close

अन्ततः वर्ल्डलिङ्कको नेटटिभी एपमा आउने भयो विश्वकप फुटबलको लाइभ

टेकपाना टेकपाना

मंसिर १९, २०७९ १९:९

अन्ततः वर्ल्डलिङ्कको नेटटिभी एपमा आउने भयो विश्वकप फुटबलको लाइभ

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कको आईपीटिभी सेवा नेटटिभीको मोबाइल एपमा समेत विश्वकप फुटबलको लाइभ हेर्न सकिने भएको छ । नेपालका लागि फिफाबाट विश्वकप २०२२ को प्रसारण अधिकार प्राप्त मिडिया हबसँगको सहकार्यमा कम्पनीले लाइभ देखाउने भएको हो । 

हाल नेपालमा वैधानिक तवरमा टेलिभिजन वितरकहरूले मात्रै हिमालय प्रिमियम च्यानलमार्फत विश्वकप फुटबलको लाइभ प्रसारण गरिरहेका छन् । त्यसका लागि ग्राहकले भ्याटसहित ५६५ रुपैयाँमा सब्सक्रिप्सन लिनुपर्ने व्यवस्था छ । 

विश्वकपका कूल ६४ खेलहरूमध्ये यो समाचार तयार पार्दासम्म ५२ खेल सम्पन्न भइसकेका छन् । अब केवल १२ खेल बाँकी रहँदा मोबाइल एपमार्फत विश्वप फुटबलको प्रत्यक्ष प्रसारण हेर्न चाहने ग्राहकले कति शुल्क तिर्नुपर्ला ?

प्रति ग्राहकबाट भ्याट सहित ५६५ रुपैयाँ शुल्क उठाउने वा घटाउने भन्ने विषय छलफलकै क्रममा रहेको मिडिया हबका सञ्चालक सोम धितालले बताए । “विश्वकप फुटबलका अधिकांश खेल सम्पन्न भइसकेको अवस्थामा ५०० रुपैयाँ (भ्याट बाहेक) शुल्क लिने कुरा ग्राहकका लागि महँगो हुन सक्छ,” उनले भने, “यस्तोमा केही कम गर्न सकिन्छ कि भन्ने हिसाबले समेत हामी काम गर्दै छौँ ।” 

धितालका अनुसार ‘रेभिन्यु शेयरिङ’ (आम्दानी बाँडफाँट) गर्ने सर्तमा नेटटिभी र मिडिया हबबीच मोबाइल एपमा फुटबलको प्रत्यक्ष प्रसारण गर्ने समझदारी भएको छ । मोबाइल एपमार्फत फुटबल विश्वकपको लाइभ देखाउन आवश्यक प्राविधिक तयारी पूरा भइसकेको नेटटिभीका सीईओ निरन राजभण्डारीले बताए ।  

पछिल्लो अध्यावधिक: मंसिर १९, २०७९ १९:९