close

५० देखि १०० किलोवाटका ईभी चढ्नेहरू सर्वसाधारण होइनन्ः अर्थमन्त्री महत

टेकपाना टेकपाना

जेठ २९, २०८० १५:४८

५० देखि १०० किलोवाटका ईभी चढ्नेहरू सर्वसाधारण होइनन्ः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ५० देखि १०० किलोवाट क्षमताका विद्युतीय गाडी चढ्ने प्रयाेगकर्ता सर्वसाधारण नभएको धारणा राखेका छन् । आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमा प्रतिनिधि सभाका सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

सर्वसाधारणले चढ्ने विद्युतीय गाडीको कर बढाएको आलोचना भएपछि मन्त्री महतले ती क्षमताका सवारी चढ्नेहरू आमसर्वसाधारण नभएको टिप्पणी गरेका हुन् ।

“क्षमता बढी भएकोलाई चाहिँ घटायो  यो सर्वसाधारणले चढ्ने १०० किलोवाट सम्मकोलाई एकदम बढायो भन्ने हल्ला छ,” उनले भने, “कुरा के हो भने यो १०० किलोवाटसम्म चढ्ने सर्वसाधारण होइनन् । यो अहिले पनि तुलनात्मक रूपमा  पेट्रोलियम गाडीको तुलनामा अलि महँगो नै हुन्छ ।”

यी क्षमताका गाडीको मूल्य महँगो पर्ने भएकाले त्यस्ता सवारी खरिद गर्नेहरू सर्वसाधारण वा आमनागरिकमा नपर्ने अर्थमन्त्रीको तर्क छ ।

उनले भने, “१२५ किलोवाट सम्मकाले पनि १०० भन्दा तलको देखाएर त्यो न्यूनतम भन्सार छ । त्यसको उपयोग गरिरहेको हुनाले त्यस्तो नहोस् भनेर सवारी साधनको वर्गीकरण गरेर ५० देखि १०० किलोवाट क्षमताका सवारीको कर बढाइएको हो ।”

त्यस्तै विद्युतीय सवारीको हकमा एउटा क्षमताको गाडीलाई घटाएर ल्याउन मिल्ने भइरहेकाले त्यही अनुसार ‘लोजिकल’ रूपमा सवारी वर्गीकरण गरेको अर्थमन्त्रीको तर्क छ ।

“यो विद्युतीय सवारी साधनमा उनीहरूले अलिकति भेरियसन गर्नसक्ने, १०० किलोवाटभन्दा माथिको पनि १२५ लाई १०० किलोवाटभित्र आउनसक्ने, त्यसरी त्यसको म्यानुपुलेसन गर्नसक्ने स्कोप पनि रहेछ । त्यसलाई मध्यनजर गरेर हामीले विद्युतीय सवारीलाई पाँच वर्गमा वर्गीकरण गर्‍याैं,” उनले थपे ।

अर्थमन्त्री महतले प्रस्ताव गरेको बजेटमा ५० किलोवाट सम्मकालाई १० प्रतिशत भन्सार महसुल लाग्ने उल्लेख छ । त्यस्तै ५० देखि १०० किलोवाट क्षमताका लागि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क, १०० देखि २०० किलोवाटका लागि २०-२० प्रतिशत अन्तःशुल्क र भन्सार शुल्क, २०० देखि ३०० किलोवाट क्षमताका गाडीलाई क्रमशः ४० प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तःशुल्क लाग्ने, र सोभन्दा बढी क्षमताको हकमा साविक बमोजिमको दर लाग्ने उल्लेख छ ।

यसरी कर बढाएर सरकारले दुई ओटा लक्ष्य हासिल गर्ने महतको भनाइ छ ।

पछिल्लो अध्यावधिक: जेठ २९, २०८० १५:५६