close

अब अर्काको नागरिकता राखि ईसेवामा खाता खोल्न नमिल्ने, यस्तो छ केवाईसी भर्ने नयाँ तरिका

टेकपाना टेकपाना

जेठ १, २०८० २०:३

अब अर्काको नागरिकता राखि ईसेवामा खाता खोल्न नमिल्ने, यस्तो छ केवाईसी भर्ने नयाँ तरिका

काठमाडौं । नेपालकै लोकप्रिय डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले नयाँ केवाईसी प्रणाली सुरु गरेको छ । कम्पनीले अर्काको नाममा रहेको सिम, नागरिकता, पासपोर्ट जस्ता विवरण दुरुपयोग हुन थालेको भन्दै त्यसलाई रोक्ने गरी नयाँ व्यवस्था गरेको हो । 

अर्काको व्यक्तिगत विवरणको आधारमा सामाजिक सञ्जालको समेत दुरुपयोग बढ्न थालेको गुनासो आएपछि कम्पनीले त्यसलाई रोक्न केवाईसी भेरिफिकेसनको नयाँ प्रक्रिया थालेको छ । यो नयाँ तरिकामा ग्राहकले पहिलो चरणमा आफ्नो सम्पूर्ण व्यक्तिगत विवरण राख्नु पर्ने हुन्छ । 

त्यस्तै दोस्रो चरणमा ठेगाना उल्लेख गरी तेस्रो चरणमा आफूले लाइभ फोटो खिचेर मात्र अपलोड गर्नु पर्ने हुन्छ । त्यसपछि मात्र ईसेवामा केवाइसी पूर्ण रूपमा भेरिफाइ (प्रमाणीकरण) तथा अपडेट (अद्यावधिक) भएको मानिन्छ । 

अबदेखि ईसेवाले मोबाइल तथा ल्यापटपमा सेभ गरेका फोटोको आधारमा भेरिफाइ नगरिने बताएको छ । त्यसको साटो दुवै कान देखिने गरी लाइभ तस्वीर खिच्नुपर्ने हुन्छ । 

अन्य व्यक्तिले नागरिकता, पासपोर्ट र भोटर आईडी जस्ता कागजातको दुरुपयोग गरी ईसेवा अकाउन्ट खोल्न नसकून् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

केवाईसी भेरिफाइ गर्दा २५ सय रुपैयाँभन्दा बढीको कारोबार गर्न, बैंक खातामा रकम ट्रान्सफर गर्न, रेमिटेन्स प्राप्त गर्न वा ईसेवाका विभिन्न अफर तथा गिभअवेमा भाग लिन पाउने जस्ता सुविधा पनि पाउन सकिन्छ । तर केवाईसी भेरिफाइ नगर्ने प्रयोगकर्ताका लागि भने यी सुविधा उपलब्ध छैनन् । 

 

के हो केवाईसी ?

यदि तपाईंले कुनै बैंकमा खाता खोल्नु भएको छ भने पक्कै पनि केवाईसी विवरण भरेको वा अपडेड गरेको याद गर्नु भएकै होला । ग्राहक पहिचान गर्ने प्रणालीलाई नै अङ्ग्रेजीमा केवाईसी (नो योर कस्टमर) भन्ने गरिन्छ । 

वित्तीय ठगी नियन्त्रण गर्न, मनी लाउन्डरिङ रोक्न र शंकास्पद गतिविधि पहिचान गर्न नियामकको रुपमा रहेको नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका साथै वालेटहरूलाई समेत आफ्ना ग्राहकको केवाईसी प्रमाणीकरण गर्न र समयसमयमा त्यसलाई अपडेट गर्न अनिवार्य गरेको छ । 

झट्ट हेर्दा ग्राहकका लागि झन्झट थोपरे जस्तो देखिए पनि यो ग्राहकै सुरक्षाका लागि पनि महत्त्वपूर्ण छ । कसैले अवैध तरिकाबाट आर्जन गरेको पैसा बैंक वा वित्तीय संस्थामा लुकाउन नपाओस् भनेर पनि केवाईसी फाराम भर्न लगाइन्छ । 

यसबाट कुनै व्यक्तिको सम्पत्ति सही स्रोतबाट आएको हो कि होइन भनेर बुझ्नका लागि सहयोग पुग्छ।अर्को शब्दमा भन्नुपर्दा वित्तीय संस्थाबाट कुनै गलत व्यक्तिले अनधिकृत काम गर्न नसकोस् भन्ने हो । 

केवाईसीमा खाता नम्बर, आफ्नो, बुवाआमा र हजुर बुबाको नाम, पेसा, नागरिकता, पासपोर्ट वा सवारी लाइसेन्स नम्बर, डेबिट वा क्रेडिट कार्ड भए त्यसको नम्बर, ठेगाना जस्ता विवरण उल्लेख गर्नुपर्ने हुन्छ ।

 

कसरी भेरिफाइ गर्ने ईसेवाको केवाईसी ?

• आफ्नो केवाईसी भेरिफाइ  गर्न सबैभन्दा पहिला ईसेवाको मोबाइल एपमा लगईन गरी भित्र जानुहोस् ।

• त्यसपछि सुरुमा रहेको इन्फरमेसन (Information) सँगै रहेको अपडेट (UPDATE) वा माथि दायाँ कुनामा रहेको प्रोफाइल आइकन हुँदै सुरुमा रहेको माई इन्फरमेसन (My Information) जानुहोस् र बिगिन (BIGIN) जानुहोस् । 

• खुलेको नयाँ पपअप विन्डोमा अलाउ (ALLOW) बटन थिचेर आफ्नो लोकेसनको पहुँच दिनुहोस् । 

• अब पहिलो चरणमा आफ्नो नाम, जन्म मिति, लिङ्ग, बुबा अथवा श्रीमान्‌को नाम, हजुरबुबा वा ससुराको नाम, बैबाहिक स्थिति, पेसा तथा उपलब्ध भएसम्म प्यान नम्बर र ईमेल एड्रेस खुलाएर अन्तिममा रहेको सेभ एन्ड कन्टिन्यु (SAVE & CONTINUE) बटन थिच्नुहोस् । 

• यतिगरिसकेपछि ईसेवाले तपाईंले भर्खरै उपलब्ध गराएका व्यक्तिगत विवरण यकिन गर्न लगाउँछ । उल्लेखित सबै विवरण सही भए अन्तिममा रहेको प्रोसिड (PROCEED) बटन ट्याप गर्नुहोस् । 

• अब दोस्रो चरणमा करेन्ट एड्रेस (हालको ठेगाना) र पर्मानेन्ट एड्रेस (स्थायी ठेगाना) - प्रदेश, जिल्ला, स्थानीय तह, टोल, वडा नम्बर राखेर अन्तिममा रहेको सेभ एण्ड कन्टिन्यु (SAVE & CONTINUE) बटन दबाएर अघि बढ्नुहोस् । 

• पुनः विवरण यकिन गरी प्रोसिड (PROCEED) बटन थिच्नुहोस् र अपलोड योर पिक्चर (Upload Your Picture) मुनी फाइलको सङ्केतमा थिच्नुहोस् । 

• अब क्यामेरा खुल्छ, जहाँबाट आफ्नो दुवै कान देखिने गरी आफ्नो स्पष्ट फोटो  खिच्नुहोस् । 

• अब अन्तिममा रहेको अपलोड डकुमेन्ट (Upload Document) को मुनी सेलेक्ट (Select) बटनमा गएर आफ्नो पहिचान खुल्ने कागजात (नागरिकता, पासपोर्ट, ड्राइभिङ लाइसेन्स वा मतदाता परिचयपत्र मध्ये एक) छनौट गर्नुहोस् ।

• त्यसपछि उक्त कागजातमा भएका विवरण भरेर त्यसको अगाडि भाग र पछाडि भाग देखिने दुई छुट्टा छुट्टै फोटो अपलोड गर्नुहोस् र अन्तिममा रहेको प्रोसिड (PROCEED) मा दबाउनुहोस् । 

• भर्खरै समावेश सम्पूर्ण विवरण यकिन गरी अन्तिममा रहेको सब्मिट फर भेरिफिकेसन (SUBMIT FOR VERIFICATION) बटनमा थिच्नुहोस् र मागिएको लोकेसन सम्बन्धी सर्त अघि टिक लगाई सब्मिट केवाईसी (SUBMIT KYC) मा दबाउनुहोस् । 

• यसरी केवाईसी फाराम भरेको दुई दिन अर्थात ४८ घण्टाभित्र ईसेवाले त्यसलाई भेरिफाइ गरिदिनेछ ।

 

भेरिफाइ गरिसकेको केवाईसी अपडेट गर्ने तरिका

यदि तपाईंले एकपटक ईसेवामा आफ्नो केवाईसी भरेर प्रमाणीकरण गरिसक्नु भएको छ भने समय समयमा ईसेवाको मोबाइल एपबाटै अपडेट गर्न सक्नु हुन्छ । 

• यसका लागि सबैभन्दा पहिला ईसेवाको एपमा रहेको इन्फरमेसन वा माथि बायाँ कुनामा रहेको प्रोफाइल हुँदै माई इन्फरमेसनमा जानुहोस् । 

• अब त्यहाँ छुटेका विवरणहरू भर्नुहोस् र अन्तिममा रहेको अपडेट बटनमा थिच्नेर यकिन गरी प्रोसिड हुँदै अघि बढ्नुहोस् । 

 

पछिल्लो अध्यावधिक: जेठ १, २०८० २०:४