close

नेपालबाट जाने बाढीको अलर्ट दिन बिहारमा गूगलको एआई प्रविधि

टेकपाना टेकपाना

भदौ १७, २०७७ १३:१३

नेपालबाट जाने बाढीको अलर्ट दिन बिहारमा गूगलको एआई प्रविधि

काठमाडौं ।  भारत विश्वको दोस्रो धेरै जनसंख्या भएको देश हो । प्रत्येक वर्ष विश्वभरमा बाढीका कारण हुने मृत्यु हुनेहरुमध्ये २० प्रतिशतभन्दा बढी भारतकै हुने गर्दछन् ।

बाढीले नै त्यहाँ वर्षेनी दशौं हजार घरहरु सोहोर्ने गर्छ । त्यसैलाई मध्येनजर गर्दै दुई वर्ष अघिदेखि भारतका बाढी पीडितलाई सहयोग गर्न गूगलका स्वयम्‌सेवकहरु जुटेका छन् ।

सन् २०१८ देखि कम्पनीले बिहारको राजधानी पटनामा बाढी पूर्वानुमान ‘पाइलट इनिसियटिभ’ सुरु गर्‍यो । बिहार भारतको यस्तो राज्य हो, जुन लामो कालखण्डदेखि भारतकै सबैभन्दा बढी बाढीबाट क्षति व्यहोर्ने राज्यमा पर्दै आएको छ । 

जहाँ वर्षेनी सयभन्दा बढीले ज्यान गुमाउने गरेका छन् । गूगलले उनीहरुलाई वास्तविक समयमा सही किसिमको बाढी पूर्वानुमानको जानकारी दिन यस्तो प्रयास थालेको थियो ।

कम्पनीको एआई मोडेलले विश्वका विभिन्न भागका कयौं नदी बेसिनको ऐतिहासिक तथ्याङ्कलाई सही किसिमको पूर्वानुमानका लागि विश्लेषण गर्दछ । यो परियोजनामा गूगलले एक्लो रुपमा काम गरिरहेको भने छैन ।

बरु यसले भारतको कन्द्रीय जल आयोग, इजरायल इन्स्टिचुट अफ टेक्नोलोजी र बारइलान युनिभर्सिटीसँग सहकार्य गरिरहेको छ । कम्पनीले आफ्नो प्रयासमा सुधार ल्याउन नयाँ दिल्लीले कसरी पानीको सतहको तथ्याङ्क संकल गरिरहेको छ भन्ने सन्दर्भमा भारतको सरकारसँग समेत मिलेर काम गरिरहेको छ ।

उनीहरुले एउटा नयाँ इलेक्ट्रोनिक सेन्सर इन्स्टल गरेका छन्, जसले स्वचालित रुपमा पानीको क्षेत्रमा काम गर्ने निकायहरुमा डेटा सम्प्रेषणको काम गर्दछ ।  दुई वर्षपछि आएर गूगलले मंगलबार आफ्नो ‘फ्लोड फोरकास्टिङ इनिसियटिभ्स’ ले सम्पूर्ण भारतलाई समेटेको घोषणा गरेको छ ।

तस्वीरः गूगल

कम्पनीले बंग्लादेशको जल विकास बोर्डसँग समेत सहकार्य गरिरहेको जनाएको छ । भारतको छिमेकी मुलुक बंग्लादेशमा विश्वका अन्य देशको दाँजोमा बाढी धेरै आउने गर्दछ । यससँगै बंग्लादेश भारत बाहिर गूगलको यो सेवा सुरु हुने पहिलो मुलुक समेत बनेको छ ।

गूगलको यो प्रयासबाट संभवतः भारत र बंग्लादेशका जनताको जीवनमा निकै ठूलो परिवर्तन ल्याउनेछ । कम्पनीले हालसम्म भारतको बाढी प्रभावित क्षेत्रमा तीन करोडभन्दा बढी नोटिफिकेसन पठाइसकेको जनाएको छ ।

उसले दुई लाख ५० हजार वर्ग किलोमिटर क्षेत्रका २० करोड जनतालाई आफ्नो प्रयासले सहयोग पुगेको बताएको छ । बंग्लादेशमा गूगलको मोडेलले चार करोड जनतालाई समेट्न सफल भइसकेको छ र समग्र राष्ट्रमा नै यसलाई विस्तार गर्ने योजनाका साथ काम चालु छ ।

‘हामीले मानिसहरुलाई बाढीको पानी कहिले कति मात्रामा बढ्छ भन्ने बारेको जानकारी उपलब्ध गराइरहेका छौं । बाढीग्रस्त क्षेत्रको गहन नक्सा तयार पारेर प्रयोगकर्ताको गाउँ तथा क्षेत्रको बारेमा विस्तृत जानकारी शेयर गर्दै आएका छौं,’ गूगलका इन्जिनियरिङ भीपी तथा क्राइसिस रेस्पोन्सको नेतृत्व गरिरहेका योस्सि मटिसले लेखेका छन् ।

तस्वीरः गूगल

यसक्रममा कम्पनीले यलेसँग पनि काम गरिरहेको बताएको छ र सेवामा थप सुधारको आवश्यकता समेत देखिएको छ । यस वर्ष गूगलले अलर्ट थाहा पाउने तरिकालाई थप पहुँच योग्य र प्रभावकारी बनाउने छ ।

त्यसका लागि हिन्दी, बंगाली र अन्य सात वटा स्थानीय भाषालाई थप गरिएको छ र आगामी दिनमा म्यासेजिङ अलर्टलाई कस्टमाइज गर्दै लगिनेछ । कम्पनीले नयाँ फोरकास्टिङ मोडेल समेत रोलआउट गरेको छ ।

जसले यसका अलर्टको वार्निङको समयलाई दोब्बर बनाएको छ । कम्पनीको परोपकारी अंगको रुपमा रहेको गूगल डट ओआरजीले स्थानीय नेटवर्क बनाउन र सोझै स्मार्टफोन नहुनेहरुका लागि समेत अलर्ट उपलब्ध गराउन अन्तर्राष्ट्रिय रेडक्रश फेडेरेसन र रेडक्र‍श सोसाइटसँग सहकार्य गर्न समेत थालिसकेको छ ।

तस्वीरः रोयटर्स

‘यसमा जोखिमपूर्ण अवस्थामा रहेका धेरै जनता निर्भर छन् । बाढी प्रभावित क्षेत्रका अझ धेरै जनतामाझ विस्तार गर्नका लागि सिस्टमा सुधार गर्न आगामी दिनमा धेरै नै काम गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि हामी विश्वभरका हाम्रा साझेदारसँग सहकार्य गर्दै छौं ।’

‘यसलाई विकास गर्ने, व्यवस्थापन गर्ने र प्रविधिमा थप सुधार गर्दै लैजाने विषयलाई हामी निरन्तरता दिने छौं । यो परियोजनाको डिजिटल टूल्सले समुदाय र जीवन जोगाउन सहयोग गर्नेछ,’ मटिसले उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०