close

रोनाल्डोले के साँच्चै मेस्सीलाई समर्थन गरेकै हुन् त ? यस्तो छ भाइरल फोटोको वास्तविकता

टेकपाना टेकपाना

पुस ७, २०७९ १३:३७

रोनाल्डोले के साँच्चै मेस्सीलाई समर्थन गरेकै हुन् त ? यस्तो छ भाइरल फोटोको वास्तविकता

काठमाडौं । फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ सम्पन्न भएपनि सामाजिक सञ्जालमा केही पाेस्ट अहिले पनि भाइरल भइरहेका छन् । यसमध्ये क्रिश्चियानाे रोनाल्डोले लिओनल मेस्सीलाई समर्थन गरेको भनिएकाे पाेस्टले निकै चर्चा पाइरहेकाे छ । 

सामाजिक सञ्जालमा भाइरल बनिरहेको यस फोटोमा पोर्चुगलका स्टार फुटबलर रोनाल्डो आफ्नो देशको जर्सी लगाई टिभीअगाडि देखिन्छन् । पृष्ठभूमिको टेलिभिजनमा अर्जेन्टिना र क्रोएसियाको खेल भइरहेको छ । ​स्क्रिनमा लिओनल मेस्सीको दृश्य आउँदा रोनाल्डोले फोटो खिचेको देखिन्छ । तर, यसकाे वास्तविकता फरक छ ।

यो फोटो रोनाल्डोले २०२० अक्टोबर महिनामा इन्स्टाग्राममा अपलोड गरेका थिए । त्यस समयमा कोभिड-१९ का कारण रोनाल्डो क्वारेन्टिनमा थिए । स्वीडेनविरुद्ध नेसनल लिग खेलिरहेको आफ्नो टिमलाई थप हौसला प्रदान गर्न उनले खेल भइरहेको बेला टिभीअगाडि फोटो खिचेर इन्स्टामा राखेका हुन् ।

विभिन्न अन्तर्राष्ट्रिय मिम पेजले ट्रोल बनाउन एडिट गरिएको यस फोटोलाई धेरैले वास्तविक सोचेर भ्रम बोकिरहेका छन् ।

मेस्सीले नेपाली समर्थकलाई धन्यवाद दिएको ट्वीट पनि फेक

सामाजिक सञ्जालमा अर्जेन्टिना र मेस्सीले फरक-फरक पोस्टबाट बङ्गलादेशी, भारतीय लगायत नेपाली समर्थकलाई धन्यवाद दिएको 'ट्वीट' पनि भाइरल छ । उक्त फोटोमा मेस्सीले अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्कासहित दक्षिण एसियाबाट समर्थन गर्ने आठ देशलाई धन्यवाद दिइएको देखिन्छ ।

वास्तवमा मेस्सीको सामाजिक सञ्जाल ट्वीटरमा कुनै व्यक्तिगत अकाउन्ट नै छैन । त्यसैले ट्वीटरमा अकाउन्ट नै नभएका लिओनल मेस्सीले नेपालीलाई समर्थन गरेकोमा धन्यवाद दिएको भन्ने पाेस्ट झुटो हो ।

त्यस्तै अर्जेन्टिनाको आधिकारिक अकाउन्टबाट पनि नेपालीलाई धन्यवाद भनिएको ट्वीट भाइरल छ । वास्तवमा उक्त फोटो पनि एडिट गरिएको हो ।

सोमबार एक बङ्गलादेशी प्रयोगकर्ताको ट्वीट शेयर गर्दै अर्जेन्टिनाले बङ्गलादेश, केरला, भारत र पाकिस्तानलाई धन्यवाद दिएको थियो । सोही ट्वीटलाई एडिट गर्दै नेपाललाई पनि धन्यवाद भनेको गलत फोटो अहिले भाइरल भइरहेको छ ।

 

पछिल्लो अध्यावधिक: पुस ७, २०७९ १३:५६