close

भरपर्दो छैन नेपालको इन्टरनेट तथ्याङ्क

टेकपाना टेकपाना

चैत १, २०७७ १८:५

भरपर्दो छैन नेपालको इन्टरनेट तथ्याङ्क

काठमाडौं । पछिल्लो समय नेपालमा दूरसञ्चार तथा मोबाइल सेवाको विस्तार र प्रयोग उल्लेखनीय रुपमा बढेको कुरामा शंका छैन । तर नेपालमा इन्टरनेट तथा दूरसञ्चार सेवाको प्रयोगको आँकडा भने त्यति विश्वसनीय छैन । 

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हरेक महिना दूरसञ्चार सेवा सम्बन्धी म्यानेजमेन्ट इन्टफरमेसन सिस्टम (एमआईएस) प्रतिवेदन निकाल्दै आएको छ । तर प्रतिवेदनमा भएको तथ्याङ्क नै कति वास्तविक हो भन्ने कुरामा विज्ञ तथा जानकारहरुले आशंका व्यक्त गर्दै आएका छन् ।

सूचना प्रविधिको अहिलेको समयमा इन्टरनेटको विकासका लागि यसको प्रयोगको वास्तविक अवस्थाको विश्लेषण निकै महत्वपूर्ण हुन्छ । सेवाप्रदायकले हरेक महिना उपलब्ध गराएको ग्राहक तथा प्रयोगकर्ता संख्यालाई नै आधार मानेर प्राधिकरणले आफ्नो एमआईएस प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

तर सेवाप्रदायक कम्पनीले उपलब्ध गराएको तथ्याङ्क नै कत्तिको वास्तविक र भरपर्दो छ भन्ने विषय चाहिँ ‘क्रश भेरिफाई’ हुनेगरेको पाइँदैन । अझ फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको हकमा त झन् सेवाप्रदायकले पठाएको ग्राहक संख्यालाई नेपालको औषत घरपरिवार संख्या (४.८८) ले गुणन गरेर प्राधिकरणले इन्टरनेट प्रयोगकर्ताको संख्या निर्धारण गर्दै आएको छ ।

आमूल रुपमा परिवर्तन भइरहेको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विज्ञ सरकारी निकायले नै परम्परागत विधिबाट तथ्याङ्क संकलन गर्दा यसको सत्यतामाथि प्रश्न उठ्ने गरेको हो । प्रविधिको अभाव वा असम्भव भएका कारण सेवाप्रदायकले पठाएको विवरणमा नियामकले आँखा चिम्लिएर विश्वास गर्नुपर्ने बाध्यता पनि छैन ।

प्राधिकरणले चाहेको खण्डमा भीएलआर (भिजुअल लाइभ रेकर्ड) मार्फत सेवाप्रदायका ग्राहकको वास्तविक आँकडा निकाल्न सक्ने प्राधिकरणकै कर्मचारी स्वीकार  गर्छन् । 

त्यसो त नियामकले बेला बेलामा दूरसञ्चार कम्पनीहरुको भीएलआर मार्फत सक्रिय मोबाइल प्रयोगकर्ता संख्या जाँच गर्दै आएको पनि छ । तर प्राधिकरणको आधिकारिक तथ्याङ्कमा भने त्यस्तो विवरण अहिलेसम्म प्रकाशित भएको देखिँदैन । 

यसकारण विश्वसनीय छैन प्राधिकरणको तथ्याङ्क

एसिया प्रसान्त क्षेत्रमा आईपी एड्रेस वितरण गर्दै आएको रजिस्ट्री निकाय एप्निकले आईपी एड्रेसको आधारमा इन्टरनेटमा सक्रिय प्रयोगकर्ताको तथ्याङ्क राख्दै आएको छ । सिस्टमबाट स्वचालित रुपमा तयार हुने यो तथ्याङ्क प्राधिकरणको एमआईएसमा भएको तथ्याङ्कसँग भने धेरै हदसम्म बाझिने गरेको छ ।  

क्र.सं‍‍सेवाप्रदायकएप्निकको तथ्याङ्कएनटीएको तथ्याङ्कअन्तर
१.वर्ल्डलिङ्क२४,४७,०४७२१,५५,३१५२९१७३२
२.भायनेट७,७१,२२७६,३२,७३११३८४९६
३.सुबिसु७,३४,२९६८,८२,२११-१४७९१५
४.क्लासिक टेक३,०९,०७८६,२३,४७३-३१४३९५
५.वेबसर्फर३,०९,०५७१,४४,७९४१६४२६३
६.टेकमाइन्ड्स२,७९,२३६२,७३,८४६4५३९० 
७.ब्रोडलिङ्क१३८,९५११,९२,९८०-५४०२९
एप्निकको तथ्याङ्कमा (२९ फागुन २०७७ सम्म) इन्टरनेट प्रयोगकर्ता संख्या र प्राधिकरणको तथ्याङ्कमा (२०७७ पुस मसान्तसम्म) आधारित इन्टरनेट प्रयोगकर्ता संख्या । स्रोतः एसिया प्यासिफिक नेटवर्क इन्फरमेसन सेन्टर-एप्निक र नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)

यसै गर्ष फागुन मसान्तको एप्निकको तथ्याङ्क र पुस मसान्तको प्राधिकरणको तथ्याङ्कको अवधिबीच जम्मा दुई महिनाको अन्तर छ । प्रायः हरेक जसो इन्टरनेट सेवाप्रदायकले आफ्ना ग्राहक बढाइरहेकै छन् । त्यस अर्थमा सबै सेवाप्रदायकले पुस यताका दुई महिनामा ग्राहक संख्या बढाएको अन्दाज सहजै गर्न सकिन्छ । 

तर दुई महिना अगाडिको तथ्याङ्कसँग दाँजेर हेर्दा केही सेवाप्रदायको प्रयोगकर्ता संख्या भने ऋणात्मक देखिन्छ । जसमा दुई महिना अगाडि ६ लाख २३ हजार ४७३ प्रयोगकर्ता संख्या रहेको क्लासिक टेकको फागुन मसान्तको तथ्याङ्कमा घटेर ३ लाख १४ हजार ३९५ मा प्रयोगकर्ता संख्या सीमित भएको छ । एप्निकको तथ्याङ्कमा कम्पनीका इन्टरनेट प्रयोगकर्ता केवल ३ लाख ९ हजार ७८ मात्र देखिन्छन् । 

एउटा अर्को उदाहरण हेरौं । एप्निकको तथ्याङ्कमा क्लासिक टेक र वेब सर्फरको प्रयोगकर्ता संख्या समान देखिन्छ । तर दुई महिना पछिको दुवै कम्पनीको प्रयोगकर्ता संख्या भने चार लाख ७८ हजार ६७९ ले फरक छ ।  

स्रोतः एप्निक

क्लासिक टेकका सीईओ प्रमेश खरेल भने ग्राहक संख्याका लागि एप्निकको तथ्याङ्कमा भर पर्न नसकिने बताउँछन् । ‘एप्निकले कहाँबाट कसरी तथ्याङ्क लिइरहेको छ, थाहा छैन,’ उनी भन्छन्, ‘कुनै ग्राहकले जोडेको इन्टरनेटमा एक जनाले चलाइरहेको होला ।

कुनैमा पाँच जना पनि हुनसक्छन् । यस्तोमा आईपी एड्रेसबाट निकालिएको तथ्याङ्कले यति नै ग्राहक भनेर यकिन गर्न सम्भव छैन ।’

तर तथ्याङ्क यति धेरै अमिल्दो देखिनु आफैंमा अनौठो विषय भएको इन्टरनेट क्षेत्रका जानकारहरु बताउँछन् । उनीहरुका अनुसार कि त कम्पनीका ग्राहक घटेको हुनुपर्ने नभए कम्पनीले वास्तविक ग्राहक संख्याभन्दा बढी वा कम देखाएको हुनुपर्छ । 

भीएलआरका साथै सेवाप्रदायकले आयात गर्ने ब्याण्डविथ र त्यसको खपतलाई आधार बनाएर सेवाप्रदायकहरुको ग्राहक आधारबाट ‘क्रश चेक’ गर्न सकिने उनीहरुको सुझाव छ ।

‘एप्निकको प्रविधि र प्राधिकरणको विधिबाट आएको तथ्याङ्क एक आपसमा जस्ताको तस्तै मिल्ने कुरा त भएन,’ नेपाल इन्टरनेट एक्सचेञ्ज (एनपीआईएक्स) का एक अधिकारी भन्छन्, ‘तर यतिसाह्रो उल्टोपाल्टो हुन चाहिँ नहुने हो ।’

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल सेवाप्रदायकले पठाएकै विवरणका आधारमा एमआईएस अपडेट हुनेगरेको बताउँछन् ।

‘कुनै सेवाप्रदायकले ग्राहक संख्या लुकाएको वा वास्तविकभन्दा बढी देखाएको भन्ने किसिमको गुनासो आएको खण्डमा हामीले त्यसमाथि अनुसन्धान अगाडि बढाउन सक्छौं,’ उनी भन्छन्,

‘मोबाइल सेवाप्रदायकको हकमा भने नयाँ एमआईएसको टेमप्लेट परिवर्तन गरेरै टेलिकम कम्पनीहरु भिएलआरको रेकर्डमा देखिएको तथ्याङ्क राख्ने तयारी अगाडि बढाइसकेका छौं ।’

प्राधिकरणले तथ्याङ्क तयार पार्न एप्निकको रिफ्रेन्स भने नलिएको प्रवक्ता अर्यालको भनाई छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१