close

किन जिमेलमा युजरनेम परिवर्तन गर्न मिल्दैन ?

टेकपाना टेकपाना

चैत १, २०७९ १२:१

किन जिमेलमा युजरनेम परिवर्तन गर्न मिल्दैन ?

काठमाडौं । इन्टरनेटको पहुँचमा भएका हामी अधिकांशसँग पक्कै पनि गुगल अकाउन्ट छ होला । स्टाटिकाका अनुसार सन् २०२२ को अन्त्यसम्ममा विश्वका तीन अर्ब ३० करोड बढी मानिसले गुगल प्रयोग गरेको देखिन्छ । गुगलका प्रायः सबै सेवा प्रयोग गर्न गुगल अकाउन्ट बनाउन आवश्यक छ । 

उक्त गुगल अकाउन्टमा भएको युजरनेमलाई हामी जिमेल एड्रेस पनि भन्ने गर्छौं । जिमेल एड्रेसमा सबैभन्दा पहिले हाम्रो वा हाम्रो कम्पनीको नाम र पछाडि @ जिमेल डटकम हुन्छ । उदाहरणका लागि [email protected] मा techpana लाई युजरनेमको रूपमा संकेत गरिएको हुन्छ । 

मेलको युजरनेम परिवर्तन गर्नुपर्ने विभिन्न कारणहरू आइलाग्छन् । युजरनेममा अधिकांशले आफ्नो नाम र थर राखिरहेका हुन्छन् । तर कहिलेकाहीँ आफ्नो थर हटाएर नाममात्र राख्न मन लाग्नसक्छ । अथवा आफ्नो युजरनेम परिवर्तन गर्ने इच्छासँगै बाध्यता पनि आइपर्छ । 

तर, जिमेलको यस्तो युजरनेम परिवर्तन गर्न मिल्दैन । अहिले हाम्रो जिमेल एड्रेस [email protected] छ र यसलाई परिवर्तन गरेर [email protected] राख्न खोज्यौँ भने यसको अनुमति गुगलले दिएको छैन । बरु नयाँ अकाउन्ट बनाएर आफूलाई इच्छा लागेको युजरनेम राख्न सक्नुहुन्छ । 

आखिर किन मिल्दैन जिमेलको युजरनेम परिवर्तन गर्न ? जिमेलको युजरनेम परिवर्तन गर्न नमिल्नुका प्रमुख कारणहरू यहाँ उल्लेख गरिएको छ ।

१) पृथक पहिचान 

तपाईंको जिमेल एड्रेसमा जुन युजरनेम छ, त्यो युनिक (पृथक) हुने गर्छ । भन्नुको अर्थ तपाईँको अकाउन्टमा जुन युजरनेम छ, त्यो अरू कसैको हुँदैन । यो पृथक राखी राख्ने उद्देश्यले गुगलले युजरनेम परिवर्तन गर्ने सुविधा दिएको हुँदैन ।

२) पहिचान

तपाईँको जिमेल एड्रेस पृथक हुने भएकाले त्यो नै तपाईँको चिनारीको सङ्केत हुन्छ । अधिकांश प्रयोजनका लागि तपाईँले त्यही गुगल अकाउन्ट प्रयोग गर्नु भएको हुनसक्छ । यस्तोमा गुगलबाहेक अन्य सेवाहरूमा तपाईँको युजरनेम बारम्बार परिवर्तन हुँदा धेरै झन्झटको सामना गर्नुपर्ने अवस्था आउनसक्छ । त्यसैले गुगलले युजरनेम परिवर्तन गर्ने अनुमति दिएको हुँदैन ।

३) सुरक्षा 

गुगलका लागि जीमेल एड्रेस प्रयोगकर्तालाई पहिचान गर्न प्रयोग हुने प्रमुख तत्व हो । तपाईँले आफ्नो युजरनेम परिवर्तन गर्दा गुगललाई पहिलेको तपाईँ र युजरनेम परिवर्तन भइसकेको तपाईँ एउटै व्यक्ति हो भन्ने पहिचान गर्न सकस पर्छ । जसले गर्दा तपाईंको अकाउन्टमा विभिन्न सुरक्षाका चुनौती आउनसक्छन् । यस्ता चुनौती नआउन् भन्नका लागि गुगलले युजरनेम परिवर्तन गर्ने अनुमति दिँदैन ।

४) स्पाम मेसेजबाट मुक्ति पाउन

तपाईंको ईमेल एड्रेस कुनै गलत व्यक्ति वा कम्पनीको हातमा परेको छ भने तपाईँलाई बारम्बार स्पाम मेसेज आउँछन् । त्यस्ता स्पाम मेसेजबाट मुक्ति पाउन तपाईंले अकाउन्ट ब्लक वा रिपोर्ट गर्नु भएको हुन्छ । जसले गर्दा अकाउन्ट ब्लक वा रिपोर्ट भएको हुन्छ ।

तर, त्यस्ता व्यक्तिले अर्को जिमेलमा युजरनेम एडिट गरेर पुनः स्पाम मेसेज पठाइरहन सक्छन् । यस्ता समस्या आउन नदिन गुगलले युजरनेम एडिट गर्ने अनुमति दिँदैन ।

५) जिमेल एड्रेसको सकस

तपाईँले कुनै कम्पनी वा व्यक्तिलाई आफ्नो इमेल एड्रेस दिनुभयो । मान्नुस् केही वर्षपछि तपाईँले आफ्नो जिमेलको युजरनेम परिवर्तन गर्नुभयो । युजरनेम परिवर्तन गरेपछि पहिलेको युजरनेम जसले पनि प्रयोग गर्न पाउने हुन्छ ।

यस्तोमा अर्को कुनै व्यक्तिले सो युजरनेम लियो र पहिले तपाईँले ईमेल एड्रेस दिएको व्यक्तिले सोही एड्रेसमा इमेल पठायो भने तपाईँलाई आएको ईमेल नयाँ व्यक्तिलाई जान्छ । यस्ता समस्या आउन नदिन गुगलले इमेलमा भएको युजरनेम परिवर्तन गर्ने सुविधा दिँदैन ।

६) प्राविधिक सीमितता

केही प्राविधिक सीमितताका कारण पनि जिमेलको युजरनेम परिवर्तन गर्न मिलिरहेको हुँदैन । जिमेल र गुगलका हरेक सेवा एउटै विशेष इमेल एड्रेसमा उपलब्ध गराउने तरिकाले डिजाइन गरिएको हुन्छ । त्यसैले जिमेल एड्रेसमा भएको युजरनेम परिवर्तन गर्दा विभिन्न प्राविधिक कठिनाइहरू आउन सक्छन् ।

यदि तपाईँ आफ्नो जिमेलको युजरनेम परिवर्तन गर्न चाहनु हुन्छ भने सबैभन्दा सजिलो तरिका नयाँ अकाउन्ट बनाउनुहोस् । त्यसपछि पुरानो अकाउन्टका जति पनि डेटा छन् तीनलाई नयाँ अकाउन्टमा माइग्रेट गर्नुहोस् । गुगल ड्राइभ, फोटोज, मेल, कन्ट्याक्ट लिस्ट आदि माइग्रेट गर्ने सुविधा हुन्छ ।

पछिल्लो अध्यावधिक: चैत १, २०७९ १२:१८