close

अब यस्तो हुनेछ सरकारी वेबसाइटको डिजाइन

टेकपाना टेकपाना

माघ २९, २०७९ १८:६

अब यस्तो हुनेछ सरकारी वेबसाइटको डिजाइन

काठमाडौं । सरकारी कार्यालयको वेबसाइटको डिजाइन एउटै बनाउने काम अघि बढेको छ । सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८ मा उल्लेख भए अनुसार सबै सरकारी कार्यालयहरूको वेबसाइटमा एकरूपता ल्याउने काम अगाडि बढेको हो ।

टेकपानासँग कुरा गर्दै सूचना प्रविधि विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठले सरकारी कार्यालयका वेबसाइटको साझा टेम्प्लेट १५ ओटा सरकारी वेबसाइटमा लागु भइसकेको जानकारी दिएका छन् । उनका अनुसार यो टेम्प्लेट हाल सूचना प्रविधि विभाग, मुद्रण विभाग हुलाक सेवा विभागका वेबसाइटमा लागु भइसकेको छ ।

सरकारी कार्यलयका लागि साझा टेम्प्लेट वितरण गर्ने जिम्मा सूचना तथा प्रविधिले पाएको श्रेष्ठले बताए । "यो निकै कम लागतमा बनेको छ," उनी भन्छन्, "सरकारी कार्यालयले आफ्नै तरिकाले बनाउँदा कसैको खर्च कम र कसैको बढी लाग्थ्यो । साथै साइटमा एकरूपता पनि नभएका कारण एउटै टेम्प्लेट हुनुपर्ने निर्णय लिइएको हो । सोही अनुरूप हामी अहिले काम गर्दैछौँ ।"

सरकारी कार्यालयका वेबसाइटमा नयाँ डिजाइन लागू गरि युजरनेम र पासवर्ड दिने काम सुरु भइसकेको उनले बताएका छन् । जसअन्तर्गत १५ ओटा निकायको वेबसाइटमा डिजाइन समावेश भइसकेको छ भने पासवर्ड तथा युजरनेम दिएर कस्टमाइज (कार्यालय अनुकूल बनाउने) गर्ने काम बाँकी छ ।  

जसअन्तर्गत उक्त टेम्प्लेट तयार भइसकेको छ । अहिलेलाई डिजाइन यही भए पनि समय र आवश्यकता अनुसार परिमार्जन गर्दै जाने श्रेष्ठले बताए । 

सबै सरकारी निकायमा एउटै टेम्प्लेट राख्दा साइबर सुरक्षाका हिसाबले साइट सुरक्षित हुने उनको विश्वास छ । "एउटै टेम्प्लेट हुँदा साइट सुधार तथा व्यवस्थापन खर्च कम लाग्छ । यो एकीकृत कन्सेप्टमा तयार भएको हो । जसले गर्दा धेरै कुरा समान हुन्छ," उनी थप्छन् ।

नयाँ डिजाइन समावेश गरेसँगै विभागबाट युजरनेम र पासवर्ड पठाउने काम जारी छ ।  

यस्तो हुनेछ नेपाल सरकारका साइट:

पछिल्लो अध्यावधिक: माघ २९, २०७९ १८:६