close

ग्रुप च्याटबाट सुरु भएको अर्गानिक काउमाण्डु

युजु खालिङ युजु खालिङ

माघ ६, २०७६ १२:३१

ग्रुप च्याटबाट सुरु भएको अर्गानिक काउमाण्डु

काठमाडौं । फेसबुकमा हामी के गर्छौं ? अधिकांशले गर्ने भनेको न्युजफिड स्क्रोल गर्दै साथीहरुका पोष्टमा लाइक तथा कमेन्ट गर्ने अनि म्यासेञ्जरमा च्याट ।

तर फेसबुकको विश्वव्यापी सञ्जालको ताकतलाई बुझेका २९ वर्षीय सुमन पाण्डे (३४) ले चार वर्ष अगाडि त्यसलाई आफ्नो व्यवसायिक रुपमा उपयोग गर्न थाले । फलस्वरुप आज फेसबुकको सामान्य ग्रुप च्याटबाट सुरु भएको काउमाण्डु अहिले व्यवसायिक ब्राण्डको रुपमा स्थापित भइसकेको छ । 

काठमाडौं उपत्यकाभर निःशूल्क होमडेलिभरीमा दूध पुर्‍याइरहेको काउमाण्डु घरेलु दूध उत्पादन, दूग्धजन्य खाद्य पदार्थहरुको उत्पादन तथा वितरणको पनि काम गरिरहेको छ । काउमाण्डुको यो समग्र व्यवसाय चाहिँ फेसबुकको एउटा सानो च्याट बक्स भित्रैबाट सुरु भएको हो ।

२०१४ सालमा बेलायतबाट एमएचएम अर्थात् हस्पिटालिटी म्यानेजमेन्टमा स्नातकोत्तर सकाएर नेपाल फर्किएका थिए सुमन पाण्डे । त्यस समय उनी काठमाडौंकै एउटा नामी होटलमा गतिलै दर्जामा कार्यरत थिए ।

तर एकदिन होटलमा विदेशी दूधको प्याकेट देखेपछि उनलाई त्यो विदेशी खाद्यवस्तुलाई स्वदेशी उत्पादनले विस्थापन गर्ने हुटहुटी चल्यो । कृषि पेशाप्रति लगाव रहेका उनले त्यसपछि आफैले दूध उत्पादन तथा डेलिभरीको सेवा सुरु गर्ने सोच बनाए ।   

तर काठमाडौं उपत्यकाभित्र दूध पाउनु कुनै ठूलो समस्याको कुरा होइन भन्ने कुरा पाण्डेले राम्रैसँग बुझेका थिए । उपत्यकाभित्र यत्रतत्र रहेका डेरी उद्योग तथा नामी दूग्ध उत्पादकहरु माझ आफ्नो छुट्टै ब्राण्ड कसरी स्थापित गर्ने भन्ने अन्यौलता अनि चुनौति थियो ।

त्यही अन्यौलतालाई चिर्दै पाण्डेको टोली शुद्ध घरेलु दूधले नै सेवाग्राहीको मन जित्न सकिने सोचमा पुग्यो । काठमाडौंको काडाँघारीमा दूध उत्पादनका लागि २०७२ सालमा गाई फार्म सञ्चालनमा ल्याए ।

फोटो कर्टेसीः काउमाण्डु

त्यसपछि काउमाण्डुको आफ्नै घरेलु दूध उत्पादन सुरु भयो । तर काउमाण्डु ब्राण्डको स्वादबारे जानकारी दिन र बजारीकरण गर्न पाण्डेले सबैभन्दा सजिलो र सस्तो माध्यम फेसबुकको ग्रुप च्याटलाई बनाए । 

‘फेसबुकलाई मार्केटिङ टूल बनाएरै मैले यो व्यवसाय सुरु गरेको हो,’ पाण्डे भन्छन्, ‘फेसबुकमा पेज बुस्ट (विज्ञापन) गराउनुको सट्टा फेसबुकबाट ५०, ६० जनाआफन्तहरुलाई ग्रुपच्याटमार्फत कनेक्ट गराएँ । उनीहरुबाट नै प्रतिक्रिया लिएर व्यवसाय सुरु गरेकाे थिएँ ।’ व्यवसाय सुरु गर्दाको समय, लागत र जनशक्तिको चुनौति धेरै खेपेको पाण्डे बताउँछन् । 

काउमाण्डु कम्पनीको रुपमा सुरु भएको एक वर्षमात्रै भएको छ । छोटो समयमै पाण्डेको यो अग्रसरताले लोभलाग्दो प्रगति गरिरहेको छ । काउमाण्डुले व्यवसायिक सुरुवातको पहिलो वर्षमै करिब डेढ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीमा अहिले १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् जसमध्ये सातजना त विदेशबाट फर्किएकाहरु छन् ।

फोटो कर्टेसीः काउमाण्डु

काउमाण्डुले अहिले काठमाडौंको रिङरोड क्षेत्रभित्र दैनिक पाँच सय लिटर अधिक दूधको होम डेलिभरी गरिरहेको छ । अबको ६ महिनामा दैनिक एक हजार लिटर दूध डेलिभरी गर्ने लक्ष रहेको पाण्डे बताउँछन् । 

कम्पनीले अहिले दूधसँगै दूग्धजन्य सामग्रीको रुपमा घ्यू, पनिर उत्पादन मात्र गरिरहेको छैन । आफ्ना केही आउटलेटबाट, घरेलु रुपमा उत्पादित अर्गानिक सिजनल तरकारीहरु पनि बिक्री गरिरहेको छ ।  हाल सय रुपैयाँ प्रतिलिटरमा निःशूल्क दूध डेलिभरी दिदैँ आएको काउमाण्डुको सेवा काठमाडौं उपत्यकाभित्रका दशओटा रुटमा उपलब्ध छ । 

फोटो कर्टेसीः काउमाण्डु

कम्पनीको दूधको ग्राहक बन्नका लागि काउमाण्डु डट कममा आफ्नो स्थान सहितको विवरण राखेर रजिस्ट्रेसन गर्नु पर्ने हुन्छ । त्यहाँ राखिएको नम्बरको आधारमा काउमाण्डुले सम्पर्क गर्छ । ग्राहकले एकदिन परीक्षणको रुपमा दूध प्रयोग गर्न पनि सक्छन् । 

काठमाडौं उपत्यकाभित्र प्रत्येक ग्राहकको घरमा समेत काउमाण्डुको झोला झुण्ड्याइएको छ । त्यहाँ कम्पनीको फोन सम्पर्क पनि राखिएको छ । यसरी बजारिकरणको मौलिक तरिका समेत काउमाण्डुले अपनाइरहेको छ ।

फोटो कर्टेसीः काउमाण्डु

अहिले कम्पनीमा धान्नै नसक्ने गरी दूधको माग आईरहेको छ । बढि माग पुर्ति गर्न लगानी समेत बढाउनुपर्ने भएकाले कठीनाइ भइरहेको पाण्डे सुनाउँछन् । ‘हामी दैनिक १० हजार लिटरसम्म दूध डेलिभरी दिनसक्थ्यौं, तर लगानी अभावले गर्दा त्यो सकिरहेका छैनौँ’ पाण्डे भन्छन् । 

कम्पनीले बिहानको समयमा साढे आठ बजेभित्र दूधजन्य पदार्थको होम डेलिभरी दिने गरेको छ । अरु समयमा तरकारी तथा अन्य दूग्धजन्य पदार्थहरुको डेलिभरी कार्य हुन्छ । रिङरोडभीत्रै एक दिनमा डेलिभरी दिने कम्पनीले त्यसभन्दा टाढाका लागि भने भोलिपल्ट भए पनि सामान पुर्‍याइदिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१