close

‘डार्कवेबमा बिक्रीका लागि राखिएको कल डिटेल नेपाल टेलिकमको होइन’

टेकपाना टेकपाना

असार २८, २०७८ १४:४९

‘डार्कवेबमा बिक्रीका लागि राखिएको कल डिटेल नेपाल टेलिकमको होइन’

काठमाडौं । डार्कवेबमा बिक्रीमा राखिएको भनिएको सीडीआर (कल डिटेल रेकर्ड) आफ्नो नभएको नेपाल टेलिकम स्रोतले दाबी गरेको छ । यसअघि टेलिकमको सर्भरमा आक्रमण गरी डेटा चोरी भएको र सोही डेटा बिक्रीमा राखिएको आशंका गरिएको थियो ।

आइतबार कम्पनीको सर्भर ह्याक भएको समाचार आएलगत्तै टेलिकमले त्यसमाथि छानविन अगाडि बढाएको थियो । दिउँसोको समयमा जाँच गर्दा एउटा सर्भरमा शंका लागेपछि त्यसलाई तत्कालै शट डाउन गरी कम्पनीको नेटवर्कबाट अलग्याइएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

‘त्यो पुरानो र प्रयोगमा नरहेको सर्भर हो । उक्त सर्भरमा कुनै किसिमको डेटा रहेको थियो वा थिएन, भए पनि उपयोगी तथा महत्वपूर्ण सूचना थियो वा थिएन, कति डेटा थियो, ह्याक हो वा होइन लगायतका सबै विषयमा हामीले छानविन अगाडि बढाइसकेका छौं,’ उनले भने, ‘अबको एक दुई दिनमा छानविन सकेर विस्तृत जानकारी सार्वजनिक गर्ने योजनामा छौं ।’

अहिले नै यी विषयमा केही भनिहाल्नु हतारो हुने भन्दै प्रवक्ता जोशीले सबै विषयहरू अहिलेसम्म शंङ्काको घेरामै रहेको बताए । ‘छानविन सकिएपछि त्यसबाट प्राप्त निष्कर्ष औपचारिक रुपमा वक्तव्यमार्फत सार्वजनिक गर्छौँ,’ उनले भने । यद्यपि डार्क वेबमा बिक्रीमा राखिएको भनिएको विवरण भने टेलिकमको सीडीआर नभएको पाइएको छ ।

बिक्रीमा राख्ने व्यक्तिले उपलब्ध गराएको नमूना प्रतिमा भएको विवरण नै सीडीआर अनुरूप नदेखिएको हो । जसमा  ‘टर्मिनल सीडीआर स्याम्पल-१’ नाम दिइएको स्याम्पल डेटामा प्रिफिक्स (मोबाइलको सुरुवाती नम्बर), देशको नाम (पाकिस्तान, फिलिपिन्स र नेपाल), कल भएको मिति, कलको समय, र एनसेलका मोबाइल नम्बरहरू आदि रहेका छन् ।

तर एनसेलको प्राविधिक टोलीले जाँच गरेर हेर्दा सीडीआरको नमूनामा उल्लेख गरिएका एनसेलका रिसिभिङ नम्बरहरूको रेकर्ड आफ्नो सीडीआरमा मेल नखाएको कम्पनीले जनाएको छ । कम्पनीले जवाफमा भनेको छ, ‘यस आधारमा उक्त सिडिआर झुटो र सम्भवतः काल्पनिक हो । (एनसेलबाट यस विषयमा प्राप्त आधिकारिक धारणा अपडेट गरिएको छ- स.)

डार्कवेबमा सीडीआर डेटा बिक्रीमा राख्ने व्यक्तिबाट प्राप्त डेटा स्याम्पल (नमूना)

उक्त डेटा नेपालको कुनै टेलिकम सेवाप्रदायकसँग सम्बन्धित नभएर विदेशी सिप (भीओआईपीमा आधारित कल) टर्मिनेसनबाट प्राप्त गरेको जस्तो देखिएको साइबर सुरक्षा फर्म भैरव टेक्नोलोजीका संस्थापक तथा सीईओ विजय लिम्बूको विश्लेषण छ । ‘यतिमात्र होइन, डार्कवेबमा गरिएको पोस्ट पुरानै पोस्टको सम्पादित जस्तो देखियो,’ टेकपानासँगको कुराकानीमा उनले भने ।

डार्क वेबमा राखिएको पोस्टको साथमा उक्त पोस्ट नै वास्तविक नभएको आशंका गर्ने आधार सहितको अर्को पोस्ट

टेलिकमको एउटा सर्भरबाट ह्याकरले डेटा चोरी गरेको देखिए पनि त्यो कुन प्रकारको डेटा हो भन्ने कुरा चाहिँ यकिन हुन नसकेको लिम्बूको ठम्याई छ । टेलिकम स्रोतले समेत डार्कवेबमा सीडीआर डेटा बिक्रीमा राखेको भनिएका व्यक्तिबाट प्राप्त स्याम्पल (नमूना) सीडीआरसँग मेल नखाने किसिमको रहेको बताएको छ ।

टेलिकमका एक एच्च अधिकृतले टेकपानासँग भने, ‘त्यसमा कल गरिएको मोबाइल नम्बर देखिए पनि कल गर्नेको मोबाइल नम्बर स्पष्ट छैन । त्यसको साटो नाम तथा संकेतहरू मात्र छन् । जुन टेलिकम कम्पनीको सीडीआर रेकर्डसँग कुनै पनि किसिमले मेल खाँदैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३