close

३५ सयले लिए टेलिकमकाे ई-सिम

टेकपाना टेकपाना

असोज १०, २०७९ १३:१८

३५ सयले लिए टेलिकमकाे ई-सिम

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) व्यावसायिक रूपमा वितरण गरिरहेकाे छ । ई-सिम सुरु भएको एक हप्ताको अवधिमा यसका प्रयोगकर्ता ३५ सय हाराहारी पुगेको पाइएको छ ।

टेलिकमले हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा मोबाइल तथा अन्य डिजिटल उपकरणमै ‘इम्बेड’ अर्थात गाँस्न सकिने सिम उपलब्ध गराउन थालेको हो । कम्पनीका प्रवक्ता शोभन अधिकारीका अनुसार आइतबारसम्म करिब ३५ सयले ई-सिम लिएका छन् ।

पछिल्लो समय बजारमा आएका विभिन्न ब्रान्डले अपडेटमार्फत ई-सिम सपोर्ट गर्ने फिचर ल्याइरहेका छन् ।

ई–सिमका लागि स्मार्टफोन निर्माता कम्पनीले पहिले नै फोनमा ई-सिमको चिप जडान गरेको हुनुपर्छ ।

ई-सिमको विकास सन् २०१७ मा भएको भए पनि यो हालसालै मात्र प्रचलनमा आइरहेको प्रविधि हो ।

कतिपय देशमा यो प्रयोगमा आइसकेको छ भने कतिपय देशमा आउने क्रममा छ । त्यसैले सबै ब्रान्डका डिभाइसमा ई-सिमको चिप जडान नभएको हुनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १६:१४