close

आउँदो सातादेखि ‘पब्जी मोबाइल साउथ एसिया फल’, नेपालबाट ११ टिमले प्रतिस्पर्धा गर्ने

टेकपाना टेकपाना

भदौ ८, २०७९ १७:१

आउँदो सातादेखि ‘पब्जी मोबाइल साउथ एसिया फल’, नेपालबाट ११ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौँ । आउँदो सातादेखि ‘पब्जी मोबाइल साउथ एसिया फल २०२२’ प्रतियाेगिता हुने भएकाे छ । क्राफ्टन, टेन्सेन्ट गेम्स र नडविन गेमिङको संयुक्त आयोजना हुने यो प्रतियोगिता अगस्ट २९ देखि अक्टोबर २ (भदाै १३ देखि असाेज १६)  सम्म चल्नेछ ।

यो अनलाइन प्रतियोगितामा कुल २० टिमको सहभागिता रहने छ, जसमा नेपालबाट मात्रै ११ टिम सहभागी हुँदैछन् । त्यस्तै मङ्गोलियाबाट पाँच र बङ्गलादेशबाट चार टिमले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली टिममा ज्यानमारा ई-स्पोर्ट्स, डीआरएस गेमिङ, हाइ भोल्टेज, इलिमेन्ट्रिक्स, ट्रेन टु किल, डेडआइज गाइज, रअ ई-स्पोर्टस, स्काइलाइट गेमिङ, विजेज क्लब, द एट्रयाक्स ई-स्पोर्टस र भेनम लेजेन्डले रहेका छन् ।

प्रतियोगिताको लिग (समूह) चरणका खेल भदाै १३ देखि भदाै ३० गतेसम्म चल्नेछ । यसअन्तर्गत २० टिमलाई पाँच समूहमा विभाजन गरेर खेलाइने छ ।

तीन हप्तासम्म चल्ने लिग चरणको खेलमा हरेक हप्ता छुट्टाछुट्टै अङ्क तालिका हुनेछ । त्यसैले हरेक हप्तापछि टिमले नयाँ सुरुवात गर्न सक्नेछन् ।

तेस्रो हप्तासम्मको सबै खेल सकिँदा अङ्क तालिकाको शीर्ष १६ भित्र पर्ने टिमले फाइनल चरणका खेल खेल्नेछन् ।

यो प्रतियोगिताको प्रत्यक्ष प्रसारण पब्जी मोबाइल ई-स्पोर्टस साउथ एसिया युट्युब च्यानलबाट हेर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३