close

प्रधानमन्त्री कार्यालयले थाल्यो 'यात्री'सँग छलफल, स्वदेशमै बनेका सवारी दर्ता गर्ने बाटो खोलिने

टेकपाना टेकपाना

बैशाख १०, २०८० २०:३२

प्रधानमन्त्री कार्यालयले थाल्यो 'यात्री'सँग छलफल, स्वदेशमै बनेका सवारी दर्ता गर्ने बाटो खोलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले स्वदेशमै विद्युतीय सवारी बनाउने यात्री मोटरसाइकल्सको टोलीसँग भेटघाट गरेको छ । नेपालमै बनेका सवारी साधन दर्ता नहुँदा कम्पनी नै बन्द भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को पहलमा आइतबारदेखि समस्या समाधानको प्रयास सुरु भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले भोलि सोमबार समस्या समाधानका उपाय खोज्न सम्बन्धित सबै सरोकारवालाहरूलाई छलफलमा बोलाइएको जानकारी दिए । "विदेशबाट आयात भएका सवारीलाई प्रज्ञापन पत्रको आधारमा दर्ता गर्ने अभ्यास छ," उनले भने, "तर नेपालमै बनेका सवारी साधनहरू त्यस किसिमको प्रज्ञापन पत्र नहुने भएकाले दर्ता नै हुन नसक्ने समस्या रहेको देखियो ।"

यातायात व्यवस्था नियमावली संसोधन गरेर भए पनि तत्काल यो समस्याको समाधान खोज्ने पहल सुरु भएको उनले बताए । प्रधानमन्त्री कार्यालयले भोलिको बैठकमा युवा उद्यमशीलतालाई प्रशय दिन कानूनी तथा अन्य विषयमा थप छलफल गरिने जनाएको छ ।

नेपालमै विद्युतीय मोटरसाइकल बनाएको यात्री मोटरसाइकल्सको उत्पादन सवारी दर्ता नभएपछि विगत आठ महिनादेखि बन्द भएको छ । आइतबार मात्र प्रधानमन्त्री दाहालले मुख्य सचिव मार्फत यात्री मोटरसाइकल लगायतका स्वदेशी सवारी साधन दर्ता गर्ने सन्दर्भमा रहेको विद्यमान समस्या समाधान गर्न कानून तर्जुमाको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८० १३:४८