close

सफ्टवेयर डेभलपरका लागि माइक्रोसफ्ट इम्याजिन कप २०२३ हुँदै, विजेताले एक करोड ३२ लाख पाउने

टेकपाना टेकपाना

पुस ६, २०७९ १५:८

सफ्टवेयर डेभलपरका लागि माइक्रोसफ्ट इम्याजिन कप २०२३ हुँदै, विजेताले एक करोड ३२ लाख पाउने

काठमाडौं । विश्वकै ठूलो सफ्टवेयर प्रतियोगितामध्येको एक हो, ‘माइक्रोसफ्ट इम्याजिन कप’ । सन् २०२३ को जनवरी महिनादेखि यो प्रतियोगिताकाे नयाँ संस्करण सुरू हुँदैछ ।

यसका लागि नेपालबाट माइक्रोसफ्ट टेक कम्युनिटीले समन्वय गरिरहेको छ । माइक्रोसफ्ट एमभीपी (मस्ट भ्यालुएबल प्रोफेसनल) तथा नेपाल क्लाउड प्रोफेसनलका अध्यक्ष प्रदिप कंडेलका अनुसार प्रतियाेगिताको तयारीस्वरूप नेपालमा ‘आइडियाथन’ आयोजना हुँदैछ ।

‘एक दिने प्रशिक्षणमा आइडियाथनका सहभागीलाई सफ्टवेयर डेभलपमेन्टसम्बन्धी आवश्यक प्राविधिक तथा व्यावसायिक प्रशिक्षण फरक-फरक प्रशिक्षकको सहकार्यमा दिनेछौं,’ उनले भने, ‘इच्छुक विद्यार्थी एक्लै अथवा समूहमा आएर आफ्नो प्रोजेक्ट आइडियाथनमा प्रस्तुत गर्न सक्नेछन् ।’

यसअघि पनि आइडियाथनमा राम्रो प्रस्तुति गर्ने टोलीले इम्याजिन कपमा सहभागिता जनाएको उनले बताए ।

आइडियाथनमा इच्छुक विद्यार्थीले यहाँ क्लिक गरेर आवेदन दिन सक्नेछन् । पुस १६ गते शनिबार ब्रिटिश कलेजमा हुने एक दिने बुटक्याम्प ‘आइडियाथन’ का लागि सोही दिनसम्म पनि आवेदन दिन सकिने कंडेलको भनाइ छ ।

यस कार्यक्रममा १६ वर्ष उमेर समूहभन्दा माथिका विद्यार्थी वा अन्य व्यक्ति सहभागी हुन सक्नेछन् । करिब तीन घण्टासम्म हुने बुटक्याम्पमा सहभागीले आफ्नो सोचाइ मिल्ने मानिसहरूसँग सहकार्य गरेर टिम तयार पार्न सक्नेछन् । प्रत्येक टिममा बढीमा चारजना हुनुपर्ने छ । 

माइक्रोसफ्ट इम्याजिन कप कार्यक्रममा विशेषगरी जलवायु परिवर्तन, कृषि, हरित प्रविधि, शिक्षामा नयाँ आयाम, स्वास्थ्य क्षेत्रमा नवीनतम प्रयोग, दैनिकीसँग सम्बन्धित विषयमा केही नयाँ गर्नेहरूले राम्रो अवसर पाउने बताइएको छ ।

सँगै विजेता हुनेले एक लाख डलर (लगभग एक कराेड ३२ लाख रुपैयाँ) पुरस्कार पाउनेछन् । यस प्रतियोगितामा सहभागी हुन चाहनेहरूका लागि आवश्यक मार्गदर्शन दिन आइडियाथन आयोजना गरिएको कंडेलले जानकारी दिए ।  

माइक्राेसफ्ट इम्याजिन कपमा आवेदन दिन यहाँ क्लिक गर्नुहोस्

पछिल्लो अध्यावधिक: पुस ६, २०७९ १५:४४