल नेटवर्कमा पनि सुरु भयो भोल्टे सेवा

टेकपाना टेकपाना

साउन १९, २०७९ १६:१

एनसेल नेटवर्कमा पनि सुरु भयो भोल्टे सेवा

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले फोरजी एलटीई प्रविधिमा आधारित एचडी भ्वाइस कल (भ्वाइस ओभर एलटीई) सेवा सञ्चालनमा ल्याएको छ ।

देशभर फोरजी एलटीई सेवा विस्तार गरिरहेको कम्पनीले त्यसैमा आधारित एचडी भ्वाइस सेवासमेत दिने गरी यसको सुरुवात गरेको हो ।

लामो समयदेखि भोल्टे सेवा सञ्चालनमा ल्याउने योजना बनाएको कम्पनीले आफ्नो फोरजी नेटवर्कमा भोल्टे इनेबल गरेको हो । यो सेवा तत्कालका लागि सबै मोबाइलमा भने नचल्ने एनसेलले जनाएको छ ।

‘भोल्टे सेवा हाम्रो फोरजी नेटवर्कमा इनेबल भइसकेको छ,’ कम्पनीका एक अधिकारीले टेकपानासँग भने, ‘तर सबै मोबाइल निर्माता कम्पनीका डिभाइस सिस्टममा इनेबल भइसकेका छैनन् ।’

कम्पनीका अनुसार हाल भोल्टेको सिस्टममा ह्वावेको ‘नोभा थ्री’ माेडलकाे स्मार्टफाेनमा मात्रै इनेबल भएको छ ।

‘हाल एनसेलको भोल्टे सेवा नोभा थ्रीमा मात्रै चल्छ । विस्तारै अन्य ब्राण्डका डिभाइसलाई पनि सिस्टममा इन्ट्रिगेट गर्ने काम हुँदैछ,’ उनले भने ।

सबै मोबाइल ब्राण्ड सिस्टममा इनेबल भएपछि कम्पनीले आधिकारिक रुपमा सेवा सुरू गर्ने उनले बताए ।

त्योसँगै प्रयोगकर्ताले एनसेलको नेटवर्कमा समेत एचडी भ्वाइस कल पाउनेछन् । यो सेवा यसअघि नै सरकारी स्वामित्वको नेपाल टेलिकमले सञ्चालनमा ल्याइसकेको छ ।

टेलिकमले सेवा सञ्चालनमा ल्याएको करिब डेढ वर्षपछि एनसेलले यसको सुरुवात गरेको हो । टेलिकमले भोल्टेमा ग्राहकलाई उच्च क्वालिटीको भिडिओ कल समेत उपलब्ध गराएको छ ।

तर, एनसेलको हकमा भने सुरुवाती चरणमा भिडिओ कल उपलब्ध नहुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३