close

किन भाइरल बन्याे मेस्सी र राेनाल्डाेले चेस खेल्दै गरेको फाेटाे ?

टेकपाना टेकपाना

मंसिर ४, २०७९ १६:३३

किन भाइरल बन्याे मेस्सी र राेनाल्डाेले चेस खेल्दै गरेको फाेटाे ?

काठमाडौं । शनिबार साँझदेखि नै सामाजिक सञ्जालमा फुटबल खेलका दुई तारा लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको तस्वीर भाइरल भइरहेको छ । मेस्सी र रोनाल्डोले एकसाथ फेसबुकमा सार्वजनिक गरेकाे तस्वीरले फुटबल फ्यानहरू चकित भए । तस्वीरमा दुई खेलाडी चेस खेलिरहेकाे देखिन्छ ।

मेस्सी र रोनाल्डो सँगै भएको तस्वीरलाई लिएर फुटबल समर्थकले धेरै प्रशंसा गरेका छन् । उनीहरूले एक अर्काबीचको मित्रता प्रकट गर्न कतारबाट याे तस्वीर राखेको आँकलन धेरैले गरे ।

यसो त आजबाट फिफा वर्ल्डकप २०२२ सुरुवात हुँदैछ, जसमा मेस्सी र रोनाल्डो दुवैले पुनः आफ्नो राष्ट्रिय टिमको नेतृत्व गर्दैछन् । त्यस्तै याे संस्करणकाे विश्वकप दुवै खेलाडीका लागि अन्तिम विश्वकप हुनसक्ने अनुमान पनि गरिएकाे छ । यस्तो अवस्थामा दुई खेलाडीले आफ्नो सामाजिक सञ्जालको अकाउन्टमा एकअर्कासँग बसेको तस्वीर राख्नुलाई धेरै पक्षबाट विश्लेषण गरेका छन् ।

वास्तवमा याे तस्वीर फेसन ब्रान्ड 'लुइ भिताेन' (louis vuitton) को विज्ञापन हो । लुइ भिताेन  ब्रान्डको ब्यागमाथि चेस खेल्न एकअर्काको विपरीतमा बसेको उक्त तस्वीरमा विज्ञापनका रूपमा पोस्ट गरिएको हो । दुवै खेलाडीले एउटै क्याप्सन राखेर एउटै फोटो पोस्ट गरेका छन् ।

उनीहरूको पोस्टको क्याप्सनमा लेखिएको छ, "विजय भनेको मष्तिष्कको अवस्था हो । एन्नी लेइबोवित्जले लुइ भिताेनका लागि खिचेको तस्वीर ।"

यसको अर्थ उक्त फोटो विज्ञापनका रूपमा राखिएको हो । उनीहरूले राखेको पोस्टको तल पेड पार्टनर्शिप लेखिएको छ । यसबाट पनि उक्त फोटो विज्ञापनका लागि मात्र राखिएको पुस्टि हुन्छ ।

फोटो विज्ञापनका लागि मात्र राखिएको भएपनि उनीहरूबीच राम्रै सम्बन्ध छ । एक टिभी अन्तर्वार्तामा रोनाल्डोले मेस्सीको खुलेर प्रशंसा गरेका थिए । उनले मेस्सीसँग आफ्नो राम्रै सम्बन्ध भएको बताएका छन् ।

यस फोटोलाई सामाजिक सञ्जालमा शेयर गर्दा विश्वका विभिन्न ठाउँमा रहेका समर्थकले प्रशंसा गरेका छन् । केहीले भने लुइ भिताेनले प्रचारका लागि राम्रो तरिका अपनाएको तर्क गरेका छन् । 

पछिल्लो अध्यावधिक: मंसिर ४, २०७९ १६:४४