close

डेटिङ एपले जुराइदिएको प्रेम सुमधुर र टिकाउ हुने अध्ययनको निश्कर्ष

टेकपाना टेकपाना

पुस १६, २०७७ १५:४८

डेटिङ एपले जुराइदिएको प्रेम सुमधुर र टिकाउ हुने अध्ययनको निश्कर्ष


काठमाडौं । कोभिड १९ संक्रमणले महामारीको रुप लिएसँगै मानिसहरु प्रविधिका पछिल्ला एप्लिकेशन र सफ्टवेयरको प्रयोगमा तल्लीन छन् । यस्ता एप्लिकेशनको कुरा गरिरहँदा किशोर र युवा पुस्ताका लागि पछिल्लो समय दिन बिताउने, जोडी बनाउने र भावना साट्ने माध्यम डेटिङ एप बनेका छन् ।

यस्ता डेटिङ एपले प्रेम वा रोमान्समा सतही र अल्पकालीन उडान मात्र गर्ने तर्क धेरैको छ । तर एक अध्ययनले यस्ता डेटिङ एपले सम्बन्धलाई दीर्घकालीन र पारस्परिक खुशी कायम राख्न सघाइरहेको निश्कर्ष निकालेको छ ।

साथै यस्ता मोबाइल एपहरुले जाेडी बन्ने पुरानाे शैली परिवर्तन गर्दै एक ठाउँबाट संसारका कुनै कुनामा रहेका व्यक्तिसँग सम्बन्ध जाेड्न सघाएकाे विश्लेषण गर्दै सो अध्ययनले सीमित ठाउँभित्र जोडी बन्नुपर्ने बाध्यता अन्त्य गरिदिएको जनाएको छ ।

सो अध्ययन स्वीटजरल्याण्डको जेनेभा युनिभर्सिटी (युएनआईजी) को एक टिमले गरेको थियो । अध्ययनले उल्लेख गरेअनुसार परम्परागत डेटिङ साइटहरूको विपरित अहिलेका टिन्डर, ग्रिन्डर जस्ता पछिल्ला स्मार्टफोन एप्समा आएका प्रयोगकर्तामैत्री फिचरले जोडीहरूबीच अन्तर्क्रिया बढाउने, प्रेममा थप बाँध्ने र दीगो सम्बन्ध कायम गराउन सहयोग गरिरहेको छ ।

यति मात्रै होइन अफलाइन वा भेटेरै जोडी कस्नेहरूको तुलनामा डेटिङ एपबाट बनेका जोडीहरू एकअर्कामा खुसी देखिने साे अध्ययनले जनाएको छ ।

‘मिडियाको ठूलो क्षेत्रले अनलाइन डेटिङ एपका कारण सम्बन्धको गुणस्तरमा नकारात्मक असर पार्ने दाबी गरिरहेका छन् । किनभने उनीहरुले एक विशेष वा दीर्घकालीन सम्बन्धमा लगानी गर्न नसक्ने व्यक्तिलाई प्रस्तुत गर्दछन्,’ युएनआईजीको इन्स्टिच्युट अफ डेमोग्राफी एण्ड सोसियो इकोनोमिक्सकी अनुसन्धानकर्ता गीना पोटर्काले बताइन् ।

उनका अनुसार यस्ता केसलाई प्रमाणित गर्ने कुनै प्रमाण भने छैन। ‘अध्ययनले उनीहरूको अन्तिम अभिप्राय दीर्घकालीन वा छोटो अवधिको लागि सँगै बस्ने हो भन्नेबारे केही बताएको छैन,’ उनी भन्छिन्, ‘तर उनीहरू खुसी छन् । विवाह गर्ने चाहना ठूलो हुन्छ । यीमध्ये केही जोडीले विवाह नगरीकनै लिभिङ टुगेदरसम्म बस्ने गरेका छन् ।’

अध्ययनले यो पनि पत्ता लगाएकाे छ कि डेटिङ एपमार्फत बनेका जोडीहरूले अरूको तुलनामा बच्चा जन्माउने तीव्र इच्छा राख्ने गर्छन् ।

अध्ययनका क्रममा डेटिङ एपबाट भेट्ने जोडीहरूले पनि उनीहरूको सम्बन्धका बारे समानस्तरको सन्तुष्टि व्यक्त गरे, जुन परम्परागत माध्यमबाट आफ्नो पार्टनर भेट्नेहरूभन्दा बढी भएको अध्ययनले प्रस्तुत गरेको छ ।

यो वर्ष डेटिङ एपको प्रयोग ह्वात्तै बढ्नुका पछाडि कोभिड १९ को संक्रमण रहेको विश्लेषण गरिएको छ । लकडाउन, सामाजिक दूरी कायम राख्नुपर्ने लगायतका कारण पनि मानिसहरू अनलाइनबाटै जोडी बनाउने र आफ्ना भावनाहरू साट्ने गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०