close

एसिया प्यासिफिक टेलिकम्युनिटीको नेपालमा जारी वर्कशपले जुराएको अवसर

टेकपाना टेकपाना

असोज ६, २०७९ १२:२६

एसिया प्यासिफिक टेलिकम्युनिटीको नेपालमा जारी वर्कशपले जुराएको अवसर

 

नेपाल दूरसञ्चार प्राधिकरणको व्यवस्थापन तथा सञ्चालनमा र एसिया प्यासिफिक टेलिकम्युनिटी (एपीटी) को आयोजनामा मङ्गलबारदेखि धुलिखेलमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना भइरहेको छ । जसमा क्षेत्रीय स्तरमा विभिन्न देशका नियमनकारी निकायहरूका अनुभवहरू आदानप्रदानको काम जारी छ । 

दूरसञ्चार सेवा सामूहिक रूपमा विकास गर्नुपर्ने हुन्छ । क्षेत्रीय स्तरमा रहेको एउटा देशहरूमा कुन किसिमको दूरसञ्चार विकास भइरहेको छ भन्ने कुराले अर्को देशलाई असर पुर्‍याउँछ । त्यसैले यस पटकको कार्यशालामा नीतिगत व्यवस्था र फ्रिक्वेन्सीलाई हामीले मूल रूपमा समेटेका छौँ ।

एउटा देशमा जुन किसिमको फ्रिक्वेन्सी र प्रविधि आत्मसाथ गरिएको छ, त्यही फ्रिक्वेन्सी र प्रविधि अर्को देशमा पनि आत्मसाथ  गर्नु पर्छ । अन्यथा सीमापार फ्रिक्वेन्सी ‘इन्टरफ्रेन्स’ (अवरोध) लगायतका समस्या आउन सक्छन् । एउटा ठाउँमा बनेको चिज अर्को ठाउँमा नचल्ने हुन्छ । 

दूरसञ्चार सेवा निकै धेरै लगानी भएको क्षेत्र हो । उनीहरूले आफूहरू कुन किसिमका सेवा तथा उत्पादनमा केन्द्रित छन् र त्यसका लागि कुन फ्रिक्वेन्सी उपयुक्त हुन्छ भन्ने कुरा दर्साउँछन् । अर्कोतर्फ नियामकहरूलाई कुन विकल्प उत्कृष्ट हुन्छ भन्ने कुरा यकिन गर्न यस्ता कार्यशाला सहयोगी हुन्छन् । 

उदाहरणको लागि अहिले फाइभजीमा विभिन्न ब्यान्डहरू (लोअर ब्यान्ड, मिड ब्यान्ड र हाई ब्यान्ड) छन् । यसमा सेवाप्रदायकहरूले आफ्नो सेवाका लागि केके कारणले कुन फ्रिक्वेन्सी उपयुक्त हुन सक्छ भन्ने धारणा व्यक्त गरिरहेका छन् । यस्तो अवस्थामा नियमनकारी निकायका लागि समग्र उद्योग क्षेत्रका लागि के गर्दा राम्रो हुन्छ भन्ने कुरामा यस्ता वर्कशपहरूले निर्णय प्रक्रियामा सहजता ल्याउनुका साथै र समन्वय स्थापना गर्न सघाउ पुर्‍याउँछ । 

 

दूरसञ्चारको क्षेत्रमा पहुँच विस्तारका कुराहरू छन् । स्याटलाइट प्रविधिका विषयहरू छन् । ग्रामीण दुर्गम क्षेत्रमा समेत हामीले मोबाइल तथा इन्टरनेट सेवा पुर्‍याइरहेका छौँ । ​वाईफाईबाटै समग्र कर्णालीमा इन्टरनेट विस्तार गरेको हाम्रै सफलताका कथाहरू छन् । स्याटलाइट प्रविधि तुलनात्मक रूपमा महँगो छ । यो प्रविधि नेपालका लागि उपयुक्त हो कि होइन भन्ने आफैँमा ठूलो प्रश्न हो । 

कर्णालीका मुगु, हुम्ला, डोल्पा जस्ता जिल्लामा वाईफाईबाटै इन्टरनेट पुर्‍याइसकेको पृष्ठभूमिमा नेपाललाई स्याटलाइटमा आधारित इन्टरनेट सेवा आवश्यक पर्दैन भन्ने विषय पनि छ । यस्ता विविध विषयलाई हामीले वर्कशपमा समेटेका छौँ । जसमा फाइभजी, स्याटलाइट पहुँच, वाईफाई प्रविधि, फाइबर केबलको एक्सेस, एआई, मसिन लर्निङ, डिजिटल नैतिकता लगायत रहेका छन् । एपीटीको वर्कशप आयोजना हुने देशले आफ्नोतर्फबाट बढी भन्दा बढी सहभागिता जुटाउने अवसर पाउँछ । त्यसको लाभ अहिले नेपालले उठाइरहेको छ । फेसबुक, जीएसएमए, नोकिया, ह्वावे, क्वालकम, विभिन्न देशका नियामक, सेवाप्रदायकहरूबाट कार्यशालामा विज्ञ प्रस्तुति रहेका छन् । विभिन्न सार्क राष्ट्रका नियमनकारी निकाय, सेवाप्रदायक, प्राज्ञ, सरोकारवालाको रूपमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायतबाट करिब ८० जनाको भौतिक उपस्थिति रहेको कार्यशालामा सय भन्दा बढीको भर्चुअल सहभागिता रहेको छ । 

भौतिक रूपमा कार्यशालामा उपस्थित हुन नसक्नेहरूका लागि भर्चुअल सहभागिताको व्यवस्था मिलाइएको छ । नेपाल, भारत, अफगानिस्तान, जापान, कोरिया, चीन, म्यानमार, सिङ्गापुर, इरान, न्युजिल्यान्ड लगायत ३८ देश सदस्य रहेको एपीटीमा चार देश एसोसिएट सदस्य र विभिन्न देशका १४० ओटा सङ्घ संस्था एफिलिएट सदस्य रहेका छन् । 

(नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आचार्यसँग गरिएको कुराकानीमा आधारित)

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ १३:११