काठमाडौं । गएको भदौ ३० गतेबाट नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको छ । यससँगै मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित बनाइने र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ तथा ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गरिएको छ ।
यद्यपि २०७९ को भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेटको हकमा भने सबै स्वतः एमडीएमएस प्रणालीमा दर्ता भइसकेका छन् । मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भएको वा नभएको यकिन गरेर मात्र खरिद गर्न अनुरोध गरिएको छ ।
त्यतिमात्रै नभएर यही बुधबारमात्रै एक सूचना जारी गर्दै प्राधिकरणले दशैमा विदेशबाट आउने नेपालीले आफ्नो साथमा ल्याएको मोबाइल दर्ता गर्न समेत आग्रह गरेको छ । प्राधिकरणले विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरुलाई यो वेबसाइटमा गई आवश्यक विवरण भरी एमडीएमएसमा दर्ता गर्न आग्रह गरेको छ ।
साथै स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न समेत प्राधिकरणले सूचित गरेको छ ।