close

एक नेपाली स्टार्टअपमा लगानी गर्नेबारे अश्नीर ग्रोभरलाई प्रश्न, जवाफमा उनले भनेः 'अहँ, गर्दिनँ'

टेकपाना टेकपाना

पुस २७, २०७९ १५:३५

एक नेपाली स्टार्टअपमा लगानी गर्नेबारे अश्नीर ग्रोभरलाई प्रश्न, जवाफमा उनले भनेः 'अहँ, गर्दिनँ'

काठमाडौं । मङ्गलबार राजधानीको सोल्टी मोड स्थित हायात प्यालेस होटेलमा पीएसपी (पेमेन्ट सर्भिस प्रोभाइडर्स) समिट आयोजना गरिएको थियो । जसको आयोजक थियो, स्विभ्ट टेक्नोलोजी ।

नेपाली स्टार्टअप कम्पनी स्विभ्ट टेक्नोलोजीले पीएसपी समिट नाम दिएको भए पनि कार्यक्रम भने मूल रूपमा स्विभ्ट टेक्नोलोजीले विकास गरेको अफलाइन पेमेन्ट सिस्टम 'सयपत्री'मा केन्द्रित थियो । जसमा नेपालको भुक्तानी प्रणाली तथा सेवा क्षेत्रमा कार्यरत विभिन्न कम्पनीका सञ्चालक, सीईओ र पेशाकर्मीहरूको उपस्थिति थियो । 

कार्यक्रम सयपत्रीको प्रोमोसँगै सुरु भयो । कम्पनीका संस्थापक सुभास शाहीले स्विभ्ट टेक्नोलोजी स्थापनादेखि सयपत्री विकासको सन्दर्भ मात्रै जोडेनन्, उनले कम्पनी आगामी ५ वर्षमा तीन करोड अमेरिकी डलर मूल्यको बन्ने आफ्नो भरोसा समेत सुनाए ।

समग्रमा कार्यक्रम सयपत्री प्रोडक्टको आइडिया पिच जस्तै सुनियो । मञ्चमा मुख्य वक्ताको रूपमा निम्त्याइएका ग्रोभर, स्विभ्ट टेक्नोलोजीकी सीईओ (प्रमुख कार्यकारी अधिकृत) समिता राना (स्वयम् प्रस्तोता थिइन्) र साथमा कम्पनीका सीटीओ (प्रमुख प्राविधिक अधिकृत) सुरज माझी थिए । 

प्रश्नोत्तर शैलीमा सञ्चालन गरिएको सेसनको अन्त्यतिर ग्रोभरलाई दर्शक दीर्घाबाट एउटा लगानीकर्ताको रूपमा प्रस्तुत स्विभ्ट टेक्नोलोजीको सयपत्रीमा लगानी गर्न चाहनु हुन्छ भनेर सोधियो । साथै यस्ता अफलाइन पेमेन्ट सिस्टमको भविष्य कस्तो होला भन्ने प्रश्न पनि राखियो ।

त्यसपछि उनी चर्चित रियालिटी शो शार्क ट्याङ्क इन्डियामा प्रस्तुत भएकै शैलीमा उत्रिए । सटीक जवाफमा उनले भने, "अहँ, म लगानी गर्दिनँ । त्यसको कारण के भने हामीले भारतको डिजिटल भुक्तानीको विगतको यात्रा नजिकबाट नियालेका छौँ । अन्ततः भुक्तानी निःशुल्क हुने निश्चित छ । यदि हार्डवेयर राख्दै हुनुहुन्छ भने तपाईँ केवल व्यवसायको लागत बढाउने काम गर्दै हुनुहुन्छ ।"

भारतमा के गरियो र नेपालमा कुन चिजले काम गर्छ भन्ने सन्दर्भमा उनले तुलनात्मक रूपमा सस्तो हुने कुनै विकल्प उपयुक्त हुने तर्क राखे । "त्यसका लागि आधारभूत रूपमा राम्रो इन्टरनेट कनेक्सन चाहिन्छ । अहिले धेरैभन्दा धेरैसँग स्मार्टफोन छ ।"

"मलाई एप चलाउन साक्षरताको अभाव भन्ने कुरा समस्या नै होइन जस्तो लाग्छ । म ढुक्कसँग भन्न सक्छु भारतमा पढ्न नसक्ने मान्छेहरूले पनि यूपीआई प्रयोग गरी भुक्तानी गरिरहेका छन् । किन भने यो सङ्ख्याको कुरा मात्रै हो, रकम उल्लेख गरेर पिन नम्बर राख्ने । मानिसहरूले यति कुरा एकदमै चाँडो सिक्न सक्छन् ।"

भारतमा सुरुवाती छ महिनासम्म यूपीआईले खासै वृद्धि गर्न नसकेको ग्रोभरले सुनाउ । "जब कोभिड महामारी आयो, मानिसहरू आफ्नो गाउँगाउँ गए र यूपीआईले कसरी काम गर्छ भन्ने कुरा सिकाए । त्यसपछि यूपीआईको प्रयोग एकदमै धेरै बढेको हो ।"

सयपत्रीको सन्दर्भमा ग्रोभरले यो हार्डवेयरमा निर्भर सिस्टम भएको उल्लेख गर्दै उनले प्रविधि निकै तीव्र गतिमा परिवर्तन हुँदै गएको सन्दर्भ जोडे ।

"सफ्टवेयरको पाटोमा प्रविधि परिवर्तन गर्न एकदमै सजिलो छ । केवल बेलुकातिर गुगल प्ले स्टोरमा एपको नयाँ भर्सन उपलब्ध गराए पुग्छ । भोलि बिहानसम्म ८५ प्रतिशत मोबाइलमा त्यो भर्सन अपडेट भइसक्छ । तर तपाईँ हार्डवेयरको क्षेत्रमा कुरा गर्नु हुन्छ भने डिभाइसलाई नै स्टकमा राख्नुपर्ने हुन्छ । त्यसमा कुनै चिज परिवर्तन गर्न चाहनु भयो भने तपाईँले हार्डवेयर नै फेर्नुपर्ने हुन्छ ।"

अफलाइन पेमेन्ट हार्डवेयर उपकरण बनाउनुको साटो मर्चेन्टका लागि कारोबार अझ बढी सस्तो कसरी बनाउने भन्नेतर्फ प्रयास गर्न सुझाव दिए । "यदि तपाईँले त्यस्तो समाधान पहिचान गर्न सक्नु भयो भने त्यो नै तपाईँको जित हुनेछ," ग्रोभरले भने ।

यस्तो थियो ग्रोभरलाई लगानीका लागि प्रस्तुत गरिएको नेपाली प्रोडक्ट

पछिल्लो अध्यावधिक: पुस २७, २०७९ १५:५६