close

युट्युबमा फोरके भिडिओ हेर्न पैसा तिर्नुपर्ने !

टेकपाना टेकपाना

असोज १८, २०७९ ७:३२

युट्युबमा फोरके भिडिओ हेर्न पैसा तिर्नुपर्ने !

काठमाडौं । निशुल्क रुपमा भिडिओहरू हेर्न पाउने प्लेटफर्मको रुपमा लोकप्रिय युट्युब विस्तारै पैसा तिरेर हेर्नुपर्ने प्लेटफर्ममा रूपान्तरण हुँदैछ  । पछिल्लो समयमा गुगलले युट्युबका विभिन्न फिचरहरूलाई प्रिमियम सब्सक्रिप्सनसँग जोड्दै लगेको छ । जसले गर्दा प्रयोगकर्ताहरूले युट्युबमा राम्रो अनुभवको लागि पैसा तिर्नुपर्ने अवस्था आएको छ ।

युट्युबको प्रिमियम सब्स्क्रिप्सनको लागि गुगलले नयाँ नयाँ कामहरू गरिरहेको छ । यो भन्दा अगाडि युट्युबमा पाँचओटा सम्म विज्ञापन स्किप गर्न नमिल्ने फिचरको चर्चा भइरहेको थियो । यो सँगै बजारमा फेरी नयाँ चर्चा सुरु भएको छ । बाहिरिएको समाचार अनुसार गुगलले युट्युबमा उपलब्ध फोरके रिजोलुसनको भिडिओहरुलाई पनि  सशुल्क बनाउने तयारी गरिरहेको छ ।

यसको अर्थ हो अब तपाईंले युट्युबमा फोरके रिजोलुशनको भिडिओ हेर्नको लागि सुरुमा प्रिमियम भर्सन सब्सक्राइब गर्नुपर्ने हुन्छ । रेडइटमा एकजना प्रयोगकर्ताले युट्यबुको नयाँ फिचरको बारेमा स्क्रिनसट सहित पोस्ट गरेका थिए । जसमा १०८० पिक्सेल भन्दा माथिको रिजोलुसनमा प्रिमियम भनेर लेखिएको छ । साथमा अपग्रेड भन्ने अप्सन पनि दिइएको छ ।

हाल यो फिचर केही प्रयोगकर्ताहरूको साइटमा मात्र देखिएको छ । यद्यपि यो आधाकारिक रुपमा छिट्टै नै आउने अनुमान गरिएको छ । तर गुगलले भने यो विषयमा कुनै आधिकारिक धारणा दिइसकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज १८, २०७९ ७:४७