close

स्मार्ट टेलिकममा भएको इन्भेष्टमेन्ट बैंकको १ अर्ब ६ करोड ऋण खराब कर्जामा

टेकपाना टेकपाना

बैशाख १५, २०८० १३:२४

स्मार्ट टेलिकममा भएको इन्भेष्टमेन्ट बैंकको १ अर्ब ६ करोड ऋण खराब कर्जामा

काठमाडौं । नवीकरण हुन नसक्दा स्वतः लाइसेन्स रद्द भएको स्मार्ट टेलिकमले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट लिएको करिब एक अर्ब छ करोड रुपैयाँ ऋण खराब कर्जामा गएको छ । कम्पनीले समयमै ऋण बुझाउन नसक्दा उक्त रकम खराब कर्जा घोषित भएको हो । 

यससँगै नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण शाखाले इन्भेष्टमेन्ट बैंकलाई खराब कर्जा घोषित करिब एक अर्ब छ करोड रुपैयाँ बराबरको ‘प्रोभिजनिङ’ गर्न लगाइएको जनाएको छ । यस्तोमा बैंकले आफ्नो नाफा रकम मध्येबाट सो बराबरको रकम खराब कर्जा असुल नभएसम्मका लागि छुट्टै खातामा जम्मा गर्नुपर्ने भएको छ । 

कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैंकबाट दीर्घकालीन ऋण स्वरूप ८६ करोड ७१ लाख र ओभरड्राफ्ट ऋणको रुपमा १० करोड गरी ९६ करोड ७१ लाख रुपैयाँ ऋण लिएको  थियो । कम्पनीको नाममा यस्तो ऋण प्राइम कमर्सियल बैंकबाट ६० करोड ९८ लाख ५३ हजार रुपैयाँभन्दा बढी रहेको बताइएको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकका उप कार्यकारी प्रमुख महेश ढकालले कानूनी प्रक्रिया अनुसार उक्त ऋण असुल गरिने बताए । “बाहिर चर्चा गरिएजस्तो नराम्रो अवस्था छैन,” उनले भने, “केही रकम उठिसकेको छ र बाँकी रकम उठाउने काम भइरहेको छ । कम्पनीको लाइसेन्स खारेज भए पनि त्यसको लिलामी मार्फत ऋण असुल गर्ने काम हुन्छ ।”

नेपाल दूरसञ्चार प्राधिकरणले समेत कम्पनीबाट रोयल्टी, फ्रिक्वेन्सी दस्तुर आदि शीर्षकमा करिब छ अर्ब रुपैयाँ असुल गर्न बाँकी छ ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८० १३:२४